नेपालमै पहिलो पटक मोबाइल एपमार्फत सवारी मर्मतको सुविधा दिने उद्देश्यसहित ‘मोबाइल ग्यारेज’ नामक एप्लिकेसन सञ्चालनमा आएको छ।
शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबिच यो एप सार्वजनिक गरिएको हो।
सवारी साधनमा कुनै पनि समय समस्या आउँदा अब मोबाइल एपकै माध्यमबाट समाधान खोज्न सकिने भएको छ। मोबाइल ग्यारेजका इन्जिनियर रतन विष्टले एपको प्रस्तुतीकरण दिँदै यसले सवारी चालक र मिस्त्री (मेकानिक) लाई जोड्ने काम गर्ने जानकारी दिए।
यो एपमार्फत सवारी प्रयोगकर्ताले आफ्नो सवारी साधन बिग्रिएकै स्थानमा मिस्त्री बोलाउन सक्नेछन्। एपले नजिकै रहेका मिस्त्रीको जानकारी दिने र प्रयोगकर्ताले आमन्त्रण गरेपछि मिस्त्रीले लोकेसन ट्रयाक गरी सम्बन्धित ठाउँमै पुगेर मर्मत सेवा प्रदान गर्नेछन्।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले प्रविधिको प्रयोगबिना अबको दैनिकी चल्न नसक्ने भन्दै यो एपले सवारी मर्मतको क्षेत्रमा नयाँ आयाम थप्ने बताए।
उनले भने, ‘सवारी साधन बिग्रिएर बाटोमा अलपत्र पर्दा हुने ट्राफिक जामको समस्या समाधानमा पनि यो एप सहयोगी बन्न सक्छ।’
कार्यक्रमका नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपालमै पहिलो पटक यस्तो प्रविधिको विकास हुनु सुखद भएको बताए।
यातायात इन्जिनियर समेत रहेका गजुरेलले यो एप प्रयोगकर्ताका लागि अत्यन्त प्रभावकारी हुने विश्वास व्यक्त गरे।
त्यस्तै, कम्पनीका अध्यक्ष ओमकार पौडेलले लामो अध्ययन र अनुसन्धानपश्चात् ‘मोबाइल ग्यारेज’ सञ्चालनमा ल्याइएको बताए।
उनले भने, ‘यसले सवारी साधनमा अचानक आउने समस्याको समाधान मात्र गर्दैन, सीप भएर पनि काम नपाएका मिस्त्री तथा इन्जिनियरहरूलाई स्वरोजगार बन्न समेत मद्दत गर्नेछ।’
अध्यक्ष पौडेलले ‘सीपलाई समाधानसँग जोड्ने’ माध्यमको रूपमा यो एपलाई विकास गरिएको सुनाए।
प्रकाशित: ६ मंसिर २०८२ २१:३४ शनिबार





