२१ असार २०८३ आइतबार
image/svg+xml
अर्थ

लगानीकर्ताले गुमाए साढे तीन खर्ब

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बलियो सरकार गठन भएपछि सेयर बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा थियो। तर नयाँ सरकार बनेपछि नेप्से निरन्तर ओरालो लागेको छ। नयाँ सरकार गठनपछिका तीन महिनामा सेयर लगानीकर्ताले करिब साढे तीन खर्ब रुपैयाँ गुमाएका छन्। अर्थात लगानीकर्ताको पुँजी बजारको सम्पत्ति करिब साढे तीन खर्ब रुपैयाँले घटेको छ। यसबाट लगानीकर्ता निराश छन्।

प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएपछि गत चैत १५ गते २ हजार ८७९ बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लाग्दै बुधबार २ हजार ६ सय ५२.९३ बिन्दुमा झरेको छ। यही अवधिमा सेयर बजार पुँजीकरण पनि करिब ४८ खर्ब ९४ अर्ब रुपैयाँबाट घटेर ४५ खर्ब ४३ अर्ब रुपैयाँमा सीमित भएको छ। पछिल्लो एक साता निरन्तर घटेको सेयर बजार बुधबार भने ४४.५१ अंकले बढेको छ।

सरकार गठनसँगै राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र निजी क्षेत्रमैत्री आर्थिक सुधारको अपेक्षाले बजारमा प्रारम्भिक उत्साह देखिएको भए पटि त्यो टिक्न सकेन। लगानीकर्ताले अपेक्षा गरेको सुधार तत्काल नदेखिनु, बजेटमार्फत पुँजी बजारलाई प्रत्यक्ष राहत दिने कार्यक्रम नआउनु र समग्र आर्थिक गतिविधिमा उल्लेख्य सुधार नआएका कारण सेयर बजार निरन्तर ओराले लागेको लगानीकर्ता बताउँछन्।

सरकारले निजी क्षेत्रलाई विश्वास नगरी शंकाले हेरेका कारण पनि सेयर बजारमा सुधार आउन नसकेको नेपाल इन्भेस्टर फोरमका एक पूर्वअध्यक्षले बताए। ‘अर्थतन्त्रमा करिब ८० प्रतिशत लगानी गरेको निजी क्षेत्रलाई सरकारले जता पनि शंका गरेको छ’, ती अध्यक्षले भने, ‘सरकारले निजी क्षेत्रका लगानीकर्ताको कुनै गुनासो पनि सुन्दैन अनि कसरी विश्वासको वातावरण बन्छ ?’

सेयर बजारमा लगानी गरिरहेका निजामती सेवाका कर्मचारी, प्रहरी, सैनिकलगायतले डराएर सेयर बेचेका कारण पनि त्यसको असर यो क्षेत्रमा परेको फोरमका ती पूर्वअध्यक्षले बताए।

लगानीकर्ताले सरकारको नीति, कार्यान्वयन क्षमता, निजी क्षेत्रप्रतिको दृष्टिकोण र वित्तीय प्रणालीमा आउने सुधारलाई आधार मानेर लगानी गर्छन्। यी क्षेत्रमा अपेक्षित सुधारको संकेत नआउँदा सेयर बजारमा सुधार नआएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारलाई आश्वस्त पार्ने स्पष्ट ‘रोडम्याप’ ल्याउन नसकेको आरोप लगानीकर्ताको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि पनि पुँजी बजार सुधार, संस्थागत लगानीकर्ता विस्तार, कर नीतिमा पुनरवलोकन, नयाँ वित्तीय उपकरण विकासजस्ता विषयमा ठोस घोषणा नभएकाले लगानीकर्ताको मनोबल कमजोर बनेको देखिन्छ।

सेयर बजारमा देखिएका समस्या समाधानमा सरकार उदासिन देखिएकाले सेयर बजार निरन्तर घटेको नेपाल पुँजी बजार लगानीकर्ता संघका पूर्वअध्यक्ष राधा पोखरेलले बताइन्। ‘जुन सरकार आए पनि लगानीकर्ताको भावना बुझ्ने काम भएन’, उनले भनिन्, ‘नीतिगत सुधार नहुँदा समस्या सिर्जना भएको हो।’

