पूर्वी तराई क्षेत्रमा उत्पादन हुँदै आएको जुटको उत्पादनमा यस वर्ष दोब्बर वृद्धि हुने अनुमान गरिएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष किसानले बढी क्षेत्रफलमा लगाएको र उत्पादन पनि बढी नै हुने अनुमान गरिएको जुट अनुसन्धान केन्द्र इटहरीले जनाएको छ ।
केन्द्रका अनुसार जुटको बिउ नै अघिल्लो वर्ष एक हजार केजी मात्र किसानले खरिद गरेर लगाएका थिए । यस वर्ष दुई टन बिउ किसानले खरिद गरेर लगाएका छन् । अनुसन्धान केन्द्रका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वका जिल्लामा जुट खेती गर्ने किसानमध्ये अधिकांशले मूल बिउ केन्द्रबाटै ल्याएका छन् । केही सीमित किसानले भने भारतबाट पनि बिउ खरिद गरेर ल्याउने गरेका छन् ।
“यस वर्ष एकातिर बिउको तयारी गर्दा गर्दै धेरै परिमाणमा बिक्री हुनु र अर्कोतिर जुट उद्योगहरूले किसानसँग अगाडि नै जुट खरिद गर्ने सहमति गर्नाले पनि बढी नै उत्पादन हुने आधार छ,” उनले भने, “विगतका वर्षहरूमा बंगलादेश र भारतबाट नेपाली उद्योगका लागि चाहिने ८५ प्रतिशत जुट आयात हुने गथ्र्यो । तर, पछिल्लो समय बंगलादेशमा भएको आन्दोलनपछि जुट आयात हुन छाडेको छ ।” यस्तै, भारतबाट पनि नेपालमा पर्याप्त जुट आयात हुन छाडेको छ । जसले गर्दा उद्योगको मागले गर्दा किसानले यस वर्ष बढी नै क्षेत्रफलमा लगाएको र उत्पादन पनि बढी हुने निश्चित छ ।
अघिल्लो वर्ष विशेषगरी झापा, मोरङ र सुनसरीमा झन्डै १० हजार हेक्टरमा जुट खेती हुँदा प्रति हेक्टर एक टन हाराहारी उत्पादन भएको थियो । जुट अनुसन्धान केन्द्रका संयोजकका अनुसार यस वर्ष झन्डै अघिल्लो वर्षभन्दा दोब्बर उत्पादन हुने छ ।
जुटको बजार भाउ यतिबेला नै ५ हजार ५ सय रहेको छ । अब उत्पादन हुँदा कम्तीमा ७ हजारदेखि अधिकतम १० हजारसम्म पुग्ने अनुमान छ । किसानलाई चार हजारभन्दा माथि भाउ हुने बित्तिकै फाइदा हुने गर्छ । देशभर सञ्चालित ११ उद्योगमध्ये अहिले ६ वटा बन्द छन् ।
किसानलाई जुट खेतीतर्फ आकर्षित गर्नका लागि झारपात मार्ने र कुहाउने–धुवाउने समस्याको अन्त्यका लागि अनुसन्धान केन्द्रले उपाय निकालेको छ ।
किसानका लागि जुटको झारपात गोड्ने एउटा मुख्य समस्या रहेकामा त्यसलाई सहज ढंगले मार्न सनराइज र एजिल विषादी प्रयोग गर्ने गरिएको छ । यी विषादीले गर्दा सजिलै झारपात मर्ने गरेको छ ।
यसैगरी, कुहाउने–धुवाउने जनशक्तिको अभावमा जुट अनुसन्धान केन्द्रले मेसिन खरिद गरी किसानलाई प्रदर्शन गर्दै आएको छ । जसका लागि एउटा डिजेल प्रयोग हुने र अर्को विद्युतीय मेसिन रहेका छन् । यी मेसिनबाट जुटको रेशा छुट्याउने अनि त्यसलाई पानीमा कुहाएर धुँदा अत्यन्तै सजिलो हुने गरेको छ । मेसिन प्रयोग गर्दा जुटको डाँठ भने धुलो हुने भएकाले किसान “सुनठी” को लोभ गर्ने गरेका छन् । “सुनठी” को लोभ गर्दा धेरैले मेसिन लगाउन मान्दैनन् ।
यसमा पनि जुट अनुसन्धान केन्द्रले किसानलाई जुट केलाएर धुलो भएको “सुनठी” खरिद गर्ने उपायको खोजी भइरहेको जनाएको छ । केन्द्रका संयोजक त्रिपाठीका अनुसार यस वर्ष हिउँदमा “सुनठी” को धुलो च्याउ उत्पादनमा प्रयोग गर्दा उपयोगी भएको र अब उद्योगलाई चाहिने कुटको परीक्षण भइरहेको छ ।
“बंगलादेशमा पनि सुनठी मल बनाउन प्रयोग हुने र त्यसको पैसा किसानले पाउने हुँदा के गर्दा किसानलाई फाइदा हुन्छ भनेर अनुसन्धान भइरहेको छ,” त्रिपाठीले भने, “किसानलाई प्रोत्साहन हुने कार्यक्रम संघीय सरकारले ल्याउँदा थप प्रभावकारी हुने छ ।”
जुट अनुसन्धान केन्द्रलाई अनुसन्धान कार्यक्रम सञ्चालनतर्फ वार्षिक एक करोड ६ लाख बजेट आउने गरेको छ । पछिल्लो समय कोशी प्रदेश सरकारले जुट खेती प्रवर्द्धन कार्यक्रम ल्याएको छ । अनुसन्धान केन्द्रका अनुसार जुट खेती प्रवर्द्धन गर्न थप सरकारी योजना आवश्यक छ । त्यसो भएमा खण्डमा वर्षेनी थप उत्पादन बढ्ने छ ।
प्रकाशित: २५ वैशाख २०८३ १७:४४ शुक्रबार




-600x400.jpg)