बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकको अधिकांश यात्रा सहज बनिसकेको छ। पोखराबाट मुग्लिनसम्मको ९० किलोमिटर अहिले दुईघण्टामा पार गर्न सकिने भएको छ। सार्वजनिक सवारीमा समेत यात्रा अवधि घटेको छ। निजी सवारीको यात्रा अवधि त झनै कम भएको छ।
पोखरा–मुग्लिनको पोखरादेखि आँबुखैरेनीसम्मको खण्डलाई दुईभागमा बाँडेर बिस्तार गर्न थालिएको थियो। पोखरा–आँबुखैरेनी (८० किमि) लाई दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा झन्डै ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार गर्न थालिएको थियो। राजमार्गका ठाउँठाउँमा ठुला आकारका पुल बनाउने काम नसकिएपनि यात्रुले निकै नै कम दूरीमा मात्र कच्ची र एकतर्फी सडकमा यात्रा गर्नुपर्ने अवस्था छ।
दुइतर्फी कालोपत्रे नसकिएको केही भागमा एकतर्फी (दुइलेन) कालोपत्रे गरेर भएपनि यात्रालाई सहज बनाउने प्रयास गरिरहेको आयोजनाले बताएको छ। पूर्वी खण्डको राजमार्ग कालोपत्रे गर्ने काम अघिल्लो वर्ष नै सकिएको थियो। पूर्वी खण्डको दमौलीमा ठुलो आकारको पुलको काम मात्र पुरा हुन बाँकी रहेको छ। अहिले दमौलीमा धमाधम पुल बनिरहेको छ। निर्माणाधिन पुलका कारण दमौलीमा केही दूरी मात्र पुरानो र कालोपत्रे नभएको सडकमा मात्र यात्रा गर्नुपर्छ। नत्रभने पूर्वी खण्डको काम सकिएको छ।
.jpg)
पश्चिममा पनि धेरैजसो खण्ड कालोपत्रे भइसकेकोले यात्रा सहज बनिसकेको पोखरा–मुग्लिन आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्ण कुँवरले जानकारी दिए। पश्चिम खण्डका आयोजना प्रमुख कुँवरका अनुसार सबैगरि ३८.७१ किलोमिटर सडकमध्ये प्रथम तहको कालोपत्रे ३८ किलोमिटरको काम सकिएको छ। दोश्रो तहको कालोपत्रे भने ३७.२८ किलोमिटर मात्र भएको छ।
त्यस्तै ३६.३२ किलोमिटर लामो २ लेनको सर्भिस लेन मध्ये २०.८६ किलोमिटर पुरा भएको छ। यो दूरीमा १२ वटै पुल बनिसकेका छन्। १ सय ५ वटा कल्भर्ट पनि तयार भएका छन्। ६०.५० किलोमिटर नाली मध्ये ६०.१४ किलोमिटर नाली पनि तयार भएको छ। ७७ किलोमिटर सडक सुरक्षा ब्यारियर (डब्लु–बिम) मध्ये १५ किलोमिटर मात्र तयार भएको छ। अहिले सुरक्षा व्यारियरको काम भएको र एकमहिनामा सकिने उनले बताए।
‘झन्डै ८० प्रतिशत भौतिक प्रगति पुरा भएको छ। यात्रुलाई यात्रामा सहज बनिसकेको छ। सबै काम सकिन पुलको काम पनि सकिनुपर्छ। पुलका कारण पनि केही दूरीमा कालोपत्रे हुन नसकेको हो,’ कुँवरले भने। कुँवरका अनुसार विजयपुर पुलको एप्रोचमा एकतर्फी ४ सय मिटर र पोखरा विश्वविद्यालय अगाडीको १ सय मिटर गरि जम्मा ५ सय मिटर एकतर्फी सडक तयार हुन बाँकी छ। हाल बाँकी रहेको खण्ड पनि कालोपत्रे भएमा चारलेन सडकको कालोपत्रे सकिने आयोजनाले बताएको छ। विश्वविद्यालय अगाडीको खण्डमा पर्खाल लगाउनुपर्ने भएकोले काम बाँकी रहेको छ।
‘यात्रुले यात्रामा सहज अनुभूति गरिसकेका छन,’ उनले भने, ‘यात्रा अवधि पनि छोटिएको छ। आयोजनाको काम बाँकी रहेपनि यात्रामा झन्झट भने हटिसकेको छ।’
