भारतबाट नयाँ खरिद मूल्य प्राप्त भएको दुई दिन बितिसक्दा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ खुद्रा मूल्य सार्वजनिक गरेको छैन। निगमका अनुसार यसपटक मूल्यमा उल्लेख्य परिवर्तन भएकाले सञ्चालक समितिको निर्णयपछि मात्र नयाँ मूल्य लागू गरिनेछ।
नेपाल आयल निगमले सामान्यतया हरेक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य समायोजन गर्दै आएको छ। यसको आधार भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रत्येक महिनाको अन्तिम दिन र १५ तारिखमा प्राप्त हुने नयाँ खरिद मूल्य हो। यसपटक पनि नयाँ मूल्य शुक्रबार प्राप्त भए पनि निगमले हालसम्म संशोधित मूल्यसूची सार्वजनिक गरेको छैन।
स्वचालित मूल्य प्रणालीअनुसार प्रतिलिटर दुई रुपैयाँसम्म मूल्य समायोजन गर्ने अधिकार निगम व्यवस्थापनलाई छ। तर, दुई रुपैयाँभन्दा बढी मूल्य बढाउन वा घटाउनुपर्ने अवस्थामा सञ्चालक समितिको निर्णय अनिवार्य हुने कानुनी व्यवस्था छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले आईओसीबाट प्राप्त नयाँ मूल्यमा उल्लेखनीय परिवर्तन भएकाले सञ्चालक समितिको बैठकबाट निर्णय भएपछि मात्र नयाँ मूल्य सार्वजनिक गरिने जानकारी दिए।
निगमको सञ्चालक समितिको अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सचिव रहने व्यवस्था छ। हाल उक्त जिम्मेवारी मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले सम्हालिरहेका छन्। समितिमा उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभागका प्रतिनिधिसहित विज्ञ सदस्य, निगमका कार्यकारी प्रमुख तथा ट्रेड युनियनका प्रतिनिधि पनि सदस्यका रूपमा रहेका छन्।
निगम स्रोतका अनुसार यसपटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि आईओसीले पठाएको नयाँ खरिद मूल्यमा पेट्रोलियम पदार्थको मूल्य दोहोरो अंकले वृद्धि भएको छ।
शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सञ्चालक समितिको बैठक तत्काल बस्न नसकेको हो। बैठकले निर्णय गरेलगत्तै नयाँ मूल्यसूची सार्वजनिक गरिने र सोही दिनदेखि संशोधित मूल्य कार्यान्वयनमा आउने जनाइएको छ।
भारतबाट खरिद मूल्य उल्लेख्य रूपमा बढेर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढ्ने लगभग निश्चित देखिएको छ। यद्यपि, मूल्य कति बढ्ने र कहिलेदेखि लागू हुने भन्ने अन्तिम निर्णय भने निगम सञ्चालक समितिको बैठकपछि मात्रै सार्वजनिक हुनेछ।
प्रकाशित: १७ श्रावण २०८३ १५:२७ आइतबार





