२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

मेरो किसानद्वारा ४० करोड लगानीमा कृषि प्रशोधन उद्योग निर्माण सुरु

किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजार प्रवर्द्धन गर्दै आएको मेरो किसान लिमिटेडले कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण सुरु गरेको छ । चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा ४० करोड रुपैयाँको लगानीमा अत्याधुनिक कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण सुरु गरेको मेरो किसानका प्रबन्ध निर्देशक अविनाश सिलवालले बताए ।

तोरी, टमाटर केचप, बेसार, अदुवाको सुठो, अलैँची, कोदो, फापर, मह, कफीलगायतको प्रशोधन गर्नका लागि उद्योग स्थापना गर्न लागेको सिलवालले बताए । ‘कृषि उपजको प्रशोधन गरेर बिक्री गर्ने योजना छ,’ उनले भने, ‘त्यसका लागि प्रशोधन उद्योग स्थापना गर्न पूर्वाधार निर्माण सुरु गरेका छौँ ।’ उद्योगमा कच्चा पदार्थ चितवनकै किसान र देशकै स्थानीय उत्पादकहरूबाट संकलन गर्ने योजना रहेको उनले बताए ।  

प्रशोधन गरिएका वस्तुको देशव्यापी वितरण र अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्य राखिएको छ ।  अत्याधुनिक कोल्ड स्टोर सुविधामा तरकारी तथा फलफूलको दीर्घ संरक्षण र काठमाडौं, पोखरालगायत प्रमुख सहर तथा विदेशमा आपूर्ति गर्ने योजना छ ।

कोरोना महामारीको बेला मेरो किसान लिमिटेडको स्थापना भएको थियो । छोटो समयमै कम्पनीले मोबाइल एपमार्फत ४० हजार बढी उपभोक्ता र ३ सय बढी व्यावसायिक हाउससँग प्रत्यक्ष काम गरिरहेको छ । देशैभरका ५ सय बढी व्यावसायिक कृषकहरूसँग दीर्घकालीन सम्झौता गरेर उत्पादन, संकलन, प्रशोधन र वितरणको सबै चक्रमा सक्रिय रुपमा कम्पनी संलग्न रहँदै आएको छ ।  

बीउदेखि बजारसम्मको प्रतिबद्धता जनाउँदै कम्पनीले यस परियोजनामार्फत किसानको आम्दानी बढाउने, कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्ने, खाद्य सुरक्षालाई मजबुत बनाउने र नेपालको कृषि निर्यात क्षमतामा योगदान दिने कम्पनीको योजना छ ।

प्रकाशित: २६ श्रावण २०८२ १८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App