आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पोखराका पर्यटन व्यावसायीले ‘जाउँ है पोखरा’ अभियान थालेका छन्। व्यावसायीले पोखरामा आन्तरिक पाहुना बोलाउन करिब अढाई दशकदेखि यो अभियान थालेका थिए। पोखराका व्यावसायीले थालेको यो अभियानले आन्तरिक पाहुनाको आगमन बढाएको व्यावसायीको भनाई छ।
व्यावसायीले यो पटक पूर्वि नेपालका विभिन्न सहरमा पुगेर प्रवर्द्धनात्मक अभियान संचालन गर्ने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। पोखराबाट प्रवर्द्धनका लागि गएको टोलीले पूर्वि सहरका पर्यटन व्यावसायीसँग व्यावसायिक छलफल र अनुभव साटासाट पनि गर्नेछन्। पर्यटन क्षेत्रमा आवश्यक सुधारका लागि पहल पनि गर्ने उनले बताए।
‘पोखरामा आन्तरिक पाहुना भित्र्याउनका लागि यो अभियान सबैभन्दा बढी प्रभावकारी भएको छ। त्यसैले आलोपालो गरेर कहिले पूर्व र कहिले पश्चिम क्षेत्रमा प्रवर्द्धन गरिरहेका छौं,’ उनले भने, ‘पोखरामा आन्तरिक पाहुना भित्र्याउनका लागि भूमिका खेलेकोले नै संघले वर्षेनी कार्यक्रमलाई निरन्तरता दिएको हो।’
चैत ९ देखि १३ गतेसम्म संचालन हुने यो पटकको अभियान अन्तर्गत वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडालाई छनोट गरिएको छ। अभियानका क्रममा स्थानीय व्यावसायीसँग छलफल, पत्रकार सम्मेलन, अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनका प्याकेज सार्वजनिक जस्ता गतिविधि समेटिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
नेपाली नयाँवर्षको अवसरमा हरेक वर्ष पोखरामा आयोजना हुने फेवा नववर्ष महोत्सवमा पाहुना बोलाउनका लागि पनि यो अभियान संचालन गर्न थालेको उनले बताए। महोत्सवको २१ औं संस्करण चैत अन्तिममा सुरु हुँदैछ। व्यावसायीका अनुसार पोखराले हरेक वर्ष संचालन गर्दै आएको यो अभियानका कारण पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा ४० प्रतिशत हाराहारीमा पुगेको छ।
अभियान सुरु गर्दा ५ प्रतिशत जति रहेको आन्तरिक पाहुनाको हिस्सा अहिले बढेर ४० प्रतिशत जति पुगेको छ। कुनै बेला त आन्तरिक पर्यटनको आगमनको हिस्साा ८० प्रतिशतसम्म ओगट्छ। तर, औसतमा ४० प्रतिशत रहेको उनले बताए।
पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटनको राजधानी रहेको र यो शहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गरे। पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन र उनीहरुको बसाई अवधि लम्ब्याएर आम्दानी गर्न पर्यटन क्षेत्र सफल भएको लामिछानेले बताए।
‘पोखराको पर्यटनको मुख्य आधार अहिले आन्तरिक पाहुना हुन। तिनै आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउँदै अभियान संचालन गर्दा त्यसले लाभ दिलाएको छ,’ लामिछानेले भने, ‘सबैतिरका सहरका आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउँदै गरिने अभियानले पर्यटन क्षेत्रलाई साथ दिएको छ।’
आन्तरिक पर्यटन प्रवर्द्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता बोकेर २२ वर्षअघि यो अभियान सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएपछि यसलाई संघले निरन्तरता दिएको थियो। हवाई र स्थलमार्गको सञ्जाल बिस्तार गर्दै पूर्वी नेपाल र पोखरबीच पर्यटक तथा व्यवसायको आदानप्रदान गर्ने महत्वपूर्ण उद्देश्य पनि अभियानले लिएको संघले बताएको छ। यसका लागि विगतमा पोखराबाट भद्रपुर र विराटनगर जस्ता शहरसम्म संचालित सिधा हवाई सेवालाई पुनः नियमितता प्रदान गर्न र ती शहरबाट पोखरासम्म स्तरीय पर्यटक बस सेवा संचालनका लागि समेत संघले पूर्वका व्यवसायीसँग सहकार्यको प्रस्ताव राख्ने छ।
पर्यटनको राजधानी पोखराको होटल क्षेत्रमा मात्र पाँच खर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको व्यावसायीको अनुमान छ। यस क्षेत्रका एकहजार दुई सय होटलमा ४० हजार शैया रहेको र तिनमा १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको संघको आँकलन छ। अभियानको क्रममा मंगलबार अभियानको पहिलो कार्यक्रम वीरगञ्जमा संचालन गरिएको थियो। उक्त अवसरमा त्यहाँका व्यावसायीसँग पोखरेली व्यावासायीले व्यावसायिक अनुभव साटासाट गरेका थिए।
प्रकाशित: १० चैत्र २०८२ १७:३३ मंगलबार





