२४ माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

स्कीले पर्यटनमा देखाएको आशा

स्कीमा रमाउन र खेल्न आउने पाहुनाका कारण पर्यटनमा सहयोगः व्यावसायी

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र–१ रानीपौवामा आयोजित स्की प्रतियोगितामा रमाउँदै खेलाडी। मुस्ताङमा स्कीले पर्यटन प्रवर्द्धनमा सघाएको स्थानीयको भनाई छ। तस्बिर सौजन्यः सुशील थकाली

यो बेला चिसो हुने हुँदा हिमाली जिल्लाका अधिकांश बस्ती सुनसान हुन्छन। मानवीय गतिविधि नै सुस्ताउने यो बेला हिउँ पर्ने हुँदा हिडडुल समेत रोकिन्छ। तर, हिमपातले चिसिएको मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भने यतिखेर आन्तरिक र केही विदेशी पर्यटकको चहलपहल छ। पर्यटकीय चहलपहल बढाउन त्यहाँ स्की खेल समेत संचालन गरिएको छ।  

हिउँमा खेलिने स्कीले अहिले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पर्यटकको चहलपहल बढेको स्थानीयको भनाई छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा क्षेत्रमा यो पटक स्की खेलाइएको हो। समुन्द्रीय सतहदेखि ३ हजार ७ सय ५० मिटर उचाईको क्षेत्रमा खेल खेलाइएको आयोजक स्की संघले बताएको छ। उक्त क्षेत्रमा आयोजना गरिएको राष्ट्रिय स्कीको यो पाँचौं संस्करण पनि हो।  

हिउँमा खेलिने स्की खेलको विकास तथा प्रवर्द्धन गर्दै पर्यटन विकासमा योगदान पु¥याउने उद्देश्यले स्की संघले सन् २०१६ देखि स्की प्रतियोगिता सञ्चालन गर्दै आएको थियो। तर हिउँ नपरेका कारण अघिल्ला तीनवर्षसम्म उक्त क्षेत्रमा प्रतियोगिता नै हुन पाएको थिएन।  

‘अघिल्ला तीनवर्षसम्म हिउँ नै परेन। त्यसैले स्की खेलाउन पाएनौ। यो पटक भने हिउँ परेकोले स्की खेलाउने अवसर जुटेको हो,’ स्की संघ मुस्ताङका अध्यक्ष सुरुज गुरुङ भन्छन, ‘स्की खेलसँगै पर्यटकको चहलपहल पनि बढेको छ। नेपालका विभिन्न भागबाट आएका खेलाडी सहित हिउँमा रमाउन आएका पाहुनाका कारण चिसोको यो मौसममा पनि मुक्तिनाग क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ।’  

उनका अनुसार मुस्ताङको स्कीमा रमाउन विभिन्न ठाउँबाट ४० जना खेलाडी सहभागि थिए। उनीहरुलाई दुइदिनसम्म प्रशिक्षण दिएर प्रतिश्पर्धा गराइएको थियो। ती मध्ये १० महिला र १४ जना पुरुषले प्रतिश्पर्धा गरेका थिए। उनका अनुसार यसअघि पहिलो पटक रसुवाको लाङटाङ भ्यालीबाट सुरु भएको प्रथम राष्ट्रिय स्की प्रतियोगिता त्यसपछिका संस्करण मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुँदै आइरहेको थियो। मुस्ताङमा सन् २०१९, २०२० र सन् २०२२ मा स्की प्रतियोगिता सम्पन्न भएको थियो तर, अरुवर्ष हिउँ नपरेका कारण खेल हुन पाएको थिएन।  

