कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि साना तथा मझौला उद्योगीहरूका लागि ब्याजमा अनुदान कार्यक्रम सुरू गर्न लागिएको बताएका छन् । उनले विशेष गरेर महिला, दलित र पछाडि पारिएका समुदायहरूलाई उद्यमी बनाउने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याइएको बताए ।
‘साना तथा मझौला उद्योगहरूलेनै यहाँको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने विश्वासका साथ व्याज अनुदान कार्यक्रम ल्याएका हौं,’ मंगलबार महिला उद्यमी महासंघ कर्णाली प्रदेशको भेलाको उद्घाटन गर्दै मन्त्री अधिकारीले भने, ‘लगानी तपाईंहरूकै हुन्छ, लिएको ऋणको ब्याज तीन वर्षसम्म सरकारले तिरिदिन्छ ।’
उनले पूर्ण अनुदान दिँदा त्यसको प्रभावकारिता नदेखिएकाले ब्याजमा अनुदान दिने निर्णय गरिएको बताए । ‘आफूले लगानी गरेपछि ऋण तिर्नुपर्छ, कमाउनुपर्छ भन्ने हुँदो रहेछ, अनुदान दिँदा फिर्ता गर्नुपर्दैन भन्ने सोचले दुरुपयोग भयो,’ उनले भने, ‘त्यसैले यो आर्थिक वर्षदेखि अनुदान होइन्, ऋणको ब्याज तिरिदिने गरेर कार्यक्रम ल्याएका हौं ।’
उनले महिला उद्यमीहरूलाई ब्याज अनुदानमा सहज हुने गरेर कार्यविधि निर्माण गरिने बताए । ‘यो पटक भदौबाटै बजेट कार्यान्वयन हुन्छ, कार्यविधि निर्माणको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘महिला उद्यमीहरुका लागि सहज हुने गरेर कार्यविधि निर्माण गछौं ।’

महिला उद्यमी महासंघका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले घरेलु, साना र मझौला उद्योगको विकास नहुँदासम्म देश समृद्ध नहुने बताइन् । उनले देश समृद्ध भएमात्रै त्यो देशका नागरिकहरु पनि समृद्ध हुने भएकाले देशको समृद्धिका लागि घरेलु, साना र मझौला उद्योग स्थापना, सञ्चालन र विकास जरुरी रहेको बताइन् ।
अध्यक्ष ज्ञवालीले पछिल्लो समय घरेलु, साना तथा मझौला उद्योगहरुमा महिलाको संख्या बढ्दै गएको बताउँदै उनीहरुहलाई प्रोत्साहनको खाँचो रहेको बताइन् । उनले कर्णालीका महिला उद्यमीहरुले बनाएका सामाग्रीहरु स्वदेशमा मात्रै नभएर विदेशमासमेत प्रदर्शनी र विक्री–वितरणको व्यवस्था मिलाइएको बताइन् ।
‘उद्यममा लागेका महिलाहरुको उत्साह, जाँगर र हौसला बढाउन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो छ,’ उनले भनिन्, ‘यसको वकालतका लागि महिला उद्यमी महासंघले काम गरिरहेको छ ।’
उनले अन्तर प्रदेश प्रर्दशनी, राष्ट्रियस्तरमा प्रदर्शनीका साथै अन्तर्राष्ट्रियस्तरमा पनि नेपालका महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शनी गरिएको बताइन् । ‘स्वदेशमा मात्रै होइन्, भर्खरै मेलवर्नमा पनि नेपालका महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शनी गरेका छौं,’ उनले भनिन्, ‘यसले कर्णालीमा महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरु अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सघाउ पु¥याउनेछ ।’

अध्यक्ष ज्ञवालीले कर्णाली प्रदेश सरकारलाई साताको दुई दिन ‘स्वदेशी खाउँ, स्वदेशी लगाउँ’ अभियान सुरु गर्न सुझाव दिइन् । ‘यसले रैथाने बाली र उद्यमीहरुका उत्पादनहरु स्थानीयस्तरमै खपत हुन्छ, उद्यमीहरुलाई प्रोत्साहन मिल्छ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘यसतर्फ कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहको ध्यानाकर्षण गराउँदछु ।’ उनले महासंघमा ७७ वटै जिल्लाका ५५०० महिला उद्दमीहरु आवद्ध भएको बताइन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक देवीलाल सापकोटाले महिला उद्यमीका माग अनुसार चालू आर्थिक वर्षमा कार्यक्रमहरु राखिएको बताए । ‘उद्यमीहरुको क्षमता विकास, सीप विकास, व्याज अनुदानलगायतका कार्यक्रमहरु राखिएका छन्,’ उनले भने, ‘यि कार्यक्रमले कर्णालीका महिलाहरुलाई उद्यमी बन्न सघाउने अपेक्षा हामीले गरेका छौं ।’
सामाजिक विकास मन्त्रालयका अधिकृत विना थापाले महिला उद्यमीसँग आफ्नो मन्त्रालयले पनि कामहरु गर्दै आएको बताइन् । ‘सुरुसुरुमा सीप विकास तालिमका लागि पनि महिलाहरु पाउन गाह्रो थियो,’ उनले भनिन्, ‘पछिल्लो समय उद्यममा महिलाहरुको सहभागीता उल्लेख्य बृद्धि भएको छ ।’ उनले आगामी दिनहरुमा महिला उद्यमी महासंघसँग मिलेर मन्त्रालयले कामहरु गर्ने बताइन् ।

लघु औद्योगिक ग्रामका पूर्व अध्यक्ष उदिराम डाँगीले महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीको सक्रियताका कारण कर्णालीका महिला उद्यमीहरुले राहतको महशुस गरेको बताए । उनले कर्णालीका उत्पादनहरुलाई अन्य प्रदेशमा स्टलसहित विक्रीको व्यवस्था गरिदिन आग्रह पनि गरे । कार्यक्रममा महिला उद्यमी महासंघ सुर्खेतका संस्थापक ताराकुमारी न्यौपानेलाई सम्मान गरिएको थियो ।
प्रकाशित: २७ श्रावण २०८२ २०:१३ मंगलबार





