२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

कोसी पुरानै बाटोतर्फ, जोखिममा पाँच वडा

सप्तकोसी नदीको पश्चिम भँगालोले धार परिवर्तन गरी जग्गा कटान गर्न थालेको २० दिन भइसकेको छ।

नदीले निरन्तर कटान गर्दा सुनसरी बराहक्षेत्र नगरपालिकाका-६ र ९ नम्बर वडासँगै उदयपुरको बेलका नगरपालिकाका-१, २ र ३ वडा उच्च जोखिममा परेका छन्।

‘सप्तकोसीले तीन वर्षअघि पनि कटान गरेको थियो। त्यो बेला ३०/३५ घर पश्चिमतिर सरेका थिए। यसपटक धेरै नै कटान गरेको छ’, बराहक्षेत्र- ६ की सुखी चन्द्रवंशीले भनिन्, ‘नदीले निरन्तर पश्चिम हानिरहेको छ।’ उनका अनुसार पहिला कोसी अहिले पश्चिम भँगालो भएको स्थानभन्दा दुई किलोमिटर दुरी पश्चिमबाट बग्थ्यो।

२०४५ सालअघि सप्तकोसीका दुवै किनारामा तटबन्ध थिएन, नदी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापु थिएन। कोसी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बनेको हो। पुराना जानकारहरूका अनुसार २०४५ सालको भूकम्पपछि सप्तकोसी धार परिवर्तन गरी पूर्वतर्फ बग्न थाल्यो। पछिल्ला वर्षमा सबैभन्दा बढी खतरा कोसीको पूर्वी तटबन्ध क्षेत्रमा थियो।

२०६५ भदौ २ गते अहिलेको कोसी गाउँपालिका-३ पश्चिम कुसाहाबाट पूर्वी तटबन्ध भत्काएर कोसीले मानव बस्तीमा पसेर वितण्डा मच्चाएको थियो। पछिल्ला वर्षमा कोसीले पश्चिम धार परिवर्तन गरी पुरानै बाटो पक्रिन खोजेको स्थानीय बताउँछन्। ‘कोसीले पुरानै ठाउँ ताकिरहेको छ’, बराहक्षेत्र-६ की सुशीला चन्द्रवंशीले भनिन्, ‘अहिले कोसी बगेको ठाउँमा हाम्रो नम्बरी जग्गा छ। नम्बरी जग्गा कोसीले बगाएपछि पश्चिमतर्फ सरेका हौं।’ उनका अनुसार फेरि कोसी पुरानो धारमा फर्किए झन् बिचल्ली हुने छ। उनी अहिले बसेको जग्गा ऐलानी हो।

‘ऐलानी जग्गा भए पनि खानलगाउन राम्रैसँग पुग्छ,’ उनले भनिन्, ‘कटान नरोकिने हो भने ढिलोचाँडो बसेको ठाउँ छाड्नुपर्छ। त्यसपछि कहाँ जाने होला?’ सुशीलामात्रै होइन, कोसी नम्बरी जग्गाबाट बगेपछि प्राय: ऐलानी जग्गामै बस्दै आएका छन्।

‘अहिलेको अवस्था हेर्दा तत्काल कटान रोकिने छनक छैन’, सोही वडाकी अर्की लीलादेवी चन्द्रवंशीले भनिन्, ‘नगरपालिकाले त सक्दो सहयोग गरेकै छ। संघीय सरकारले पनि सहयोग गरे कटान रोकथाम गर्न सकिन्थ्यो कि?’ उनका अनुसार बेलकाको डुम्रिबोटदेखि बराहक्षेत्र-९ को तल्लो सिमानासम्म लगभग १० किलोमिटर क्षेत्र जोखिममा छ। २०७९ साउन अन्तिममा कोसी डुम्रीबोटबाट धार परिवर्तन गरी पश्चिम मानव बस्तीमा पस्दा बराहक्षेत्रका- ६ र ९ वडासँगै बेलकाका केही वडाका मानिस बिचल्लीमा परेका थिए। त्यतिबेला ठुलो संख्यामा विस्थापित भएका पछि पुन:स्थापित भएका थिए।

