स्पष्ट नीति, अनावश्यक खर्चमा निर्मम कटौती र इमान्दारिताका साथ व्यवस्थापकीय कौशल देखाउने हो भने वर्षौँदेखि घाटा र ऋणको आहालमा डुबेको कुनै पनि सरकारी संस्थानले कसरी छोटो समयमै चमत्कारिक सुधार गर्न सक्छ भन्ने उदाहरण बनेको छ- दुग्ध विकास संस्थान (डिडिसी)।
विगत लामो समयदेखि किसानको भुक्तानी दिन नसकेर, थन्किएको दुग्धजन्य पदार्थ कुहाएर र घाटाको बोझले थिचिएर टाट पल्टिने अवस्थामा पुगेको डिडिसी अहिले दैनिक लाखौँ रुपैयाँ खुद नाफा आर्जन गर्ने विन्दुमा पुगेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमार्फत डिडिसीको पछिल्लो लोभलाग्दो वित्तीय सुधारसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेपछि संस्थान कसरी दैनिक नाफाको बाटोमा फर्कियो भन्ने विषयमा सर्वत्र चासो छ।
वर्षौँदेखि थला परेको डिडिसीको यो अप्रत्यासित र उत्साहजनक पुनरुत्थानको पछाडि कुन जादुई सूत्रले काम गर्यो ? यसै विषयमा डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेसँग गरिएको विस्तृत कुराकानी र संस्थानको आन्तरिक लेखापरीक्षणको विश्लेषणका आधारमा तयार पारिएको विशेष रिपोर्ट।
गत वैशाख १८ गते डिडिसीको नेतृत्व सम्हाल्न आइपुगेका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अगाडि संस्थानलाई धरासायी हुनबाट जोगाउनु मुख्य चुनौती थियो।
उनले पदबहाली गर्दा डिडिसीको गोदाममा ६०० टन पाउडर दूध र ४५० टन बटर बिक्री हुन नसकेर थन्किएको अवस्थामा थियो। एकातिर किसानले उत्पादन गरेको दूध खरिद गर्नुपर्ने दबाब थियो भने अर्कातिर बिक्री नभएर करोडौं मूल्यको मौज्दात कुहिने जोखिममा थियो।
नयाँ व्यवस्थापनले तत्कालै आक्रामक बजारीकरण र मौज्दात खपत बढाउने रणनीति अपनायो। त्यसको नतिजास्वरुप अहिले गोदाममा रहेको पाउडर दूध घटेर १४० टन र बटर १३५ टनमा झरेको छ। मौज्दात दूध र बटरलाई बजारमा सफलतापूर्वक खपत गराउँदा संस्थानको बिक्री र आम्दानीमा अप्रत्याशित सुधार आएको छ।
डिडिसीले हाल देशभरका ४४ वटा जिल्लामा रहेका ४५ वटा सङ्कलन केन्द्रहरूमार्फत दैनिक रूपमा करिब ६१ हजार लिटर दूध खरिद गर्दै आएको छ। यसरी खरिद गरिएको दूधमा विगतको मौज्दातबाट १९ हजार लिटर खपत थपेर हाल दैनिक ८० हजार लिटर दूध बजारमा बिक्री भइरहेको छ।
असार मसान्तसम्म दैनिक ६० देखि ६२ हजार लिटरको हाराहारीमा मात्र दूध बिक्री गरिरहेको संस्थानले साउनको पहिलो सातादेखि बिक्री बढाएर ८० हजार लिटर पुर्याएको हो। यसबाट डिडिसीको दैनिक बिक्री आम्दानी ६० लाखबाट सोझै ९० लाख पुगेको छ। बिक्रीबाट प्राप्त यस थप रकमलाई शतप्रतिशत किसानको पुराना बक्यौता भुक्तानीमा उपयोग गरिएको छ।
