२८ भाद्र २०८३ आइतबार
image/svg+xml
अर्थ

तराईबाट ५ दिनमै भित्रियो सवा २ लाख बढी सिलिन्डर

नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूबाट रिफिल गराएर ५ दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिन्डर उपत्यका भित्र्याएको जनाएको छ।

गत भदौ १४ गतेदेखि कृष्णभीर सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यास अभाव हुन नदिन निगमले काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डरहरू तराईका जिल्लाहरूमा लगेर रिफिल गर्ने विशेष व्यवस्था मिलाएको जनाएको छ।

निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका ग्यास उद्योगहरूबाट सिलिन्डर रिफिल गरी वैकल्पिक सडकमार्फत काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको छ।

कृष्णभीर सडक खण्ड नियमित सञ्चालनमा नआएसम्म यही प्रक्रियामार्फत ग्यास आपूर्तिलाई निरन्तरता दिइने निगमले बताएको छ।

निगमको केन्द्रीय कार्यालयद्वारा जारी विवरणअनुसार भदौ २२ देखि २६ गतेसम्म कुल २ लाख ३३ हजार ६६२ वटा सिलिन्डर उपत्यकामा बिक्री वितरण भएका छन्।

जसअनुसार भदौ २२ गते ४८ हजार १०९, भदौ २३ गते ४६ हजार २१८ र भदौ २४ गते सबैभन्दा बढी ५३ हजार ४६९ सिलिन्डर उपत्यका भित्रिएका छन्।

त्यस्तै, भदौ २५ गते ४५ हजार २३० र भदौ २६ गते ४० हजार ६३६ वटा ग्यास सिलिन्डर काठमाडौं ल्याइएको छ।

उपत्यकामा आपूर्ति गरिएका प्रमुख ब्रान्डहरूमा श्री ग्यास, एभरेष्ट, नेपाल ग्यास, सगर, साईबाबा, एच.पी., एस.टी.सी., श्रीराम, श्रीकृष्ण, ओम र सूर्यलगायतका २० वटा ग्यास उद्योगका सिलिन्डर रहेका छन्।

राजमार्ग अवरुद्ध हुँदासमेत वैकल्पिक व्यवस्था चुस्त बनाइएकाले उपभोक्तालाई ग्यास अभाव नहुने निगमले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०८३ १९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App