पश्चिम खण्डको झन्डै ३९ किलोमिटर मध्ये १९ किलोमिटर सडक ६ लेन पर्छ। बाँकी खण्ड मात्र चारलेनको रहनेछ। पश्चिमखण्डको अधिकांश भाग सहरी क्षेत्र पर्ने भएकोले पनि ६ लेनको सडक बन्ने उनले बताए। ‘असार १५ सम्म मात्र हामीसँग समय छ। तर, पोखरामा नियमित रुपमा वर्षा भएकोले सबै काम सकिन केही समय अपुग हुनेछ। कम्तिम ६ महिना समय अझै अपुग हुनेछ,’ उनले भने, ‘मध्यपूर्वको मुलुकमा निम्तिएको द्वन्द्वको असरको प्रभाव स्वरुप डिजलको भाउ बढेकोले नियमित काम प्रभावित भएको हो। नत्र अहिलेसम्म सकिने अवस्था आउँथ्यो।’
‘एकतर्फी भएपनि दुइलेन भएकोले दोहोरो सवारी चलेका छन। त्यसैले पश्चिम खण्डमा यात्रा गर्दा पनि अब बढीमा आधा किलोमिटर मात्र कालोपत्रे नभएको वा पुरानो सडकमा यात्रा गर्नुपर्छ। यात्रा निकै नै सहज भईसकेको छ,’ कुँवरले भने, ‘यात्रुलाई हिडडुलमा सहज होस भनेर अहिले मुख्यरुपमा कालोपत्रेलाई नै जोड दिइएको हो।’ यो खण्डको बिस्तार २०७८ जेठ ३ (२०२१ मे १७) मा सुरु भएको थियो। बारम्बारको म्याद थप पछि २०८३ असार १५ (२०२६ जुन २९) मा यो आयोजनाको सबै काम सकिनुपर्ने हुन्छ।
पर्यटकीय राजधानी पोखरालाई मुख्य सहरसँग जोड्ने पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड स्तरोन्नतीको क्रममा भत्काएर लथालिंग पारिएको थियो। तिब्रताका साथ काम नहुँदा लथालिंग उक्त सडकको यात्रा सकसपूर्ण बनेको थियो। यात्रुलाई सहजै यात्रा गर्न मिल्नेगरि राजमार्गको कालोपत्रेलाई प्राथमिकता दिएको सडक आयोजनाले बताएका छन्।
.jpg)
भताभुंग हुँदा सडक यात्रा असहज भएको भन्दै निकै नै आलोचना हुने गरेको थियो। राजमार्गको सकसपूर्ण अवस्थाका कारण गण्डकी प्रदेशको पर्यटन क्षेत्रले नोक्सान खेप्नुपरेको पर्यटन क्षेत्रको गुनासो गर्दै आएका थियो। कहिले स्थलगत यात्रा गराउँदै त कहिले ज्ञापनपत्र बुझाउँदै व्यावसायीले सडक निर्माण कम्पनिलाई छिटोगरि काम सक्न दवाव पनि दिँदै आएका थिए। पोखरा–आँबुखैरेनीको करिब तीनघण्टाको यात्रा सडक बिस्तार सुरु भएसँगै दोब्बर समयमा मात्र पुरा हुने अवस्था थियो।
निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो। राजमार्गको पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको थियो। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ। एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो।
१३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भईरहेको छ। आयोजनाका अनुसार पूर्वि खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो। त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब ७ करोड रुपैयाँ लाग्नेछ। सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।
प्राविधिकहरुका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१ देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चार लेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइडर पनि यसैमा बनाइने आयोजनाले बताएको छ। डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ। अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो।
प्रकाशित: १८ जेष्ठ २०८३ १५:०० सोमबार





