२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
अर्थ

आन्तरिक राजस्व कार्यालय बागलुङद्वारा एक अर्ब ७ करोड राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय बागलुङले एक अर्ब ७ करोड बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कार्यालय उक्त राजस्व संकलन गरेको हो । उक्त आर्थिक वर्षमा कार्यालयले एक अर्ब ७ करोड ६६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय बागलुङका सूचना अधिकारी मोहन आचार्यले बताए। लक्ष्यको ८७.९७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको उनको भनाई छ ।

‘संघ सरकारले निर्धारण गरेको राजस्व र हामीले जिल्लामा संकलन गरेको करको आधारमा लक्ष्य निर्धारण हुन्छ,’ आचार्यले भने,‘हामीले यस पटक हामीले लक्ष्यको ८७.९७ प्रतिशत राजस्व संकलन गर्न सकेका छौँ ।’ राजस्व विभागले आन्तरिक राजस्व कार्यालय बागलुङलाई आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्ब २२ करोड राजस्व सङ्कलनको लक्ष्य तोकिदिएको थियो । यस पटक अघिल्लो वर्षको तुलनामा राजस्व संकलन दर बढेको उनले बताए ।  

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा हामीले लक्ष्यको ८०.११ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेका थियौं यो पटक झण्डै ८ प्रतिशत बढी राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा ९६ करोड ७६ लाख ५० हजार राजस्व संकलन गर्न कार्यालय सफल भएको थियो । गएको आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष भन्दा झण्डै ११ करोड बढी राजस्व संकलन गरिएको हो । कार्यालय हरेक वर्ष राजस्व सङ्कलनमा वृद्धि गरेसँगै लक्ष्य पनि बढ्ने गरेको आचार्य बताउँछन् ।

‘देशभरिको कर सङ्कलनको अवस्था हेर्दा बागलुङको कर थोरै हो तर प्रतिशतको आधारमा हेर्दा हामीले धेरै राम्रो कर संकलन गर्न सकेका छौँ,’उनी भन्छन्,‘देशभरको अवस्था ८० प्रतिशत हुँदा हामीले झण्डै ८८ प्रतिशत राजस्व संकलन गर्न सक्यौँ ।’ आन्तरिक राजस्व विभागले तोकेको ८४ वटा सूचकमा काम गर्दा आन्तरिक राजस्व कार्यालय बागलुङले काम गर्ने उनले बताए । पछिल्लो समय करमा दर्ता हुनेहरूको संख्या पनि बढ्दै गएको आचार्य बताउँछन् ।

‘करमा दर्ता हुन आउनेहरूको संख्या पनि बढेको छ, व्यवसायिक र व्यक्तिगत कर दर्ता हुने क्रम बढेको देखिन्छ,’उनले भने । एक व्यक्ति एक पान नम्बरको अवधारणा अनुसार व्यक्तिगत आयकरमा दर्ता हुनेहरू बढेको उनले बताए । ‘सरकारले अनिवार्य गरेपछि अझ धेरै जना आउनुपर्थ्यो भन्ने लाग्छ तर पनि पछिल्लो समय व्यक्तिगत पान नम्बर लिनेको संख्या राम्रै वृद्धि भएको छ,’उनले भने ।

साबिकको धौलागिरि अन्तर्गत बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङको कर संकलन गर्ने कार्यालयमा आर्थिक वर्ष २०८१/०८२ मा व्यवसायिक आयकर दर्ता दुई हजार एक सय १३, व्यक्तिगत आयकर दर्ता ७ हजार ७ सय ४६ दर्ता भएका छन् । मूल्य अभिवृद्धि करतर्फ १४९ र अन्त शुल्कतर्फ १६४ दर्ता भएका छन् । हालसम्म कार्यालयमा ९१ हजार २ सय ७७ करदाता छन् । यीमध्ये व्यवसायिक कर तिर्ने ३० हजार ७ सय ४९ र व्यक्तिगत ५९ हजार एक सय ९७ छन्।  

