हुलाकी राजमार्गअन्तर्गत बाराको मनमत-कलैया-मटिरवा सडक खण्ड तत्काल सम्पन्न गर्न स्थानीय बासिन्दाबाट माग गरिएको छ।
मधेश प्रदेश बारा, पर्सा र रौतहट जिल्लाका सडक, सिँचाइ र विद्युत आयोजनाहरुको निर्माण प्रगतिको स्थलगत निरीक्षणका क्रममा कलैया पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ समक्ष स्थानीयबाट सदरमुकामकै सडक नबन्दा ठूलो सास्ती बेहोर्नु परेको बताइएको थियो। मन्त्री घिसिङले सडक रुग्ण अवस्थामा रहेको सडक निर्माणको ठेक्कालाई सरकारले उपयुक्त निर्णय गरी अगाडि बढाउने बताए।
करिब चार किलोमिटर सडक स्तरोन्नतिका लागि २७ पुस २०७८मा सप्तकोशी जलाधार-ओम साई एण्ड कम्पनी उपक्रम (जेभी), काठमाडौंसँग २२ करोड ३१ लाख रुपैयाँ (कर सहित)मा ठेक्का सम्झौता भएको थियो। १ माघ २०७९ भित्र निर्माण सम्पन्न गर्ने गरी सुरुवाती ठेकका सम्झौता भएकोमा दोस्रो पटक थपिएको म्याद ४ चैत २०८२मा सकिँदैछ। सडक निर्माणको भौतिक प्रगति करिब २० प्रतिशत मात्र छ।
निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण सडक निर्माण अलपत्र छ। ठेक्का अन्त्य किन नगर्ने भन्दै गत ३१ असोजमा निर्माण व्यवसायीलाई सार्वजनिक स्पष्टीकरण सोधिएको थियो। त्यसपछि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको तर हालसम्म पनि उल्लेखनीय प्रगति हासिल नभएको अवस्था रहेको छ।
प्रकाशित: २६ मंसिर २०८२ १४:२२ शुक्रबार