अर्थमन्त्री स्वर्णिम वाग्ले भने सरकारले मुलुकको दीर्घकालीन आर्थिक हित र दूरगामी नीति निर्माणमा ध्यानकेन्द्रित गरेको बताउँछन्। ‘सेयर बजारको अल्पकालीन उत्तारचढाबभन्दा परिणाममुखी नीतिमार्फत आर्थिक सुधारको लक्ष्य हामीले राखेका छौं’, केही दिनअघि प्रधिनिधिसभा बैठकमा अर्थमन्त्री वाग्लेले भनेका थिए, ‘हामी एकएक घण्टामा स्टक मार्केटको इन्डेक्स माथि जान्छ वा तल झर्छ भनेर हेर्दैनौं।’

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले पनि बजारमा अपेक्षित सकारात्मक सन्देश दिन नसकेको विश्लेषण गरिएको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त रहनु, आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार नहुनु तथा लगानीको वातावरण पूर्ण रूपमा सहज नबन्नुले सेयर बजारमा नयाँ लगानी आकर्षित हुन सकेको छैन।

पछिल्ला महिनामा सूचीकृत कम्पनीहरूको चौथो त्रैमासिक नाफा वृद्धिको गति पनि कमजोर देखिएको छ। बैंक तथा वित्तीय संस्थाको नाफा विस्तार सुस्त हुनु, उत्पादनमूलक क्षेत्रको आयमा दबाब पर्नु र लाभांश क्षमताप्रति अन्योल कायम रहनुले पनि लगानीकर्र्ता ‘पर्ख र हेर’को अवस्थामा छन्।

सेयर बजार घट्दा त्यसको प्रभाव केवल लगानीकर्तामा सीमित रहँदैन। बजार पुँजीकरण घट्दा कम्पनीहरूको मूल्यांकन कमजोर हुन्छ। यस्तो हुँदा नयाँ सार्वजनिक निष्कासन (आइपिओ) तथा थप सेयर निष्कासनमार्फत पुँजी जुटाउने क्षमता प्रभावित हुन्छ। साथै बैंक तथा वित्तीय संस्थामा धितो राखेर लगानी गरेका लगानीकर्तामाथि पनि थप दबाब पर्न सक्छ। बजारमा निरन्तर गिरावट आउँदा उपभोक्ता तथा लगानीकर्ताको आत्मविश्वास कमजोर हुने भएकाले समग्र आर्थिक गतिविधिमा समेत नकारात्मक प्रभाव पर्न सक्छ।

पछिल्लो समय बजारमा व्यक्तिगत लगानीकर्ताको सहभागिता उल्लेख्य रहेकाले उनीहरूको मनोविज्ञानले पनि बजारको दिशामा ठुलो प्रभाव पारिरहेको छ। निरन्तर गिरावटका कारण धेरै लगानीकर्ता नोक्सानी बढ्ने डरले बिक्रीतर्फ उन्मुख भएका छन्। नयाँ लगानीकर्ताले बजार प्रवेश गर्न हिच्किचाइरहेका छन्। पुराना लगानीकर्ताले पनि थप लगानी विस्तार गर्न सकेका छैनन्। लगातार सात कारोबार दिनदेखि ओरालो लागेको सेयर बजारमा बुधबार समान्य सुधार देखिएको छ। नेप्से परिसूचक बुधबार ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। अघिल्लो दिन मंगलबार ३ अर्ब २५ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा बुधबार ३६२ वटा कम्पनीका ९५ लाख ४७ हजार कित्ता सेयर ५६ हजार ८५० पटक किनबेच हुँदा कुल ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै बुधबार ‘स्नो रिभर्स’को सेयर सकारात्मक ‘सर्किट लेभल’मा कारोबार हुँदै ६८ रुपैयाँ १० पैसा बढेर ५२२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै ‘सिवाइसी लघुवित्त वित्तीय संस्था’को सेयरमूल्य १४ प्रतिशतभन्दा बढी र भुजुङ हाइड्रोपावरको सेयरमूल्य करिब १४ प्रतिशतले बढेको छ।

बजार सुधारको प्रभाव सबै उपसमूहमा देखिएको छ। कारोबार भएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। तीमध्ये व्यापार उपसमूह २.६० प्रतिशतले सबैभन्दा बढी उकालो लागेको छ। जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूह २ प्रतिशतभन्दा बढी बढ्दा बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बिमा, लघुवित्त तथा अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। लगातार एक सातादेखिको गिरावटपछि बुधबारको सुधारले बजारमा लगानीकर्ताको मनोबल केही बलियो बनेको विश्लेषण गरिएको छ।

प्रकाशित: १८ असार २०८३ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App