२४ पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

खुला सिमानाले गर्दा कुखुरा व्यवसाय मारमा

सांकेतिक तस्बिर

खुला सिमानाका कारण कुखुरापालन व्यवसाय मारमा परेका छन् । सीमा–नाकाबाट अवैध रूपमा अण्डा, दाना र भ्याक्सिन आयात हुँदा कुखुरापालक किसान मारमा परेका हुन् । अवैध तवरले आयातित सबै वस्तु रोकेर राज्यले नियन्त्रण गर्नुपर्ने माग किसानले गरेका छन् ।  

हिमचुली पोल्ट्री प्रालिका सञ्चालक एवम् किसान राजेन्द्र लामिछानेका अनुसार खुला सीमा–नाकाबाट अवैध रूपमा अण्डा आयात हुने गरेकाले पनि व्यापार व्यवसायमा चुनौती थपिएको छ ।  

राज्यले अवैध तवरले आयातित अण्डा रोक्न नसकेको र भन्सारमा कडाइ नगरिएका कारण पनि समस्या भइरहेको उनले बताए । राज्यले सीमा–नाकामा क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

पहिला–पहिला अण्डाको लागत मूल्य नै नउठ्ने गरेको अवस्था रहे पनि अहिले लागत मूल्यसम्म उठिरहेको छ । भन्सार नाकामा क्वारेन्टिनहरू स्थापना भए पनि कर्मचारी नबस्ने र चेकजाँचमा कडाइ गर्न नसक्नाले अवैध रूपमा आयात बढी नै रहेको किसान लामिछानेले बताए ।  

दाना आयातमा पहिला भन्सार कर नलिने व्यवस्था भए पनि अहिले राज्यले दानामा समेत कर लिँदा किसान मार्कामा परेको उनले बताए । किसानलाई उत्पादनतर्फ प्रोत्सान गर्न राज्यले भन्सार शुल्क हटाउनुपर्ने माग किसान लामिछानेले गरे ।  

किसानले दाना आयात गर्दा पाँचदेखि नौ प्रतिशतसम्म भन्सार कर तिर्ने गरेका छन् । भन्सार शुल्क नलिने हो भने लागत मूल्य बढाउन सकिने र अण्डा खपतमा वृद्धि हुने किसान लामिछानेको भनाइ छ ।  

किसानका समस्या राज्य समक्ष पटक–पटक राख्दासमेत अहिलेसम्म कुनै समस्या समाधान हुन नसकेको दुखेसो उनको छ ।

लामिछानेले तीन सय कुखुरापालन गरेका छन् भने दैनिक ६ सयदेखि सात सयसम्म अण्डा उत्पादन गर्दै आइरहेको बताएका छन् ।

किसान लामिछाने मात्रै होइन लामिछाने जस्तै थुप्रै कुखुरापालक किसान मारमा परेका छन् । मोडल पोल्ट्री उद्योग प्रालिका सञ्चालक त्रिलोक कँडेलले ५० हजार कुखुरा पालन गर्दै आइरहेका छन् । उनले कुखुरा फारमले दैनिक ३० हजार अण्डा उत्पादन गर्दै आइरहेको बताए ।  

अण्डाको माग बढी भएको दिन पुर्‍याउन नसकिए पनि न्यून माग भएका बेला भने बिक्री वितरण गर्दै आएको कँडेलले बताए । उनले अझै बजारीकरणसहज हुन नसकेको जानकारी पनि दिए ।  

‘खुला सीमा–नाकाबाट अवैध रूपमा पोल्ट्रीजन्य वस्तुहरू आयात हुने गरेकाले यसको नियन्त्रण गर्नु आवश्यक छ’, कँडेलले भने ।  

नेपालमा पालिने कुखुरामा लाग्ने विभिन्न रोगको भ्याक्सिन आयातमा सहजीकरण गरिदिन, कर्जा अनुदानमा आधारित नभएर उत्पादनमा आधारित हुने व्यवस्था गरिनुपर्ने कँडेलको माग छ ।  

नेपाल लेर्यास कुखुरापालन संघका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सेतो अण्डा आयात भए नेपाली बजारमा प्रतिस्पर्धा गर्न नसकिने भएकाले त्यस्तो अण्डा आयातमा रोक्नु आवश्यक छ । त्यस्तै त्यसरी आयात हुने अण्डाबाट रोगको प्रकोपसमेत बढ्ने उनले बताए ।  

भारतमा बर्डफ्लु लगायतका घातक रोगको प्रकोप बढी हुने हुँदा नेपालको व्यवसाय नै धरापमा पर्ने खतरा रहेको हुँदा सेतो अण्डा आयातमा प्रशासनले कडाइ गरेर आयात रोक्नुपर्ने अध्यक्ष पोखरेल बताउँछन् ।  

पोखरेलका अनुसार भारतीय अण्डा आयात बन्द नगर्ने हो भने नेपालका व्यवसायी पलायन हुनुपर्ने अवस्था आउन सक्ने छ ।

उनले भने, ‘किसानले अहिले पनि अण्डाको लागत मूल्य नपाएको अवस्था छ । राज्यले सबै भन्दा पहिला लागत मूल्य पाउने वातावरण सिर्जना गर्नुका साथै किसानलाई लागत मूल्य सुनिश्चित गदिनुपर्छ ।’  

पहिला बजारीकरणको अवस्था नाजुक रहेको भए पनि अहिले बजारीकरण सहज हुनुका साथै किसानले सहजै लागत मूल्य पाउँदै आइरहेको उनले बताए ।  

अण्डा खपतका लागि सरकारीतहबाट पनि प्रचारप्रसार गर्न आवश्यक रहेको किसानको माग छ ।  

पशु सेवा विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्माका अनुसार नेपाल अण्डामा आत्मनिर्भर भएकाले भारतीय अण्डाको आयात गर्नु नपरेको अवस्था छ ।  

औपाचारिक रूपमा अण्डा आयात नभए पनि अनौपचारिक रूपमा आयात हुने अण्डा रोक्न सीमा–नाकामा क्वारेन्टिन र चेकपोष्ट नै राखेर चेकजाँच गर्ने गरेको उनले बताइन् ।

प्रकाशित: ६ पुस २०८२ २१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App