ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको समृद्धि, दिगो पूर्वाधार विकास र प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिका निर्णायक हुने बताएका छन्। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आयोजित नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा समर्पित हुने महत्वपूर्ण अवसर भएको उल्लेख गरे।
मन्त्री श्रेष्ठले अब नवप्रवेशी इन्जिनियरहरू केवल प्राविधिक जनशक्ति नभई राष्ट्रसेवकको भूमिकामा रहेको बताउँदै प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर र कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिए। उनका अनुसार कुनै पनि राष्ट्रको विकास, सभ्यता र समृद्धि इन्जिनियरहरूको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको हुन्छ।
उनले नेपाल ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जा प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार तथा जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणको नयाँ चरणमा रहेको उल्लेख गर्दै यी लक्ष्यहरू दक्ष, प्रतिबद्ध र नैतिक प्राविधिक जनशक्तिको योगदानबिना सम्भव नहुने स्पष्ट पारे। इन्जिनियरिङलाई केवल गणित र विज्ञानको प्रयोग नभई समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक विधाका रूपमा व्याख्या गर्दै मन्त्री श्रेष्ठले सफल इन्जिनियरहरूले संरचना मात्र होइन, अवसर, विश्वास र भविष्य पनि निर्माण गर्ने बताए।
मन्त्री श्रेष्ठले राष्ट्रसेवामा प्राविधिक दक्षतासँगै नैतिकता, पारदर्शिता, उत्तरदायित्व र सार्वजनिक हितप्रतिको प्रतिबद्धता अनिवार्य रहेको उल्लेख गरे। उनले गुणस्तरीय पूर्वाधार निर्माणमा कुनै सम्झौता गर्न नहुने भन्दै डिजाइनदेखि कार्यान्वयन र परीक्षणसम्म प्रत्येक चरणमा व्यावसायिक मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिए। साथै, निरन्तर अध्ययन, अनुसन्धान, नवीन प्रविधिको प्रयोग र नवप्रवर्तनमुखी सोच विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय ज्ञान र आधुनिक प्रविधिको संयोजनमार्फत विकासलाई गति दिन सकिने विश्वास व्यक्त गरे।
सम्बोधनको अन्त्यमा मन्त्री श्रेष्ठले समृद्ध नेपाल निर्माण संसद् वा मन्त्रालयले मात्र नभई हजारौँ इमानदार, दक्ष र समर्पित राष्ट्रसेवकहरूको संयुक्त प्रयासबाट सम्भव हुने विश्वास व्यक्त गर्दै नवप्रवेशी इन्जिनियरहरूलाई राष्ट्रहितलाई सर्वोपरि राखी इमानदारी, समर्पण र उत्कृष्ट कार्यसम्पादनका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
प्रकाशित: १८ श्रावण २०८३ १६:२५ सोमबार





