सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको सवारी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार साँझ भएको जन्ती बस दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो।
शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत रकम प्रदान गर्ने र घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।
बिहीबार बेलुका करिब साढे ७ बजे बैतडीको पुर्चौडी नगरपालिका-७ भौनीबाट बझाङतर्फ बेहुली लिएर फर्किँदै गरेको सु.प.प्र. ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो।
बस सडकबाट करिब एक सय मिटर तल खस्दा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ३५ जना घाइते भएका छन्।
दुर्घटनामा परी ज्यान गुमाउनेमा बित्थडचिर गाउँपालिका-७ का वडा सचिव ४२ वर्षीय नरेशराज जोशी, दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का पशु सेवा प्राविधिक २४ वर्षीय बसन्तराज जोशी र बझाङको महादेव माध्यमिक विद्यालयका शिक्षक ४२ वर्षीय विष्णुदत्त जोशी लगायत रहेका छन्।
दुर्घटनालगत्तै फरार रहेका बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका-७ हल्दुखालका ४२ वर्षीय वीरेन्द्र बुढालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक बलदेव बडुका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले धनगढी रेफर गरिएको छ।
यस्तै, २५ जनाको डडेल्धुरा अस्पतालमा र सामान्य घाइते ४ जनाको बझाङस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
प्रकाशित: २३ माघ २०८२ १५:४२ शुक्रबार





