नेप्से परिसूचक फेरि घटेको छ। कारोबार हुने ६ दिन लगातार घटेर मंगलबार सामान्य अंकले बढेको नेप्से बुधबार पुनः घटेको हो। नेप्से परिसूचक बुधबार ७.८६ अंकले घटेर २६०६.२० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.८६ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ।
बुधबार कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ३२९ स्टकको ९१ हजार ३९४ पटकको कारोबारमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।
स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा झापा इनर्जीको शेयरमूल्य सर्वाधिक ९.३० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
बुधबार १३ उपसमूहमध्ये एउटा उपसमूह म्युचुअल फण्डको परिसूचकमात्र बढेको छ। बाँकी १२ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित: २४ मंसिर २०८२ १५:३८ बुधबार