कार्यालयमा मूल्य अभिवृद्धि कर तिर्ने २ हजार ३ सय ५ जना र अन्त शुल्क कर तिर्ने २ हजार ४० जना रहेका छन् । बक्यौता असुली र मिलानमा भने आन्तरिक राजस्व कार्यालय बागलुङले लक्ष्यभन्दा बढी प्रगति गरेको छ । आयकरतर्फ तोकिए भन्दा १०१ प्रतिशत २ करोड २८ लाख ३२ हजार र मूल्य अभिवृद्धितर्फ लक्ष्यको १०१ प्रतिशत ३ करोड १९ लाख १० हजार गरी कुल ५ करोड ४७ लाख ४२ हजार बक्यौता असुली गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख प्रमोद कुमार श्रीवास्तवले बताए ।  

‘बक्यौता असुलीमा हामीले आयकर र मूल्य अभिवृद्धि कर दुबैतर्फ १०१ प्रतिशत सफलता पाएका छौँ,’उनले भने,‘यी दुबै काममा हामीले तोकिएको लक्ष्यभन्दा बढी सफलता पायौँ ।’ बक्यौताको हिसाब मिलानतर्फ आयकरमा तोकिएको लक्ष्यको १०४ प्रतिशत र  २ करोड ६० लाख ७६ हजार र मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको ७० प्रतिशत एक करोड ५३ लाख २० हजार गरी कुल ४ करोड १३ लाख ९६ हजार बक्यौता हिसाब मिलान भएको कार्यालयले जनाएको छ ।

बक्यौता रहेकामध्ये आयकरतर्फ ६ जना र मूल्य अभिवृद्धि करतर्फ १२ जना गरी १८ जनालाई कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख श्रीवास्तवले जानकारी थिए । कानुनी कारबाही मार्फत बक्यौता असुलीमा ४७ लाखको लक्ष्य राखिएकोमा लक्ष्यको ११६ प्रतिशत ५४ लाख ५९ हजार संकलन भएको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा कार्यालयले पुराना ६३ र नयाँ ११ गरी ७४ जना करदाताको पूर्ण कर परीक्षण तथा अनुसन्धान गरी आयकरतर्फ एक करोड एक लाख ६० हजार र मूल्य अभिवृद्धि करतर्फ एक करोड ८८ लाख १२ हजार तथा अन्त शुल्कतर्फ ८७ हजार गरी जम्मा २ करोड ९० लाख ५९ हजार कर निर्धारण गरेको छ । कार्यालयले ३ करदाताको पूर्ण कर परीक्षण तथा अनुसन्धानबाट एक करोड ७१ लाख ४७ हजार नोक्सान मिलान गरेको छ । ६ जना करदाताको चालु वर्षको कर परीक्षण गरी ६७ लाख ६० हजार कर निर्धारण, ४१ जनाको अग्रिम करकट्टी परीक्षण गरी ८५ लाख ४० हजार थप अग्रिम कर निर्धारण गरिएको छ ।  

१४ करदाताको विस्तृत अनुसन्धान गरी आयकरतर्फ तोकिएको लक्ष्यमा १८५ प्रतिशत एक करोड १० लाख ८७ हजार र मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको १२५ प्रतिशत ४९ लाख ९९ हजार र अन्तःशुल्क करतर्फ ४७ लाख ७७ हजार गरी कुल २ करोड ८ लाख ६३ हजार थप कर निर्धारण गरिएको छ। गत आर्थिक वर्षमा ८७२ करदाताको आयकर र मूल्य अभिवृद्धि कर दर्ता खारेज गरिएको छ । पछिल्लो समयमा विदेश जानका लागि कारोबार देखाउन कर दर्ता गर्ने र पछि खारेज गर्नेहरूको संख्या बढ्दो देखिएको छ ।

‘सेवातर्फ वार्षिक ३० लाख माथि र वस्तुतर्फ वार्षिक ५० लाख माथिको कारोबार गर्नेले अनिवार्य भ्याटमा जानुपर्ने कानुनी व्यवस्था छ,’ सूचना अधिकारी मोहन आचार्य भन्छन्,‘पछिल्लो समय भ्याटमा जान्छु भन्नेहरूको संख्या धेरै नै छ । केही वर्षमा खारेज गर्नेहरू पनि उत्तिकै छन् । सबै कारण त हामीलाई थाहा हुँदैन ।’ ८१ करदाताको कारोबार अनुगमन र ३३ अन्तःशुल्क करदाताको कारोबार स्थलको अनुगमन गरेको पनि कार्यालयले जनाएको छ ।  

प्रकाशित: १९ श्रावण २०८२ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App