२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

चुनावअघिको अन्तिम कारोबार: नेप्से ३८ अंकले बढ्यो, ६ अर्बमाथिको सेयर किनबेच

प्रतिनिधि सभा निर्वाचनअघिको अन्तिम कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ।

लगातार छैटौं दिन वृद्धि कायम राख्दै नेप्से ३८.५२ अंकले उकालो लागेर २७१२.४९ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ६.२५, फ्लोट इन्डेक्स ३.०३ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.४१ अंकले बढेका छन्।

परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। गत आइतबार ५ अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा मंगलबार कारोबार रकम ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँ पुग्यो। यस दिन ३२९ कम्पनीका १ करोड ५१ लाख ८४ हजार कित्ता सेयर ६१ हजार ३२९ पटक खरिदबिक्री भए।

कारोबारमा आएका १३ मध्ये १२ उपसमूहको परिसूचक बढ्यो भने व्यापार उपसमूह मात्र सामान्य घट्यो। जलविद्युत उपसमूह सर्वाधिक २.१३ प्रतिशतले उकालो लाग्यो। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढे।

कम्पनीगत आधारमा सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बैंकको सेयर मूल्य ६४ रुपैयाँ २० पैसाले बढेर ७०७ रुपैयाँ १० पैसा कायम भयो। पञ्चकन्या माई हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब १० प्रतिशत र मोलुङ हाइड्रोपावरको मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लाग्यो।

यस दिन मूल्य घटेका कम्पनीहरूको गिरावट दर ३ प्रतिशतभन्दा कम रह्यो।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३४ करोड ६५ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो।

त्यस्तै, रिडी हाइड्रोपावरको साढे २७ करोड र एसवाई प्यानल नेपालको साढे २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।

प्रकाशित: १९ फाल्गुन २०८२ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App