डिडिसीले किसानबाट चार प्रतिशत फ्याट भएको दूध प्रतिलिटर ६६ मा खरिद गर्छ। त्यसमा ढुवानी खर्च, स्थानीय सहकारी व्यवस्थापन खर्चलगायतका अन्य थप लागत जोड्दा डिडिसीको सङ्कलन केन्द्रसम्म आइपुग्दा दूधको प्रारम्भिक लागत प्रतिलिटर करिब ७० पुग्छ।
तर, किसानबाट खरिद गरिएको दूधमा रहेको अतिरिक्त फ्याटलाई डिडिसीले छुट्टै प्रशोधन गरी घिउ तथा बटर उत्पादनमा प्रयोग गर्छ। यसरी फ्याटको छुट्टै मूल्य उठ्ने भएकाले दूधको वास्तविक खरिद लागत प्रतिलिटर सातले घटेर ६४ कायम हुन आउँछ।
त्यसपछि प्रशोधन, प्याकेजिङ, चिस्यान (कुलिङ), ढुवानी, कर्मचारीको पारिश्रमिक तथा मेसिन सञ्चालन खर्च जोड्दा तीन प्रतिशत फ्याट भएको मानक दूध तयार पार्न प्रतिलिटर १५ देखि १८ सम्म थप खर्च हुन्छ। यसरी उपभोक्तासम्म पुग्ने तीन प्रतिशत फ्याट भएको दूधको कूल उत्पादन लागत (कस्ट अफ प्रोडक्सन) प्रतिलिटर ८२ पुग्छ।
डिडिसीले यो तीन प्रतिशत फ्याट भएको दूध डिलरहरूलाई प्रतिलिटर ९२ मा बिक्री गर्छ भने बजारमा उपभोक्ताले प्रतिलिटर १०० मा खरिद गर्छन्। यसरी डिडिसीले ३ प्रतिशत फ्याट भएको दूधबाट मात्रै प्रतिलिटर १० खुद नाफा आर्जन गर्छ।
डिडिसीले दैनिक बिक्री गर्ने ८० हजार लिटर दूधमध्ये ३ प्रतिशत फ्याट भएको दूधको हिस्सा औसतमा ७३ हजार लिटर छ। यसरी प्रतिलिटर १० का दरले हिसाब गर्दा डिडिसीले ३ प्रतिशत फ्याटको दूधबाट मात्रै दैनिक सात लाख ३० हजार नाफा कमाउँछ।
त्यस्तै, डिडिसीले बजारमा प्रतिलिटर १३० मा बिक्री गर्ने पाँच प्रतिशत फ्याटयुक्त दूधको हिस्सा दैनिक औसत सात हजार लिटर छ। तीन प्रतिशत फ्याटयुक्त दूधमा एक प्रतिशत फ्याट थप्दा सात दशमलव पाँचका दरले लागत बढ्ने भएकाले ५ प्रतिशत फ्याटयुक्त दूधको कस्ट अफ प्रोडक्सन प्रतिलिटर ९७ पुग्छ।
डिडिसीले यो दूध डिलरलाई प्रतिलिटर १२० मा बिक्री गर्छ। यसबाट प्रतिलिटर २३ नाफा हुन्छ, जुन दैनिक सात हजार लिटर बिक्री गर्दा एक लाख ६१ हजार हुन आउँछ।
यसरी दूध बिक्रीको प्रारम्भिक मार्जिनबाट मात्रै डिडिसीले दैनिक आठ लाख ९१ हजार (७ लाख ३० हजारसहित १ लाख ६१ हजार) शुद्ध नाफा कमाइरहेको छ।
दैनिक आठ लाख ९१ हजार नाफा त केवल दुई प्रकारका दूध बिक्रीबाट प्राप्त हुने प्रारम्भिक आम्दानी मात्रै हो। यसमा बटर, घिउ, दही, आइसक्रिम, मोहीलगायतका अन्य दुग्धजन्य पदार्थको बिक्रीबाट प्राप्त हुने नाफा समावेश छैन।
