विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ।
माडी नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत काम सुरु गरिएको हो।
वनकट्टा चेकपोष्ट नजिक इन्टरब्लक बिछ्याउने काम उपभोक्ता समितिमार्फत मोज्याक (इन्टरब्लक) को काम सुरु गरिएको हो।
उपभोक्ता समितिका अध्यक्ष विकास ढकालका अनुसार लागत अनुमानमा ३४ मिटर क्षेत्रमा मोज्याक लगाउने भनिएको भए पनि ४२ मिटर सडकमा मोज्याक लगाउन लागिएको छ।
सात मिटर चौडाइ सडकमा मोज्याक बिछ्याउन लागिएको हो। नगरपालिकाले १० लाख विनियोजन गरेर उपभोक्ता समितिमार्फत पहिलो चरणमा परीक्षणका रुपमा काम सुरु गरेको हो।
सडकको एकातर्फ कर्भस्टोन लगाइएको छ। अर्कोतर्फको काम शनिबारसम्ममा सम्पन्न गरेर एक साताभित्र मोज्याक टायल बिछ्याउने काम सम्पन्न गरिने उनले जानकारी दिए।
नगर प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धुलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो।
यसका लागि वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई आवश्यक सहजीकरण गरिदिन पत्राचार गरिसकेको छ। विभागले चितवन राष्ट्रिय निकुञ्जलाई सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गर्न पत्राचार गरेको छ।
प्रमुख महतोले चालु आर्थिक वर्षमा नगरपालिकाले मोज्याक टायलका लागि पाँच करोड ५० लाख विनियोजन गरेको छ। परीक्षणका रुपमा उपभोक्ता समिति बनाएर थोरै ठाउँमा काम गरेपछि प्रभावकारिताका आधारमा थप क्षेत्रमा काम गरिने उनले जानकारी दिए।
कसराको राप्ती पुलबाट रिउखोलासम्म करिब नौ किलोमिटर सडक निकुञ्जभित्र पर्दछ। त्यसमध्ये राजपत्रमा प्रकाशित भएको सुविधा प्राप्त बाटो भनी उल्लेख गरेको रिउ खोलादेखि ध्रुव पोष्टसम्मको सडकलाई पहिलो प्राथमिकता राखिएको छ।
करिब पाँच किलोमिटर सडक रहेको सुविधा प्राप्त बाटोको काम सुरुमा गरिने प्रमुख महतोले जानकारी दिए।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार विभागले मन्त्रालयमा भएको सहमतिअनुसार सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गरिदिन पत्र पठाएको छ।
उनले भने, ‘काम माडी नगरपालिकाले गर्दैछ, आवश्यक सहजीकरण हामीले गर्छौं।’
माडीका नागरिकले पटकपटक सो सडकलाई धुलोरहित बनाउन माग गर्दै आएका थिए। जेन-जी आन्दोलनका क्रममा माडीमा कुनै सरकारी वा निजी सम्पत्तिमाथि आक्रमण नगर्ने तर निकुञ्जभित्रको सडक निर्माण गर्ने सहमति भएको थियो।
सोहीअनुसार माडीका आन्दोलनकारीले सो क्षेत्रमा कुनै पनि संरचनामाथि आक्रमण गरेका थिएनन्।
त्यसलगत्तै माडीका जनप्रतिनिधि, आन्दोलनकारी, राजनीतिक दललगायत सरोकारवालाहरुले वन तथा वातावरण मन्त्रालयमा पुगेर सडकमा कालोपत्र नगर्ने तर मोज्याक वा ढुङ्गा लगाएर धुलोरहित बनाउने सहमति गरेका थिए।
माडी जान चितवन राष्ट्रिय निकुञ्ज हुँदै पुग्नुपर्ने हुन्छ। माडी क्षेत्रलाई सबैतिर जङ्गलले घेरेको छ। उर्भर भएर पनि सो क्षेत्रका बासिन्दा वन्यजन्तुबाट प्रभावित छन्। सदरमुकाम भरतपुर आवतजावत गर्ने यो मात्रै सडक हो।
प्रकाशित: २३ माघ २०८२ १५:३२ शुक्रबार





