काठमाडौं उपत्यकामा बढ्दै गएको वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित र दिगो उपायहरू खोज्ने उद्देश्यले ‘काठमाडौं क्लिन एयर डायलोग’ सम्पन्न भएको छ।
विश्वव्यापी मोबिलिटी तथा सहरी सेवा प्रदायक कम्पनी ‘इनड्राइभ’ को आयोजनामा भएको उक्त संवादमा सरोकारवालाहरूलाई एकै मञ्चमा ल्याएर प्रदूषण नियन्त्रणका ठोस कार्ययोजनाबारे छलफल गरिएको हो।
कार्यक्रममा सरकारी निकायका नेतृत्वकर्ता, विषय विज्ञ, अनुसन्धानकर्ता, नागरिक समाजका अगुवा र निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वायु प्रदूषणलाई साझा जिम्मेवारीका रूपमा लिँदै तथ्यमा आधारित नीति निर्माण र कार्यान्वयनमा जोड दिनु कार्यक्रमको मुख्य उद्देश्य थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री माधव चौँलागाईले वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले गरिरहेका प्रयासहरूबारे जानकारी गराउँदै आगामी दिनमा अझ तीव्र र समन्वित कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।
उनले सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर संवादको थालनी गरेकोमा इनड्राइभ र अल्माटी एयर इनिसिएटिभ (एएआई) को प्रशंसासमेत गरे।
संवादमा सहभागी विज्ञहरूले काठमाडौंको वायु प्रदूषण बहुआयामिक रहेको निष्कर्ष निकालेका छन्।
बायोमास, घरेलु इन्धन, बढ्दो यातायात र औद्योगिक विस्तारले प्रदूषणमा ठूलो हिस्सा ओगटेको र उपत्यकाको भौगोलिक बनावटका कारण जाडोयाममा यो समस्या झनै विकराल बन्ने गरेको उनीहरूले बताए।
यसको समाधानका लागि विश्वसनीय तथ्याङ्क, पारदर्शी अनुगमन प्रणाली र समन्वित कार्य अनिवार्य रहेकोमा जोड दिइएको थियो।
यसै संवादमार्फत नेपाल ताजा पहलको समेत सुरुवात गरिएको छ। कजाख भाषामा ताजा को अर्थ स्वच्छ हुन्छ। यो पहल एएआईको प्रमाणित ब्रेन, भ्वाइस र ब्रिज ढाँचामा आधारित छ।
जसअन्तर्गत ब्रेनले डाटामा आधारित स्वतन्त्र अनुगमन सञ्जाल र अनुसन्धानलाई जनाउँछ भने भ्वाइसले वैज्ञानिक प्रमाणलाई जनचेतनामा रूपान्तरण गर्ने कार्य गर्छ। त्यसैगरी, ब्रिजले विज्ञान र जनसमर्थनलाई जोडेर दिगो नीति र संस्थागत सुधारको वातावरण तयार पार्नेछ।
कार्यक्रममा अल्माटी एयर इनिसिएटिभ (एएआई) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) जुलदिज साउलेबेकोभाले वायु गुणस्तरमा दिगो सुधार ल्याउन सरकार र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताइन्।
उनले भनिन्, ‘अल्माटीको अनुभवले देखाउँछ, जब प्रमाण, जनसहभागिता र नीति एकसाथ अगाडि बढ्छन्, तब प्रणालीगत परिवर्तन सम्भव हुन्छ। काठमाडौंलाई स्वच्छ वायुतर्फ डोर्याउने यो यात्रामा सहकार्य गर्न पाउँदा हामीलाई गर्व लागेको छ।’
प्रकाशित: ११ फाल्गुन २०८२ २०:२७ सोमबार





