नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले इम्प्लोई स्किल इन्हान्समेन्ट प्रोग्राम सम्पन्न गरेको छ। कम्पनीले होटल ग्रान्ड पोखरामा ट्रान्जिसनिङ टु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स भन्ने नाराका साथ तीनदिने कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखहरूसहित देशभरिका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारीहरु गरी दुई सय ७० कर्मचारीको सहभागिता रहेको थियो। कम्पनी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेकी थिइन्।
उद्घाटनको क्रममा अध्यक्षले बिमा व्यवसाय निरन्तर रूपमा प्राविधिक विषय हुँदै गएको सन्दर्भमा आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धी यस विस्तृत तालिम प्रशिक्षणबाट कम्पनीको व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने आशा व्यक्त गरिन्।
उनले कार्यसम्पादन मूल्यांकनका आधारमा बेस्ट इम्प्लोइ अवार्ड– २०८२ मा उत्कृष्ट ठहरिएको सात जना कर्मचारी रोहितकुमार श्रेष्ठ, जीवन बाराकोटी, नेमप्रसाद थारू, बेजोन कार्की, योगेश निरौला, नविना खाती र श्री रचना पराजुलीलाई नगद पुरस्कार र पत्रसहित सम्मान गरिएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत मन्तव्यका क्रममा, दक्ष कर्मचारीबाटै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकाले कर्मचारीलाई प्रविधिमा सक्षम बनाई डाटा विश्लेषण तथा ग्राहक सेवा प्रणाली जस्ता उपकरणको प्रभावकारी प्रयोगबाट सेवा प्रवाहलाई छिटो, सरल र गुणस्तरीय बनाउन मदत पुग्ने गरी एआई (आर्टिफिसियल इन्टिलिजेन्स) तालिमको व्यवस्था गरिएको बताए।
प्रकाशित: २१ माघ २०८२ ०८:२८ बुधबार