‘उच्च हिमाली भेगमा खेलिने भएकोले खेल आफैमा साहसिक छ। यही खेलको गन्तव्यको रुपमा मुस्ताङको मुक्तिक्षेत्रको पहिचान बढाउने भएकोले त्यसले पर्यटन प्रवर्द्धन हुने अपेक्षा हो,’ उनले भने, ‘स्की खेलकै कारण पर्यटकीय गतिविधि चलायमान हुने अपेक्षा छ। अन्तर्राष्ट्रिय अभ्यास त अझ स्की रिसोर्ट नै खोलेर संचालन गरिन्छ। महंगो खेल गतिविधि भएकोले पनि यसका पाहुना खर्चिला हुन्छन। अभ्यास र खेलका क्रममा लामो समय बस्ने पाहुना हुने भएकोले लाभ पर्यटनमा पुग्छ।’

उनका अनुसार मुक्तिक्षेत्रलाई स्कीको गन्तव्य बनाउन सकिएको खण्डमा स्की हेर्नकै लागि भनेर पनि पाहुना आउने अपेक्षा छ। ‘यो पटक त खासै धेरै पाहुना आएका छैनन। यसबारे प्रचारप्रसार नभएकोले पनि अपेक्षाकृत पाहुना भित्र्याउन सकिएन। तर, नियमित रुपमा खेलाउन सक्ने हो भने यसले महंगा पर्यटक तान्न सघाउँछ,’ उनले भने, ‘नेपालमा हिउँ पर्नुपर्ने समयमा पनि हिउँ नपर्दा समस्या थपिएको हो। स्कीका लागि हिउँ अनिवार्य हो।’

नेपाली स्की संघका महासचिव विजय श्रेष्ठले पनि प्रकृतिले दिएको ठाउँ मुक्तिक्षेत्रमा खेल पर्यटक भित्र्याउन सकिने सम्भावनालाई स्कीले उजागर गरेको बताउँछन। ‘स्कीले खेल पर्यटनमा आकर्षण त बढाउँछ। तर, नेपालमा हिउँ पर्नुपर्ने समयमा हिउँ नै नपरेर अनिश्चित बनाएको छ,’ उनले भने, ‘मुस्ताङसम्मको आउजाउ सहज भएको छ। यसले पर्यटकलाई आकर्षण गर्नेमा कुनै शंका छैन। तर, हिउँ पर्ने सुनिश्चित नहुँदा गतिविधि संचालन पनि अन्योलपूर्ण रहन्छ। स्की प्रतियोगिता नै हुने वा नहुने भन्ने सुनिश्चित हुँदैन।’

उनका अनुसार यो बेला मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न पोखरा सहितका सहरमा झर्ने हुँदा केहीवर्ष अघिसम्म बस्ती नै सुनसान देखिन्थे। तर, पछिल्ला केहीवर्षदेखि मान्छेको अस्थायी बसाई सराई नै कम हुँदै गएको छ। माथिल्लो भेगमा अझै बढि मात्रामा मौसमी बसाई सराई भएपनि तल्लो क्षेत्रमा भने स्थानीयले घर छाड्न छाडेका छन। हिउँ पनि पर्न छाडेको र आउजाउको सहजताले गर्दा नियमित गाडी चल्न थालेपछि बसोबास स्थायी रुपमा हुन थालेको उनले सुनाए।  

‘यो बेला मुक्तिनाथ क्षेत्रमा राम्रै चहलपहल देखियो। खेलका कारण गतिविधि पनि चलायमान बन्यो। यही खेल हेर्नका लागि आएका पाहुना पनि हामीले भेट्यौ,’ उनले भने, ‘हिउँ परेपछि मात्र स्की खेल सम्भव हो तर, नेपालमा हिउँ पर्न छाडेको चिन्ता छ। सिजनका बेला वर्षेनी यस्तै हिउँ पर्ने हो भने स्की खेलाउन हामीलाई समस्या हुँदैन। यसले खेल पर्यटकलाई पनि आकर्षण गर्छ।’ हिमाली क्षेत्रमा मात्र आयोजना हुने भएकोेले साहसिक पर्यटन प्रवर्द्धन गर्न यस्ता खेल गतिविधिले सघाउने महासचिव श्रेष्ठले बताए।  

प्रकाशित: २४ माघ २०८२ १७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App