२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

आगलागीबाट जलेका सरकारी भवनमा रङरोगन सुरु

जेन-जी आन्दोलनको क्रममा गत भदौ २४ गते आगलागी, तोडफोड र क्षति भएका सरकारी भवनहरूमा रङरोगन तथा सरसफाइ गर्न थालिएको छ।

मन्त्रालयहरूले सिंहदरबार परिसरभित्र आगलगाीबाट बचेका भवन, ब्लक तथा कोठाहरूमा रङरोगन गर्न सुरु गरेका छन्। दसैं अगाडि नै रङरोगनको काम सक्ने मन्त्रालयहरूले जनाएका छन्। सहरी विकास मन्त्रालयले बिहीबारदेखि नै रङरोगनको काम सुरु गरिसकेको छ।

यसैगरी मन्त्रालयका कर्मचारीहरूले मन्त्रालय परिसरभित्र सरसफाइ गर्न सुरु गरेका छन्। उनीहरूले आन्दोलनको क्रममा  आगलागी तथा तोडफोड गर्दा फुटेका सिसाका टुक्रा हटाउन सुरु गरेका छन्।

यतिबेला सिंहदरबार परिसरभित्र अधिकांश कार्यालयमा जलेका तथा तोडफोड गरिएका गाडी तथा फुटेका सिसाको टुक्रा यततत्र भेटिने गरेका छन्। तिनीहरूको व्यवस्थापन गर्न मन्त्रालयका कर्मचारीलाई हम्मेहम्मे परिरहेको छ।

जेनजी आन्दोलनको क्रममा सिंहदरबार परिसरभित्र मूल भवन रहेको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि मन्त्रालय, शिक्षा मन्त्रालय लगायतका मन्त्रालयका भवनहरू पूर्ण रूपमा जलिसकेका छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, श्रम मन्त्रालय लगायत अधिकांश मन्त्रालयमा सामान्य क्षति भएको छ। आन्दोलनबाट सामान्य क्षति सिंहदरबारभित्र रहेका प्रायः सबै भवनमा भएको छ। एक कर्मचारी भन्छन्, ‘थोरै क्षति नभएका सिंहदरबार भित्र कुनै पनि भवन बाँकी छैनन्।’

यतिबेला आगलागीबाट जलेका मन्त्रालय तथा कार्यालयहरूले यतिबेला वैकल्पिक उपाय अपनाएर काम चलाइरहेका छन्। नजलेका तथा तोडफोड नभएका कोठाबाट मन्त्रालयका कर्मचारीले काम गरिरहेका छन्। जेनजी आन्दोलनबाट बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागकै कार्यालयमा ठूलो क्षति भएको छ। विभागको मूल भवन नै आगलागीबाट क्षतिग्रस्त भएको छ।

विभागका कर्मचारीले यतिबेला आगालगाीबाट बचेका ब्लकबाट काम चलाइरहेका छन्। विभागका कर्मचारीले गत भदौ २६ गते नै परिसरभित्र सरसफाइ गरेका थिए। सरसफाइको काम बिहीबारसम्म जारी रहेको थियो।

यसैगरी बबरमहलस्थित सडक विभागको हाताभित्र पनि सरसफाइ गर्न सुरु गरिएको छ। दुई वर्षअघि मात्र विभागको कार्यालय भवन पुनर्निर्माण गरिएको थियो। पुनर्निमाण गरिएको भवन जेन जी आन्दोलनले क्षतिग्रस्त भएको छ। विभागले क्षतिग्रस्त नभएका कोठामा कार्यालय राखी काम चलाउन सुरु गरेको छ। 

प्रकाशित: ३ आश्विन २०८२ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App