निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ।
शनिबारदेखि लागू हुने गरी थप एक साताका लागि यो सुविधा विस्तार गरिएको कम्पनीले जनाएको छ।
यसअघि गत बुधबार रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि एनसेलले तीन दिनसम्म निःशुल्क डेटा, अल-नेट भ्वाइस कल र १०० वटा एसएमएस दिने घोषणा गरेको थियो।
उक्त तीन दिने समयावधि आज सकिन लागेकाले खोज, उद्धार र राहत वितरणलाई थप सहज बनाउन सेवा अवधि लम्ब्याइएको हो।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार टोलीबीच समन्वय जुटाउन यो सुविधाले मद्दत पुग्ने विश्वास व्यक्त गरे।
यसैबीच, बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर एनसेलले पुनः सञ्चालनमा ल्याएको छ भने बाँकी ९ वटा टावर मर्मत गरी सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जनाएको छ।
यसअघि एनसेलले बिहीबार ‘एनसेल फाउन्डेसन’ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग उपलब्ध गराइसकेको छ।
साथै, कम्पनीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षा निर्देशन पालना गर्न एसएमएस तथा सामाजिक सञ्जालमार्फत सचेतनामूलक सन्देशहरू समेत प्रवाह गरिरहेको छ।
प्रकाशित: १४ भाद्र २०८३ १८:१४ आइतबार





