३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अर्थ

भारतले तयारी चिया अवरोध गरेपछि उद्योग बन्दको घोषणा

तयारी चिया। तस्बिरः भीम/नागरिक

वर्षमा चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चियाको बजार अनिश्चित भएको छ। ठूलो परिमाणमा नेपाली तयारी चिया आयात गर्ने भारतले विभिन्न बहानामा रोकिदिने ‘नियत’ राखेपछि इलामका उद्योगीले उद्योग नै बन्द गर्ने घोषणा गरेका छन्।

मुख्य सिजन र गुणस्तरीय पत्ती उत्पादन हुने बेलैमा भारतीय चिया बोर्डले दर्जनौं मापदण्ड तयार गरी नेपाली चिया आयात अवरोध गरेको छ। गुणस्तर जाँच गर्ने बहानामा भारतीय पक्षले तयारी नेपाली चिया बोकेर कोलकाता पुगेका गाडी महिनादिनसम्म अड्काइदिने गरेपछि उद्योगी आजित भएका हुन्।

तयारी चियाको बिक्री अन्योल भएपछि ५३ उद्योग आबद्ध रहेको सूर्याेदय अर्थाेडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालले आउँदो असार १ देखि सबै उद्योग बन्द गर्ने घोषणा गरेको हो। चिया बेच्ने ठाउँ नै नभएको भन्दै उद्योगीले उद्योगहरू बन्द गर्न बाध्य भएको जनाएका छन्। उद्योगीका अनुसार अहिले नेपाल–भारत सीमा कटेर भारतीय बजारमा पुगेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा उतै अलपत्र छ। यता उद्योगमा प्रशोधन भइसकेको ७ लाख किलोभन्दा धेरै स्टक छ। उद्योग बन्द गर्ने घोषणाले हरियोपत्ती बेच्न नपाउने भएपछि हजारौं किसान प्रभावित हुने देखिएको छ।

एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले दिनहुँ चिया प्रशोधन गर्दा उद्योगहरूको भण्डारण नै भरिएर राख्ने ठाउँ पुग्न छाडेको बताए। ‘किसानबाट हरियोपत्ती किनेर प्रशोधन गरिएको तयारी चिया न बिक्छ, न भण्डारण गर्ने ठाउँ नै खाली छ,’ उनले भने, ‘किसानलाई त जसरी पनि मूल्य दिनैपर्छ, त्यसैले बरु उद्योग नै बन्द गर्नुको विकल्प हामीसँग भएन।’

चैत र वैशाख सबैभन्दा धेरै गुणस्तर र मूल्यको चिया उत्पादन हुने सिजन (फर्स्ट फ्लस) हो। त्यसबाट प्रशोधित उच्च मूल्यको तयारी चिया बेच्ने सिजन यही हो। तर, यहीबेला भारतले गुणस्तर परीक्षणमा निकै झन्झटिलो नियम लागु गरेको उद्योगीले जनाएका छन्।

१ मे २०२६ मा भारतीय चिया बोर्डले नेपालबाट आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) लागू गरेको छ। यो अवधारणाअनुसार प्रत्येक गाडीमा लगिएको चियाको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ। एसओपी लागु गरिएपछि यसको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्ने, रिपोर्ट नआउञ्जेल बेच्न नपाइने, रिपोर्ट राम्रो आए बेच्न पाउने नत्र त्यही नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता नेपाली चियालाई छ। एक पटक नमुना परीक्षणमा फेल भए पुनः ३ साताभन्दा बढी समय गाडी त्यहीं रोकेर, दोस्रो पटक त्यति नै शुल्क लिएरमात्र गुणस्तर परीक्षण गर्नेगरी कडाइ गरिएको उनको भनाइ छ।

भारतीय बोर्डको अवरोधपछि उद्योगी गत वैशाख २७ मा काठमाडौं नै पुगेर प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्राालयसँग कूटनीतिक पहलका लागि आग्रह गरेका थिए। त्यसपछि भारतीय चिया बोर्डले १९ मे २०२६ मा दोस्रो विज्ञप्ति जारी गरी भारतीय घरेलु बजारमा नेपाली चिया विक्री गर्न पाइने व्यवस्थाको जानकारी गरायो। त्यसपछि केही उद्योगले यहाँको चिया विक्री पनि गरेका थिए। तर, पुनः भारतीय बोर्ड आफैँले १९ मेको विज्ञप्ति आधिकारिक नभएको भन्दै १ मेकै प्रावधानमा कडाइ गरेपनि उद्योगी चिन्तित भएका हुन्।

‘अब हामीले उत्पादन गरेको चिया कहाँ बेच्ने हो, थाहा छैन,’ अर्का उद्योगी गोपाल कट्टेल भन्छन्, ‘प्रशोधन भएको चियाको बजार बन्द गर्ने प्रयत्न गरिएको छ, भारतले विभिन्न झन्झट दिएर नेपाली चिया रोकिदिएपछि हामी उद्योग बन्द गर्न बाध्य छौं, हाम्रो अर्काे विकल्पै छैन।’ उनले संघीय सरकारले नेपाली चियाको निर्यात समस्या हल गर्नुपर्नेमा उद्योगीको कुरै नसुनेको बताए। ‘हाम्रै सरकारले नेपाली चिया निर्यातमा सहजीकरण गर्न ध्यान दिएन,’ उनले भने, ‘अझै पनि कूटनीतिक पहल गरी अवरोध नखुलाउने हो भने अर्बौंको नेपाली चियाको बजार शून्य हुनेछ।’