बेलका-२ शान्तिगर टोल विकास संस्थाका कविराज विकका अनुसार कोसीले धार परिवर्तन गरी बस्ती पसे सबैभन्दा बढी असर श्रीलंका टापुका बासिन्दालाई पर्नेछ। श्रीलंका टापुका बस्तीमा दुई हजार दुई हाराहारी घरधुरी रहेको बराहक्षेत्र नगरपालिकाले जनाएको छ। श्रीलंका टापु सप्तकोसीको पूर्वी र पश्चिमी भंगालोको बिचमा छ।

कोसीबाट घेरिएको श्रीलंका टापुका बस्तीलाई कटानबाट जोगाउन बराहक्षेत्र र बेलका दुवै नगरपालिकाको सहयोगमा गाउँलेले दुई सातासम्म श्रमदानमा गरी तारजाली लगाएको स्थानीय मुस्कान राईले बताए। त्यहीबेला सुनसरीको कप्तानगन्जमा दुई समूहबिचको झडपले हिंसात्मक रुप लिएपछि सेना, प्रहरी र अरुको ध्यान त्यतै केन्द्रित हुँदा कोसी कटान रोक्न तारजाली लगाउने काम प्रभावित भयो।

स्थानीय जनश्रमदानबाट थकित भएपछि अब सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना विराटनगरले रोकथामको काम थाल्ने भएको छ। कार्यालय प्रमुख राजेन्द्रप्रसाद देवले कटान रोक्न आकस्मिक काम सिँचाइ तथा जलस्रोत व्यवस्थापनले गर्ने बताए। उनका अनुसार सप्तकोसीले पश्चिमतर्फ कटान गरिहेकाले पूर्वतर्फ फर्काउन अस्थायी काम गरिनेछ।

बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीका अनुसार पश्चिमतर्फ होचो भएकाले गर्दा कटान बढी भएको हो। ‘कटान कन्ट्रोल गर्न सकिएन भने इतिहास मात्रै बाँकी रहने खतरा छ,’ उनले भने, ‘हामीले स्थानीय स्रोतसाधनले धानेसम्म काम गरिरहेका छौं।’ उनका अनुसार संघीय सरकार र प्रदेश सरकार गम्भीर भए नियन्त्रण सहज हुनेछ। ‘कोसीको बहावले बालुवा बगाइहाल्छ,’ मेयर कार्कीले भने, ‘हाम्रै मात्र प्रयासले रोक्ने अवस्था छैन।’ पछिल्लो समय कोसी पश्चिम भंगालोमा पानीको बहाव उच्च हुँदा बढी भएर बस्तीमा पस्ने गरेको छ। २०८१ असोज १२ र १३ गते पानीको बहाव बढेका बेला पनि कोसी बस्तीमा प्रवेश गरेको थियो।

यतिबेला कोसी नदीको पूर्वी भंगालो र पश्चिम भंगालोमा आधा/आधा जस्तो पानी छ। ‘पुरानै बाटो पहिल्याउन थालेकाले पानी पश्चिमतर्पm बढी भए त्यतै बढी क्षति हुने निश्चित छ,’ स्थानीय अगुवा बद्रीकुमार राईले भने। स्थानीयको नजिकको केन्द्र भागलपुर हो। हिउँदमा पश्चिमी भंगालो लगभग सुक्ने भएकोले आवतजावत गर्न सहज भए पनि वर्षामा दुवैतिरबाट कोसी बस्ती नजिकै आइपुग्छ। कोसीको भेल पार गर्न डुंगाबाहेक विकल्प स्थानीयसँग छैन।

श्रीलंका टापुका बासिन्दा कृषि र पशुपालनमा निर्भर छन्। यहाँ टमाटर, मकै, खुर्सानी, भिन्डी, मुलालगायत उत्पादन गरी स्थानीयले आर्थिक अवस्था सुधार गरेका छन्। जसले गर्दा यहाँका बासीन्दा अन्यत्र सर्न चाहदैनन्। केही वर्षअघिसम्म काहलीलाग्दो जीवन बिताएका टापुका बासिन्दाका लागि यतिबेला बिजुली बत्तीको सुविधा र सुरक्षाको व्यवस्था पनि छ। तर बर्खामा कोसीको गर्जनसँगै यहाँका बासिन्दा त्रासमा बस्छन्।

प्रकाशित: २६ श्रावण २०८३ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App