२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

साताको अन्तिम कारोबारमा सेयर बजारमा हरियाली, नेप्से ८० अंक नजिक

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७९.७४ अंकले उकालो लाग्दै २६७७.५४ बिन्दुमा पुगेको छ।

यसअघि बिहीबार नेप्से ७.५० अंकले बढेको थियो भने मंगलबार १४ अंक र सोमबार ६.११ अंकले वृद्धि भएको थियो। त्यसअघि लगातार चार कारोबार दिन बजार ओरालो लागेकाले शुक्रबारको उच्च वृद्धिलाई लगानीकर्ताले सकारात्मक संकेतका रूपमा हेरेका छन्।

बजारमा सुधारसँगै कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। शुक्रबार कुल ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबारमा सहभागी अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। शुक्रबार कारोबार भएका २५७ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १४ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

पछिल्ला दिनहरूमा बजार लगातार ओरालो लागेपछि असन्तुष्ट लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड घेराउसमेत गरेका थिए। त्यसपछि बोर्डले पुँजीबजार सुधारसम्बन्धी मार्गचित्र तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ।

यता, बजारमा आएको निरन्तर गिरावटका कारण सरकारमाथि दबाब बढेपछि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी पुँजीबजार सुधार र बजारमा विश्वास अभिवृद्धिका उपायबारे छलफल गरिसकेका छन्।

शुक्रबारको उच्च वृद्धिले केही समयदेखि दबाबमा रहेको सेयर बजारमा लगानीकर्ताको मनोबल पुनः उकास्ने संकेत दिएको विश्लेषण गरिएको छ।

प्रकाशित: १ श्रावण २०८३ १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App