१ मेमा भारतीय चिया बोर्डले विज्ञप्ति जारी गर्नुअघि नेपाली तयारी चियाको एउटा नमुना परीक्षण गरेपछि २० गाडीसम्म निर्यात गर्न सकिने अवस्था थियो। यसअघि पनि बेला–बेला विभिन्न बहानामा नेपाली चिया भारतले रोक्न खोजेपनि अहिलेजस्तो बजारमा पुगेको चिया नै नष्ट गर्नेगरी कडाइ नगरेको व्यवसायी बताउँछन्। ‘हुन त नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा भारतले बेला–बेला अवरोध गरेकै थियो,’ एसोसिएसन महासचिवसमेत रहेका कट्टेलले भने, ‘यसपटकको समस्या निकै गम्भीर छ, देखाउनलाई गुणस्तर परीक्षण भनिएपनि नेपाली चिया भारतमा विक्री रोक्ने नियत स्पष्ट देखिएको छ।’

भन्सारबाट चाहिँ पास हुन दिएर भारतीय बजार पुगेपछि गुणस्तर परीक्षण भन्दै तयारी चिया बोकेका गाडी ३ सातासम्म अड्काउनु निकै गम्भीर समस्या भएको उद्योगीले बताएका छन्। उनीहरूले स्थानीय कच्चा पदार्थलाई नै प्रशोधन गर्ने उद्योगहरूको उत्पादन बेच्न सरकारले पहल नगरिदिएको उद्योगी जनाएका छन्।  

अर्का उद्योगी पुनम राईले भारतले नेपाली चियामा नजानिदो तवरले ‘दोहोरो चरित्र’ देखाएको बताए। ‘यसरी कडाइ गरिनु नेपाली चियालाई प्रतिबन्ध लगाउनु नै हो,’ उनले भने, ‘भन्सारबाट पास हुन दिएर कोलकाता पुगेपछि विक्री हुन नसक्नु कुनै पनि मानेमा न्यायसंगत देखिँदैन, बरु भन्सारमै गुणस्तर जाँच गर्नुपर्नेमा त्यसो गरिएको छैन।’ भारतीय बोर्डले दिएको नेपाली चियाको परीक्षण रिपोर्ट पनि ‘विश्वासयोग्य’ नभएको उनले जनाए। सबै निकायको ढोका ढक्ढक्याउँदा पनि चियाको निर्यात सहज नभएपछि आफूहरूले कि त सडकमै निस्किनुपर्ने, कि उद्योग बन्द गर्नुपर्ने अवस्था आएको एसोसिएसनले जनाएको छ।  

६५ भन्दा बढी चिया उद्योग रहेको सूर्याेदय नगरपालिकाले सूर्योदय नगरपालिकाले चिया विक्रीको भारतीय अवरोध खुला गर्न तत्काल उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ।

नगरले भारतको कोलकाता पुगेका नेपाली चियाका ‘कन्साइनमेन्ट’माथि भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमुना संकलन र परीक्षण गर्न थालेको र आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको एक साता व्यतित भइसक्दासमेत प्रयोगशालाको प्रतिवेदन प्राप्त नभएर प्रतिवेदनबेगर विक्री–वितरण पूर्ण रोक लगाइएको पाएको जनाएको छ। झन्झटिलो प्रक्रियाका कारण गुणस्तरीय नेपाली चिया भारतीय गोदाममै थन्किएर गुणस्तर ह्रास हुने र बिग्रिने उच्च जोखिममा रहेको पनि जनाएको छ।

‘यस्तो अव्यावहारिक र गैरभन्सार अवरोधले नेपालको चिया उद्योग धराशयी हुने, हजारौं किसान र श्रमिकको रोजीरोटी गुम्ने तथा राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक असर पर्ने निश्चित छ,’ नगरले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘तसर्थ, भारतीय चिया बोर्डबाट सिर्जित अवरोधलाई तत्काल अन्त्य गरी पूर्ववत् सम्झौता र समझदारीअनुरूप निर्बाध चिया निर्यातको वातावरण सुनिश्चित गर्न नेपाल सरकारको तर्फबाट भारत सरकारसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरिदिनु आवश्यक छ।’

एसोसिएसनका अनुसार सूर्याेदय नगरपालिकामा मात्रै २ हजार ९ सय ९५ चिया किसान छन्। नगरको ३३ हजार ६ सय ५५ रोपनीमा भइरहेको चिया खेतीबाट वार्षिक २ करोड किलो हरियोपत्ती उत्पादन हुनेगरेको छ।  

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार बर्सेनि नेपालबाट ७० लाख किलोभन्दा बढी अर्थाेडक्स तयारी चिया निर्यात हुनेगरेकामा ९० प्रतिशतभन्दा धेरै भारत नै जान्छ। अर्थाेडक्स चिया इलाम, पाँचथर र धनकुटालगायत जिल्लामा उत्पादन हुन्छ। वार्षिक १ करोड ९० लाख किलो सिटिसी चिया उत्पादन हुनेगरेकामा १ करोड किलो चाहिँ भारतमै विक्री हुनेगरेको तथ्यांक छ। सिटिसी सबैभन्दा धेरै झापामा उत्पादन हुन्छ। बोर्डका अनुसार नेपालबाट वार्षिक सवा ४ अर्बको तयारी चिया निर्यात हुनेगरेको छ।

प्रकाशित: ३० जेष्ठ २०८३ २०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App