२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र चलायमान बनाउन सांसदहरूको सुझाव

सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाउँदै मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारलाई सुझाव दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा सांसदहरूले निजी क्षेत्रको आत्मविश्वास खस्किएको उल्लेख गर्दै त्यसलाई पुनः स्थापित गर्न आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका हुन्। उनीहरूले आगामी बजेटलाई नतिजामुखी र प्रभावकारी बनाउन पनि जोड दिएका छन्।

बैठकमा सांसद लिमा अधिकारीले निजी क्षेत्रको मनोबल उच्च बनाउन सके मात्र आर्थिक गतिविधि चलायमान हुने बताइन्। उनले यसमा समितिले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै कर प्रणाली सुधार तथा अर्थतन्त्रको दायरा विस्तारबारे विज्ञहरूसँग छलफल गर्न सुझाव दिइन्। साथै वित्तीय सुशासन कायम गर्न प्रभावकारी निगरानी आवश्यक रहेको उनको भनाइ थियो।

सांसद पुष्पराज कंडेलले अत्यावश्यक क्षेत्रभन्दा अन्यत्र स्रोत विनियोजन गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले साधन–स्रोतको दुरुपयोग नियन्त्रण गर्दै प्रभावकारी बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखे।

अन्य सदस्यहरूले पनि बजेट विनियोजनलाई पारदर्शी बनाउन समितिले प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिएका छन्। बैठकमा समितिको कार्यक्षेत्र तथा आगामी कामकारबाहीबारे समेत छलफल भएको थियो।

प्रकाशित: १४ वैशाख २०८३ १८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App