हाल डिडिसीको कूल बिक्री संरचनामा करिब ८५ प्रतिशत हिस्सा प्रशोधित तरल दूधको छ भने बाँकी १५ प्रतिशत हिस्सा अन्य दुग्धजन्य पदार्थको छ। विगतमा दूधबाहेकका अन्य उत्पादनको बिक्री न्यून हुँदा संस्थान दूधकै आम्दानीमा मात्र निर्भर रहनुपरेको थियो।
तर, अहिले पुराना स्टकमा रहेका बटर, पाउडर र घिउको बिक्रीलाई तीव्रता दिइएपछि डिडिसीको समग्र वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको छ।
बिक्री सञ्जाललाई विस्तार गर्न डिडिसीले काठमाडौं उपत्यकामा निजी क्षेत्रसँगको समन्वय र साझेदारीमा आठ वटा ‘डेडिकेटेड सेल्स काउन्टर’ सञ्चालनमा ल्याएको छ। यसका साथै बालाजु मातहत रहेका १८ वटासहित देशभरका ४५ सङ्कलन केन्द्रमार्फत बक्यौता असुलीको कामलाई समेत कडाइका साथ अघि बढाइएको छ।
डिडिसीको सुधारको सबैभन्दा सकारात्मक र प्रभावकारी असर ग्रामीण भेगका दूध उत्पादक किसानहरूमा परेको छ। नयाँ व्यवस्थापन आउनुअघि डिडिसीमा किसानको आठ महिनादेखिको करिब ७२ करोड भुक्तानी बक्यौता बाँकी थियो। दुग्ध उत्पादक किसानहरूले महिनौंसम्म भुक्तानी नपाएर सडकमै दूध पोखेर विरोध प्रदर्शन गर्नुपर्ने बाध्यता सिर्जना भएको थियो।
तर, डिडिसीले पछिल्लो साढे तीन महिनाको अवधिमा बिक्री आम्दानीलाई कुशल ढङ्गले परिचालन गरी सरकारबाट एक रुपैयाँ पनि अनुदान नलिई किसानलाई ६० करोड बक्यौता भुक्तानी गरिसकेको छ।
जसका कारण हिजो आठ महिनासम्म रोकिएको किसानको बक्यौता अहिले घटेर दुईदेखि तीन महिना (करिब रु ३५ करोड) मा सीमित भएको छ। संस्थानले यो बक्यौतालाई अबको केही समयभित्रै घटाएर नियमित एक महिनामा झार्ने लक्ष्यका साथ काम गरिरहेको छ।
किसानको बक्यौता भुक्तानी गर्नुका साथै डिडिसीले यसै अवधिमा आफ्नो सञ्चित आम्दानीबाट संस्थानको टाउकोमा रहेको तीन करोड पुरानो वित्तीय ऋणसमेत चुक्ता गर्न सफल भएको छ।
डिडिसी यसरी नाफाको बाटोमा फर्किनुमा केवल बिक्री बढ्नु मात्र कारक होइन, संस्थानभित्र व्याप्त फजुल खर्चको जालो तोड्नु पनि उत्तिकै महत्वपूर्ण कदम हो।
महाप्रबन्धक डा. पाण्डेका अनुसार डिडिसीमा रहेका अनावश्यक फजुल खर्चहरू पूर्ण रूपमा रोकिएको छ। कर्मचारीहरूले पाउँदै आएका कतिपय अनावश्यक सुविधा र भत्ताहरूमा कटौती गरिएको छ।
सस्तो र प्रतिस्पर्धी मूल्यमा कच्चा दूध तथा अन्य सामग्री खरिद गर्ने नीति लिइएको छ। संस्थानको आन्तरिक चुहावट, मेसिनरीको दुरुुपयोग र ढुवानीमा हुने हिनामिना रोकेर कुशल व्यवस्थापकीय नियन्त्रण कायम गरिएको छ।
प्रकाशित: २६ श्रावण २०८३ १६:५९ मंगलबार





-600x400.jpg)