१० पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

लगानी भित्र्याउन मधेशले ‘लगानी सम्मेलन’ गर्ने

फाइल तस्बिर।

मधेश प्रदेश सरकारले प्रदेशमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलनको तयारी सुरु गरेको छ।

यसका लागि बिहीबार राजधानी जनकपुरधाममा मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा उच्चस्तरीय छलफल भएको छ।

छलफलमा उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, नीति आयोगका सदस्य राजकुमार सिंह र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक वैद्य लगायतको सहभागिता थियो।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार वैद्यका अनुसार, सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, आर्थिक र प्राकृतिक स्रोतहरूको पहिचान गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नु हो।

यसका साथै, सहकार्य र साझेदारीमा विकासलाई अघि बढाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीको गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

सम्मेलनमार्फत कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रका लगानीका अवसरहरू प्रस्तुत गरिनेछ। लगानी सम्मेलनबाट प्रदेशमा रोजगारी सिर्जना हुने, धार्मिक-सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन हुने, कृषि तथा उद्योगको उत्पादकत्व बढ्ने र आर्थिक आत्मनिर्भरता बलियो हुने अपेक्षा प्रदेश सरकारले राखेको छ।

प्रदेश सरकारले लगानी सम्मेलनलाई दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण अवसरको रूपमा लिएको छ। यसलाई सफल बनाउन प्रदेश सरकार, निजी क्षेत्र, संघीय सरकार र अन्तर्राष्ट्रिय विकास साझेदारहरूबीच सहकार्य गरिने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित: ५ भाद्र २०८२ २०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App