३२ असार २०८३ बिहीबार
image/svg+xml
अर्थ

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ७ अर्बको बजेट ल्याएको छ।

पोखरा महानगरपालिकाको १९ औँ नगर सभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट प्रस्तुत गरेकी हुन्।

यो चालु आर्थिक वर्षको बजेट भन्दा १ अर्ब १९ करोड ८७ लाखले कम हो । चालु आर्थिक वर्ष २०८२/०८३ मा पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो।

महानगरले आर्थिक वर्ष २०८३/८४ मा चालु तर्फ ३ अर्ब ९४ करोड ५० लाख अर्थात् कुल बजेटको ५५.१ प्रतिशत र पुँजीगततर्फ ३ अर्ब २१ करोड ९ लाख ७२ हजार अर्थात् कुल बजेटको ४४.९ प्रतिशत बजेट विनियोजन गरेको छ।

विनियोजित बजेटमा खर्च व्यहोर्ने स्रोतहरूमा सङ्घीय सरकार वित्तीय हस्तान्तरणको ३ अर्ब १५ करोड ३६ हजार प्राप्त हुने अनुमान गरिएको छ। जसमध्ये सङ्घीय सरकार सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट ५ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान १ करोड ८२ लाख, सङ्घीय सरकार समानिकरण अनुदान ४९ करोड ३७ लाख प्राप्त हुने उपमेयर गुरुङले बताइन्।

यसैगरी गण्डकी प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणबाट ९ करोड १५ लाख ३६ हजार प्राप्त हुने अनुमान गरिएको उनले बताइन्। जसमध्ये प्रदेशको समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदान ४० लाख र समानिकरण अनुदानतर्फ ८ करोड १५ लाख प्राप्तबाट प्राप्त हुने उनको भनाई छ।

महानगरले आन्तरिक राजश्व परिचालनतर्फ कर क्षेत्रको अंश ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुने अनुमान गरेको छ। राजश्व बाँडफाँडबाट प्राप्त हुने १ अर्ब ३१ लाख १४ हजार र स्थानीय सरकारको आन्तरिक स्रोततर्फ २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार हुने उपमेयर गुरुङले बताइन्।

महानगरले सधैँ झैँ यस वर्ष पनि पूर्वाधार निर्माणमा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ। शुक्रबार प्रस्तुत बजेटमा २ अर्ब ८९ करोड ५५ लाख बजेट पूर्वाधारका लागि विनियोजन गरिएको छ। यो कुल बजेटको ४०.४८ प्रतिशत हुन आउँछ।

त्यस्तै, महानगरले वडा कार्यालयमार्फत खर्च गर्न ७२ करोड ४० लाख अर्थात् १०.१२ प्रतिशत बजेट विनियोजन गरेको छ। महानगरले सामाजिक विकासतर्फ २ अर्ब ९ करोड ९७ लाख अर्थात् २९.३६ प्रतिशत बजेट विनियोजन गरेको उप प्रमुख गुरुङले बताइन्।

उनका अनुसार सामाजिक विकासको शिक्षातर्फ १ अर्ब ८५ करोड ६३ लाख अर्थात् २५.९५ प्रतिशत र स्वास्थ्यतर्फ ४१ करोड ३६ लाख अर्थात् ५.७८ प्रतिशत बजेट विनियोजन गरिएको उनले बताइन्।

महानगरले प्रशासनिक तथा कार्यालय सञ्चालन र कार्यक्रम सञ्चालनका लागि १ अर्ब १० करोड ५९ लाख अर्थात् १५.४६ प्रतिशत विनियोजन गरेको छ।

प्रकाशित: ५ असार २०८३ १९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App