पशुमा लाग्ने लम्पी स्किन रोगको संक्रमण तेह्रथुम जिल्लामा पनि देखिएको छ । तेह्रथुममा ५ वटा पशुमा लम्पी स्किन रोग देखिएसँगै संक्रमण कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ ।
कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रदेश पशुविकास अधिकृत डा.गंगाराम यादवका अनुसार कोशी प्रदेशका ११ जिल्लामा असारयता २२ हजार १२२ वटा पशुमा संक्रमण देखिएको छ । जसमा सबैभन्दा बढी झापामा १४ हजार ६९२ पशुमा संक्रमण देखिएको छ । यस्तै मोरङमा २ हजार ४३६, इलाममा २ हजार ४२ र सुनसरीमा १ हजार ७५७ वटा पशुमा संक्रमण देखिएको छ ।
असारदेखि फैलिएको संक्रमणका कारण ६३७ पशु मरेका छन् । दुई वर्ष पहिले पनि कोशी प्रदेशका लम्पी स्किन रोगले प्रकोपकै रुप लिएको निर्देशनालयले जनाएको छ । उक्त रोगबाट ३ लाख पशुहरू संक्रमति भएको र साढे ९ हजार पशुहरू मरेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा भने कोशी प्रदेशका जिल्लाहरूमा छिटफुट रुपमा मात्रै संक्रमण देखिएको थियो । लम्पी स्किन रोगको संक्रमण रोक्न खोपकार्यक्रम सुरु गरिसकेको निर्देशनालयले जनाएको छ ।
संघ सरकारले ५ लाख डोज खोप उपलब्ध गराएकोमा हालसम्म ३ लाख १२ हजार ६४१ खोप पशुहरूलाई लगाइसकिएको यादवले जानकारी दिए । उनले लम्पी स्किन रोग भाइरल भएका कारण यसको नियन्त्रणका लागि खोप अभियान नै सञ्चालन गर्न उपयुक्त हुने धारणा राखे । यादवले भने, ‘ लम्पी स्किनको खोप लगाएको एक वर्षसम्म गाई भैंसीमा संक्रमण नदेखिने भएकाले यो खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेर नियमित खोप अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ ।’ यादवले लम्पी स्किन रोगका कारण मरेका पशुहरू र संक्रमणका कारण दुध उत्पादन घटेर किसानलाई पनि ठूलो नोक्सानी भइरहेको छ ।
सरकारले वार्षिक ५ करोड रुपैयाँ बजेट उपलब्ध गराउने हो भने कोशी प्रदेशमा यो रोग नियन्त्रण गर्न सकिने यादवले स्पष्ट पारे ।
लम्पी स्किन रोग नेपालमा सन् २०२० मा मोरङको सुन्दरहर्रैंचाका पशुमा देखिएको थियो । हाल देशभरकै विभिन्न जिल्लाका पशुहरूमा लम्कीस्कीन रोगको संक्रमण देखिन थालेको छ । लम्पी स्किन रोगको संक्रमणका कारण कोशी प्रदेशमा असारयता पशुपालक किसानलाई १० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको निर्देशनालयको अनुमान छ ।
लम्पी स्किन रोग संक्रमणका कारण पशु परेको र दूधको उत्पादन घटेका कारण किसानले उक्त मूल्य बराबरको क्षति बेहोर्नु परेको छ । असारको तुलनामा लम्पी स्किन रोगको संक्रमण घट्दोक्रममा रहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित: २२ श्रावण २०८२ १६:०१ बिहीबार





