१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल

चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का गभर्नर फान कोङसङबीच बुधबार भेटवार्ता भएको छ।

चीनको थियानचिनमा ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स’ द्वारा आयोजित बिसौँ एसिया प्यासिफिक हाई लेभल मिटिङ अन ब्याङ्किङ सुपरभिजन’ कार्यक्रममा उनीहरूबीच भेट भएको हो। भेटमा उनीहरूबीच दुई केन्द्रीय बैंकबीच सहयोग र सहकार्यका विविध विषयमा कुराकानी भएको गभर्नर पौडेलको सचिवालयले जनाएको छ।

भेटका अवसरमा उनीहरूबीच नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदान–प्रदानका क्षेत्रका अवसर र चुनौती, वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा छलफल भएको थियो। यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमा समेत उनीहरूबीच छलफल भएको सचिवालयले जनाएको छ।

त्यस अवसरमा पिबिओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदान–प्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा राखे। गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेको विचार व्यक्त गरे।

भेटमा पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैंकका तर्फबाट बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेलगायत सहभागी थिए।

प्रकाशित: १५ माघ २०८२ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App