मधेस प्रदेशको लहानमा एक ताका सिनेमा हेर्न सीमान्चलसम्मका मानिस आउथे। यहाँ श्याम चलचित्र र पशुपति सिनेमा गरी दुई वटा सिनेमा हल थिए। समयक्रमसंगै 'अपडेट' नहुँदा दुइटै सिनेमा हल अस्ताए। पछि पशुपतिलाई धेरथोर मर्मत गरेर चलाइएको छ।
सिनेमा हेर्नेभन्दा पनि प्रविधि र आधुनिक्ताको स्वाद लिँदै सिनेमा हेर्न चाहने यहाँका पारखीहरू बिराटनगर पुग्थे। तर, लहानका मारवाडी समुदायले नगरपालिका–३ स्थित अस्पताल चोकमा ठूलो लगानीमा आधुनिक प्रविधियुक्त ‘कार्निभल सिनेम्याक्स’ सिनेमा हल सञ्चालनमा ल्याएपछि यो क्रम रोकिने मात्र नभई अन्यत्रका सिने परखीहरूको मेला समेत लहानमा लाग्ने बताइएको छ।
लहानका स्थानीय मारवाडी परिवारले नौ करोड लगानीमा सुविधायुक्त सिनेमा हल संचालनमा ल्याएपछि मनोरञ्जन र व्यवसायको बजारले गति पाउने विश्वास जागेको छ।
स्थानीय माडवारी (मुरारका) परिवारको लगानीमा निर्माण भएको यो सिनेमा हलको सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शुक्रबार साँझ एक समारोहबीच उद्घाटन गरेका छन्।
कार्निभल सिनेम्याक्सका अध्यक्ष अभिनव मुरारकाले यो सिनेमा हल मधेस प्रदेशको मात्र नभइ कोशी प्रदेश समेत (पूर्वाञ्चल क्षेत्र) एडभान्स प्रविधिमा बनेको पहिलो सिनेमा हल भएको दाबी गरे। उनका अनुसार सिनेमा हलको क्षमता १३८ सिट रहेको छ।
मुरारकाले यो हललाई मनोरञ्जनको साधन मात्र नभई पर्यटन व्यवसायको मियोको रूपमा लिएका छन। ‘यो एउटा सिनेमा हलमात्रै होइन, लहानमा पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो,’ उनले भने, ‘समयको माग र दर्शकको चाहनालाई सम्बोधन गर्दै अत्याधुनिक प्रविधिबाट मनोरञ्जन दिन खोजिएको हो।’
उनका अनुसार यस हलमा एडभान्स साउन्ड सिस्टम र ‘प्रोजेक्टर’ जस्ता उच्च प्रविधियुक्त सुविधा उपलब्ध छन्। दर्शकहरूका लागि टिकटको मूल्य ३०० देखि ९०० रुपैयाँसम्म निर्धारण गरिएको छ, र मनोरञ्जनका लागि हलमा दैनिक चार ‘सो’ सञ्चालन गरिनेछ।
लहानमा खुलेको यो हलले सिरहा, सप्तरी र उदयपुरका साथै भारतीय सीमा क्षेत्र नजिक रहेकाले सीमावर्ती जिल्लाका सिने पारखीलाइ पनि आकर्षित गर्नेछ। नयाँ सिनेमा हल सञ्चालनमा आउँदा स्थानीय, उद्योगी, व्यवसायी पनि उत्साही छन् ।
उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष विकास सारडा भन्छन्, 'मानिसको जीवनमा मनोरञ्जन आवश्यक छ। र, यसको गतिलो माध्यम हो सिनेमा। जसमा गीत, संगीतलगायतको मिश्रणले मानिसलाई मनोरञ्जन प्रदान गर्दछ। यहाँ संचालनमा आएको सिनेमा हलले आधुनिकता, परिस्कृत प्रविधि मात्र पस्किँदैन पारिवारिक माहोल समेत दिन्छ। यसले समग्र व्यवसाय र व्यपारलाई गतिशील बनाउन मदत पुर्याउछ। विशेषत: लहानको पर्यटन तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिनेछ।’
छिमेकी जिल्ला र सीमावर्ती भारतीय गाउँ सहरबाट आउनेहरूका कारण लहान बजारको समग्र व्यवसायलाई चलायमान बनाउन भरपर्दो मदत पुग्छ।
प्रकाशित: २२ कार्तिक २०८२ ११:४२ शनिबार





