कारोबार हुने साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ३०.०२ अंकको गिरावट आएको छ। यो गिरावटसँगै नेप्से २५६६.०९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ५.९० अंक, फ्लोट इण्डेक्स २.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंकले घटेपछि समग्र नेप्से प्रभाति बन्यो।
आइतबार कारोबार रकम पनि अघिल्लो कारोबार हुने दिन बिहीबारको तुलनामा ५० करोड रुपैयाँले कमी आएको छ । आइतबार ३२३ स्टकको ४७ हजार २६८ पटकको कारोबारमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँबराबरको १ करोड ६ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार ५ अर्ब ४१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
आज तीन स्टक दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र आजैदेखि कारोबारमा आएको सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रुरु जलविद्युत परियोजना र १०.२५ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ को मूल्य करिब १० प्रतिशत बढेको छ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको यूनियन हाइड्रोपावरको २७ करोड ७६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनीको साढे २३ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर इण्ड डेभलपमेन्टको करिब २२ करोड रुपैयाँबराबरको कारोबार भयो।
आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशतले घटेको छ ।
प्रकाशित: २३ कार्तिक २०८२ १५:४६ आइतबार





