भारतीय पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गर्दै यो जुन महिनामा ९१ हजार ३ सय ६३ जना विदेशी पाहुना हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। जुन महिनामा नेपाल भित्रिएका भारतीय पर्यटकको संख्या मात्र ४१ हजार ८ सय ९ रहेको छ। भारतीय पर्यटकको आगमनको यो संख्याले जुन महिनामा नेपाल भित्रिएका विदेशी पाहुनाको संख्याको झन्डै ४६ प्रतिशत हिस्सा ओगट्ने पर्यटन बोर्डको भनाई छ।
अघिल्लो महिना (२०२६ मे) महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिएका भारतीय पर्यटकको संख्या मात्र ४० हजार ७ सय ८२ थियो। त्यो संख्यालाई पनि उछिन्दै जुन महिनामा नेपाल भित्रिने भारतीय पर्यटकको संख्या बढेर झन्डै ४२ हजार पुगेको पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछानेले बताए। ‘महिनाको आगमनको आकारले भारतीय पाहुनाको संख्या यो नै सबैभन्दा बढी हो,’ लामिछानेले भने, ‘भारतीयका लागि नेपाल नजिकको र सहजको गन्तव्य बनेको छ। हवाई र स्थल दुवै मार्गबाट अहिले नेपालमा भारतीय पाहुनाको आगमन बढ्यो।’
लामिछानेका अनुसार सन् २०२६ को ६ महिना अवधि (जनवरी–जुन) अवधिमा नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या ६ लाख २० हजार ४ सय २६ पुगेको छ। यो आकार अघिल्लो वर्ष २०२५ को यही अवधिको भन्दा ७ प्रतिशत बढि हो। २०२५ को सुरुको ६ महिनामा नेपालमा ५ लाख ७७ हजार ६ सय ८९ जना विदेशी पाहुना भित्रिएका थिए।
विदेशी मात्र नभई भारतीय पाहुना आगमनमा झनै सुधार भएको छ। २०२६ को सुरुको ६ महिना अवधिमा नेपाल भित्रिएका भारतीय पाहुनाको संख्या मात्र १ लाख ७७ हजार १ सय ५९ पुगेको छ। यो संख्या २०२५ को त्यही अवधिमा १ लाख ४८ हजार ५ सय ४० थियो। २०२५ को सुरुको ६ महिनाको तुलनामा यो वर्षको त्यही अवधिमा भारतीय पर्यटक आगमनमा मात्र १९ प्रतिशत वृद्धि भएको पनि लामिछानेले बताए।
‘भारतीय पाहुनाको आगमन सकारात्मक रुपमा अघि बढिरहेको छ। भारतका लागि सहज पहुँच र नजिकको गन्तव्य भएकोले पनि आगमन बढेको हो,’ उनले भने।
जुन महिनाको आगमन पनि अघिल्लो वर्षको तुलनामा योवर्ष २८ प्रतिशत वृद्धि भएको बोर्डको भनाई छ। २०२५ को जुन महिनामा नेपालमा ३२ हजार ६ सय ६२ जना भारतीय पाहुना आएकोमा यो पटक त्यो आगमन २८ प्रतिशतले बढेर यो जुनमा ४१ हजार ८ सय ९ पुगेको पनि उनले बताए। समग्र विदेशी आगमनमा समेत २०२५ जुनको तुलनामा २० प्रतिशत बढेर २०२६ जुनमा ९१ हजार ३ सय ६३ पुगेको उनले बताए।
नेपाली पर्यटन बजारमा विदेशी पाहुना आगमनको हिस्सामा समेत भारतीयको आकार बढेको लामिछानेले बताए। २०२५ को सुरुवाती ६ महिनाको तुलनामा यो वर्ष भारतीय पाहुनाले ओगटेको बजार हिस्सा ३ प्रतिशत बढेर २९ प्रतिशत पुगेको पनि उनले बताए। ‘समग्रमा बजार हिस्सा समेत बढेको छ। भारतीय पाहुना आउँदा समग्र पर्यटन क्षेत्र चलायमान बनेको छ,’ उनले भने।
