सरकारले अंग्रेजी नयाँ वर्ष (सन् २०२६ जनवरी १ तारेख) बाट नागढुंगा सुरुङमार्ग व्यावसायिक रूपमा सञ्चालन गर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माका अनुसार अंग्रेजी नयाँ वर्षबाट सुरुङ मार्ग सञ्चालन गर्ने गरी मन्त्रालयले तयारी अघि बढाएको बताए। ‘अंग्रेजी नयाँ वर्षबाट सुरुङमार्ग सञ्चालन हुने गरी तयारी भएको छ। यसमा करिब–करिब निर्णय भएको जस्तै स्थिति छ’ उनले भने। शर्माका अनुसार केही दिनमै सुरुङमार्ग सञ्चालनको लागि निजीक्षेत्रलाई टेन्डर आह्वान गर्ने तयारी भएको छ।
सडक विभागका अनुसार हाल यस आयोजनाको भौतिक प्रगति ९४.५ प्रतिशत पुगेको छ। आगामी असोजभित्र सबै कम सम्पन्न गर्ने लक्ष्य रहेको छ। गत साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङमार्ग प्रवेश गर्ने सवारी साधनले बुझाउने दस्तुरको व्यवस्थासहित सञ्चालन कार्यविधि पास गरिसकेको छ।
विभागले सुरुङमार्गको प्रयोग गर्ने सवारी धनीबाट उपभोग दस्तुर संकलन विद्युतीय माध्यबाटै संकलन गर्नेछ। यस कार्यका लागि ‘आरएफआइडी बेस्ड टोल कलेक्सन’ प्रणाली लागु गरिएको विभागले जनाएको छ। विभागका अनुसार उक्त प्रणाली जडान गर्ने काम भइरहेको छ।
यस प्रणालीअन्तर्गत सुरुङमार्ग प्रयोग गर्ने सवारी धनीले गाडी अगाडिको सिसामा टाँसिने बैंक खाता आवद्ध भएको ट्यागमार्फत् सोझै टोल भुक्तानी गर्न सक्नेछन्।
विभागका अनुसार हाल सडक विभागले नागढुंगा सुरुङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरिद गर्ने तयारी गरिरहेको छ। टनेल सञ्चालन र व्यवस्थापन (टनेल अप्रेसन एन्ड मेनेजमेन्ट) सेवा प्रदायक खरिद गर्न अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भएको छ भने सेवा खरिद प्रक्रियाको लागि आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ।
उक्त कार्यका लागि आवश्यक नमुना बोलपत्रसमेत तयार भई सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफल भइरहेको छ। साथै लागत अनुमान तयार गर्न आवश्यक सर्तहरू स्वीकृत भइसकेको विभागले जनाएको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौंबाट बाहिरिने र बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनलाई थानकोट/नागढुंगामा घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता हट्ने छ। सुरुङमार्ग भएर हिँड्ने सवारी साधानले उक्त दूरी आधा घण्टामै पार गर्नेछन्। विभागका अनुसार सुरुङमार्गले साढे दुई किमि बाटो छोटो बनाउने छ। हाल बलम्बुदेखि सिस्नेखोलासम्मको दूरी साढे ७ किमि छ। सुरुङमार्ग सञ्चालनमा आएपछि बलम्बुबाट सिस्नेखोलासम्मको दूरी पाँच किमिमा सीमित हुनेछ।
मन्त्रिपरिषद्बाट पास भएको निर्देशिकामा नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनलाई ५० रुपैयाँदेखि पाँचसय रूपैयाँसम्म शुल्क लगाउन प्रस्ताव गरिएको छ। विभागका एक कर्मचारीका अनुसार सुरुङमार्ग प्रवेश गर्नुअघि साना चारपांग्रे र १२ देखि १४ चक्केसम्मका ठुला गाडीले शुल्क बुझाउनुपर्ने व्यवस्था राखिएको छ।
मोटरसाइकल र डिजेल, पेट्रोललगायत प्रज्वलनशील इन्धन बोक्ने गाडीले भने सुरुङमार्गमा प्रवेश गर्न पाउने छैनन्। ती कर्मचारीका अनुसार सुरुङमार्ग भएर हिँड्ने साना सवारी साधनलाई ५० रूपैयाँ, बसलाई दुई सय रूपैयाँ र ठुलाठुला ट्रकलाई पाँच सय रूपैयाँसम्म शुल्क लगाउन प्रस्ताव गरिएको छ।
सुरुङमार्गबाट भित्रिएर र सुरुङमार्गबाटै फर्कन चाहने सवारी साधनलाई भने फरक–फरक शुल्क लगाउन प्रस्ताव गरिएको छ। निर्देशिकामा सुरुङमार्गमा सवारी साधनको आवागमनको ढाँचाका विषयमा विभिन्न शीर्षकमा व्याख्या गरिएको छ। सुरुङमार्ग भएर गुड्ने सवारी साधानबाट शुल्क उठाएपछि भित्र अक्सिजन, अग्निनियन्त्रक, सुरक्षा, सञ्चारलगायतका सुविधा शुल्क उठाउने कम्पनी/निकायले नै मिलाउनुपर्ने छ। सुरुङमार्गभित्र बिजुलीको व्यवस्था पनि शुल्क उठाउने कम्पनी/निकायले नै गर्नुपर्ने छ।
मन्त्रालयका एक कर्मचारीले यो सुरुङमार्ग नेपालको पहिलो अनुभव भएकाले कानुनको मस्यौदा बनाउन केही समय अलमल भएको बताए। ती कर्मचारीले भने, ‘यसबाट हामीले शिक्षा लिइरहेका छौं। अब नयाँलाई सजिलो हुने छ।’
२०७६ सालबाट निर्माण सुरु गरिएको सुरुङमार्ग परियोजनाको म्याद दुई पटक थप भइसकेको छ। सुरुङमार्गको निर्माण जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले गरिरहेको छ। आयोजनामा १६ अर्ब रूपैयाँ जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जा लगायतमा नेपाल सरकारले थप नौ अर्ब खर्च गरेको छ।
आयोजनाका अनुसार सुरुङमार्ग निर्माण सञ्चालनका लागि अहिलेसम्म अन्डरपास, बक्स कल्भर्ट र ओभरपास बनाउने काम भइसकेको छ। सुरुङमार्ग प्रवेश गर्ने तीनवटा पुल बनिसकेका छन्। फ्लाइओभर (ओभरपास) को काम पनि लगभग सकिएको आयोजनाको भनाइ छ। फ्लाइओभर वान वे (एकतर्फी) छ। काठमाडाैंबाट बाहिरिन सवारी साधनले मात्र फ्लाइओभर प्रयोग गर्न पाउने छन्। काठमाडौं भित्रिने सवारी साधनले फ्लाइओभर प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।
प्रकाशित: १५ भाद्र २०८२ ०७:५५ आइतबार





-600x400.jpg)