भुटान एयरलाइन्सले भुटानको पारो र पोखरालाई जोड्नेगरि चार्टर उडान गर्ने भएको छ। पोखरा र भुटानबीच पर्यटक आउजाउ गराउने उद्देश्यले चार्टर उडानको तयारी गरेको छ। पहिलो चरणमा पारो–पोखरा रुटमा चारवटा चार्टर उडान गरिनेछ।
भुटान एयरलाइन्ससँग नेपालमा सहकार्य गरिरहेको यूनिभर्सल टुर्स एण्ड ट्राभल्स (यूटिटि) का प्रबन्ध निर्देशक पराशर प्रसाईका अनुसार पोखरा–पारो रुटमा यही सेप्टेम्बर २८ मा पहिलो उडान हुनेछ। अक्टोवर २, ६ र १० तारिकमा अरु तीनवटा उडान हुने उनले प्रसाँइले बताए।
‘यो प्रारम्भिक तहको उडान हो, त्यसैले चार्टर उडान गरिएको छ। यो उडानले पोखरा र भुटानबीचको पर्यटनलाई जोड्नेछ,’ उनले भने, ‘दुइवटा पर्यटकीय सहरलाई जोड्नका लागि हवाइमार्गको खाँचो थियो। त्यो अभाव अब पुरा हुँदैछ।’ सांस्कृतिक, धार्मिक र साहसिक पर्यटनलाई जोड्नका लागि यो उडान सहयोगी बन्ने उनले बताए। पर्यटकीय गतिविधि बढाउने गरि यूटिटिले दुवैतर्फको प्याकेज बनाएको समेत प्रसाँइले बताए।
‘पोखरा आएका तेश्रो मुलुकका विदेशीलाई भुटान पु¥याउन र भुटान आएका पर्यटकलाई पोखरा ल्याउन यो उडानले मद्दत गर्नेछ,’ उनले भने। उनका अनुसार चारवटा चार्टर उडानपछि यात्रुको माग भएमा निरन्तर उडान गर्न सकिनेछ। ‘चार्टर उडानका लागि नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भईसकेको छ। कुनै समस्या छैन,’ उनले भने। उनका अनुसार १२६ सिट क्षमताको जहाजबाट यो रुटमा उडान हुनेछ।
दसैं तिहारको छेको पारेर गर्न थालिएको चार्टर उडानले पोखरा–पारो रुटमा यात्रु अभाव नहुनेमा आफुहरु आशावादी रहेको पनि उनले बताए। ‘नेपालबाट भुटान नजिकको गन्तव्य भएपनि आउजाउ सहज हुन सकेको छैन,’ उनले भने, ‘यो उडानले दुइवटै मुलुकलाई पर्यटनका दृष्टिले लाभ दिनेछ।’ आन्तरिक र बाह्य पर्यटकलाई आउजाउमा यो उडानले सघाउने उनले बताए।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले चार्टर बाहेकका उडानले खासै गति लिन नसकेको बेला थप उडानका लागि बाटो खुलेको बताए। ‘पोखरादेखि चीनको छेन्दुमा सिचुआन एयरलाइन्सले १० वटा चार्टर उडान गरेको छ। हिमालय एयरलाइन्सले अहिले पोखरा–ल्हासा सेड्युअल उडान पनि भईरहेको छ। तर, सेड्युअल उडानमा उत्तिसारो यात्रु छैनन,’ मेयर आचार्यले भने, ‘तर, भुटानसँगको यो उडानले अरु एयरलाइन्सलाई पोखरा आउन बाटो खुल्नेछ। अब पोखरामा अन्तर्राष्ट्रिय उडान भएन भनेर भन्नुपर्ने अवस्था आउने दिन नरहला भन्ने लागेको छ।’
गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपनि अन्तर्राष्ट्रिय उडान संचालन नहुँदा ठुलो आलोचना खेप्नुपरेकोमा अब बाटो खुल्ने तयारी भएको बताए। ‘अन्तर्राष्ट्रिय विमानस्थल हुँदैमा सबै मुलुकमा एकैपटक उडान गर्ने भन्ने सम्भव हूँदैन,’ मन्त्री बस्यालले भने, ‘तर पहल पनि भएकै छ।’ पोखराबाट बंगलादेश र दुवईसम्म सिधा उडानको पहल पनि भईरहेको उनले बताए।
‘प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्केलगत्तै भारत भ्रमणमा गएको बेला नेपालका लागि भारतले थप हवाई रुट खोल्नका लागि आव्हान गर्नेछ,’ बस्यालले भने,‘भारतले नेपालका लागि थप हवाई रुट नदिनुको कारण पनि माग गर्नेछ। रुट खुलेमा उडान सहज हुनेछ।’ अहिले भुटान एयरलाइन्सले पारो–काठमाडौं रुटमा उडान गरिरहेको छ।
पोखरा पर्यटन परिषद् (पिटिसी) का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र भुटानलाई जोड्न सके त्यसले पर्यटनमा नयाँपन दिलाउने बताए। ‘भुटान नजिकको पर्यटकीय गन्तव्य हो। तरपनि सिधा हवाई उडानले पोखरालाई जोड्न सकिएको थिएन। पोखरा–पारो चार्टर उडानले पर्यटकको आउजाउमा सहजता थप्नेछ,’ उनले भने, ‘धार्मिक र सांस्कृतिक सहित साहसिक पर्यटनलाई जोड्ने माध्यमको रुपमा उडान हुनेछ।’
प्रकाशित: १८ भाद्र २०८२ १८:१२ बुधबार





