१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

दाउन्नेको जाम छिचोल्न अझै सास्ती

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकमा पर्ने दाउन्ने खण्ड यात्रुका लागि सास्तीको अर्को नाम बनेको छ। विगत सात वर्षदेखि सो खण्डको १४ किलोमिटर दूरीमा हुने जाम छिचोल्न सवारी साधनलाई दुईदेखि तीन घन्टा लाग्ने गरेको छ। पोहर साल दाउन्नेको जाम छिचोल्न यात्रुहरूले जति सास्ती बेहोरेका थिए, अहिले पनि त्यो पीडा उस्तै छ। दाउन्नेमा जाम नपर्दा पनि दुई–तीन घण्टा सवारी साधनमै कुँजिएर बस्नुपर्छ अझ जाम पर्‍यो भने त्योभन्दा धेरै समय लाग्न पनि सक्छ।

पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणघाट सडकमा दाउन्ने खण्ड एउटा सानो पहाड हो। स्तरोन्नति गर्ने नाममा उक्त सडक ठाउँठाउँमा खनिएका छन्। बाटो पिच गर्ने र कल्भर्ट बनाउनेभन्दै बाटोभरि एक्सकाभेटर र डोजरले माटो खनेर थुपार्ने गरेको देखिन्छ। खाल्डो खन्ने र थुपार्ने गरिएको लामो समय भइसकेको छ। यही कारणले सवारीसाधन घण्टौं जाममा पर्ने गरेका छन्। बाटोवरिपरिका घर, होटल तथा पसल धुलोले छोपिएका हुन्छन्। केही  ठाउँमा पिच छ र कति ठाउँमा बाटोभरि ढुंगा छन्।

सवारी साधनहरू पनि धुलोले ढाकिएका हुन्छन्। यात्रुले मात्र सास्ती भोग्ने गरेका छैनन्, स्थानीयले पनि उत्तिकै दुःख पाइरहेका छन्। यस्तो लाग्छ, त्यहाँ सरकार नै छैन। ‘यस सडकमा यात्रा गर्दा पोहर साल जस्तो दुःख थियो, अहिले पनि उस्तै छ, कम भएको छैन’, उक्त राजमार्गमा माइक्रो बस चलाउँदै आएका सवारीचालक कुमार राईले भने। वर्षा र हिउँदयाममा उक्त यात्रा झन् जोखिमपूर्ण हुने गरेको छ। बाटो घुमाउरो छ। त्यसमा पनि बाटो चिप्लो, धुलाम्मे र हिल्लाम्मे हुँदा सवारी चालकले हदैसम्मको दुःख भोग्ने गरेका छन्।

यो खण्डमा ठुलाठुला ट्रक र भारतीय नम्बर प्लेटका सवारी साधान गुड्ने गर्छन्। यसले पनि साना सवारी साधनलाई अझै दुःख थपेको छ। यसबाट सवारी–साधन बिग्रने सम्भावना धेरै हुन्छ। सडक असुरक्षित हुँदा सवारी दुर्घटनाको संख्या पनि बढिरहेको छ। दुई पांग्रे सवारीले झन् ठुलो सास्ती भोग्ने गरेका छन्।

दाउन्ने खण्डको सडकलाई दुई खण्डमा बाँडिएको छ। नारायणघाट–बुटवल सडकको पूर्वी खण्डले चार किमि र बाँकी १० किमि पश्चिम खण्डले हेर्ने गरेको छ। बुटवल–नारायणघाट खण्ड जम्मा एक सय १३ किलोमिटर छ। यो खण्डलाई दुई भागमा वर्गीकरण गरी स्तरोन्नतिको काम थालिएको हो। पूर्वी खण्ड ६४.४२५ र पश्चिम खण्ड ४८.५३५ किलोमिटरको छ।

यो सडक हेर्ने जिम्मेवारी लिएको विभाग मातहतको एडिबी निर्देशनालयका प्रमुख चुडाराज ढकालले आगामी फागुनसम्म दाउन्नेमा अहिले भएको सास्ती हट्ने बताए। उनका अनुसार यतिबेला दाउन्ने खण्डमा कल्भर्ट बनाउने र ढलान गर्ने काम भइरहेको छ। कल्र्भट बनाउने  र ढलान गर्ने क्रममा बाटो बेला–बेलामा एकतर्फी हुने भएकाले जाम हुने गरेको उनले बताए। ‘अब यो दुःख धेरै रहँदैन। फागुनसम्म हट्छ।’

उनका अनुसार अहिले दाउन्नेमा मात्रै करिब ८० प्रतिशत काम पूरा भइसकेको छ। ‘अहिलेसम्म दाउन्नेमा एक सय १२ वटा कल्भर्ट बनाइसकियो। अब दुई वटा साना पुल र एउटा कल्भर्ट बनाउन मात्र बाँकी छ। यसैगरी केही ठाउँमा ढलान गर्न बाँकी छ’, उनले भने। उनका अनुसार स्तरोन्नतिपछि दाउन्नेमा सडकको चौडाइ १२ मिटर र ३ लेनको हुने हुनेछ।

पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट खण्ड स्तरोन्नति गर्न चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग सम्झौता भएको सात  वर्ष बितिसक्दा पनि आधा मात्रै काम भएको छ। यो आयोजना पूरा गर्न सरकारले गत साउनमा चौथौ पटक  म्याद थप गरेको छ। अब एक वर्षभित्र पूर्ण रूपमा स्तरोन्नतिको काम पूरा हुने गरी म्याद थप गरिएको सडक विभागका कर्मचारीको भनाइ छ। विभागका अनुसार पश्चिम खण्डको अन्तिम म्याद २०८३ साउन ५ गते र पूर्वी खण्डको अन्तिम म्याद साउन ७ गतेसम्म दिइएको छ।

१७ अर्ब दुई करोड रूपैयाँमा यो खण्डको स्तरोन्नतिका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग पहिलो पटक २०१८ डिसेम्बर १९ मा सम्झौता भएको थियो। एडिबी निर्देशनालय प्रमुख ढकालका अनुसार बुटवल–नारायणघाट खण्डको समग्र काम अहिले ८० प्रतिशत हाराहारी पुगेको छ। ‘अहिले बुटवल – नारायणघाट खण्डमा सर्भिस लेन बनाउने काम भइरहेको छ। पिचको काम पनि करिब–करिब सबै सकिएको छ। सर्भिस लेनको काम बाँकी रहेकाले ८० प्रतिशत मात्र काम पूरा भएको हो’, ढकालले भने।

प्रकाशित: ११ पुस २०८२ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App