कोरोना भाइरस संक्रमण अघिको तुलनामा भन्दा पनि अहिले पाहुना आगमनमा वृद्धि भएको छ। २०१९ को सुरुको ६ महिनाको आगमनको तुलनामा यो वर्षको त्यत्ति नै अवधिको आगमनमा १६ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको बोर्डका गण्डकीका वरिष्ठ निर्देशक लामिछानेले बताए। त्यस्तै २०१९ को ६ महिना अवधिमा भित्रिएका भारतीयको तुलनामा यो वर्ष त्यत्ति नै अवधिमा ७१ प्रतिशत वृद्धि भएको पनि लामिछानेले बताए।
लामिछानेका अनुसार तेस्रो मुलुक जाने भारतीय पर्यटक पनि अहिले सहजातले गर्दा नेपाल आइरहेका छन्। भारत सरकारले डलर सटहीमा गरेको कडाइ, नेपालमा भारतीय रुपैयाँ र क्युआर भुक्तानीको सुविधा, भिसा लगाउनु नपर्ने र आफ्नै गाडी लिएर आउन सकिने कारणले भारतीय पाहुनाका लागि नेपाल आकर्षक र सहजको गन्तव्य बनेको उनले बताए।
‘भारतीय पाहुनालाई नेपाल आउन सहज छ। अहिले त स्थलमार्गको पहुँच पनि सहज बनेको छ। निजी गाडीमा छोटो समयमै आउन सकिने भएकोले पनि पोखरा त झनै भारतीय पाहुनाको रोजाईको गन्तव्य बनेको छ,’ उनले भने।
उनका अनुसार भारतीय विद्यालयमा सामान्यतया गर्मी महिनाको बिदा ४० देखि ६० दिनसम्म हुने गर्छ। त्यो बिदाले पनि नेपालमा भारतीको आगमनमा योवर्ष सोचेभन्दा बढि सुधार भएको उनले बताए।
‘सेल्फ ड्राइभको भिन्दै आनन्द छ। नेपालका घुम्ती बाटोमा आफ्नै गाडीमा रमाउँदै यात्रा गर्न पाइने भएकोले पनि स्थलमार्गको आगमन यो पटक ह्वात्तै बढेको छ। हवाई मार्गबाट पनि पाहुना थपिएका छन,’ उनले भने। नेपाल प्रवेश गर्नासाथ यहाँका होटलमा राम्रो सुविधा पाएको, क्यासिनो, फनपार्कमा रमाउन पाउँदा पनि भारतीय पाहुना बढि आकर्षित बनेको उनले सुनाए। ‘छोटो अवधिमा पनि नेपालको यात्रा पुरा हुन सक्ने भएकोले भारतीयहरु सहज आएका हुन,’ उनले भने, ‘भारतीय सरकारले पनि आफ्ना नागरिकलाई नेपाल घुम्नमा प्रोत्साहन गरेको, भारतीय सहरमा प्रवर्द्धनात्मक गतिविधि संचालन गरिएकोले पनि आगमन बढेको हो।’
नेपालमा यो जुन महिनामा भित्रिएका पाहुना मध्ये सबैभन्दा बढी भारतीय छन्। त्यसपछि अमेरिकी पाहुनाको संख्या झन्डै १३ प्रतिशत (११ हजार ८ सय ३६) रहेको छ। त्यसैगरि चिनियाँको आगमन पनि झन्डै ११ प्रतिशत (९ हजार ९ सय ९५) रहेको छ। बंगलादेशका पाहुनाको आगमन झन्डै ५ प्रतिशत (४ हजार ३ सय २२) रहेको छ।
त्यसैगरि अस्टे«लियाका पाहुनाको आगमन भने ३.१७ प्रतिशत (२ हजार ८ सय ९६) रहेको पनि बोर्डको तथ्यांक छ। बोर्डका अनुसार दक्षिण एशियाली मुलुकका पाहुनाको हिस्सा जुन महिनामा झन्डै ५३ प्रतिशत पुगेको छ। अमेरिकी मुलुकको आगमन हिस्सा १४ र यूरोपको हिस्सा करिब ८ प्रतिशत छ। ‘मध्यपूर्वको द्वन्द्वको असर पनि परेको छ। अमेरिकी र यूरोपियन मुलका पाहुनाको आगमन अझै प्रभावित भएको छ,’ उनले भने।
प्रकाशित: १८ असार २०८३ १८:०५ बिहीबार





