नेप्से परिसूचकमा बिहीबार पुनः सुधार देखिएको छ। ६ कारोबार दिन बढेर हिजो करेक्सन भएको नेप्से बिहीबार १४.१७ अंक बढेर २७२६.७२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.९८ अंक, फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक बढेको छ।
नेप्से बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा झण्डै ५० करोडले कमी आएको छ। बिहीबार ३३८ स्टकको ५७ हजार ७८२ पटकको कारोबारमा ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ५ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।
सकारात्मक सर्किट लेभलमा कारोबार भएको एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य ७३ रुपैयाँ ८० पैसा बढेर ५६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। स्नो रिभर्सको शेयरमूल्य साढे १३ प्रतिशत र एपोलो हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशत बढेको छ। कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको २८ करोड ३३ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो। आँखु खोला जलविद्युत कम्पनीको साढे २७ करोड र रिडी पावरको करिब २५ करोड रुपैयाँको कारोबार भयो।
१३ उपसमूहमध्ये बिहीबार ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशतले वृद्धि हुँदा लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।
प्रकाशित: ७ श्रावण २०८३ १५:३५ बिहीबार



-600x400.jpg)

