सन् २०२७ को एएफसी एसियन कपको उद्घाटन र फाइनल साउदी अरेबियाको रियादस्थित फहद स्पोर्ट्स सिटी स्टेडियममा हुने भएको छ।
आगामी एएफसी एसियन कप सन् २०२७ को जनवरी ७ देखि ५ फेब्रुअरीमा साउदी अरेबियाको पाँच सहरमा हुने तय छ। एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले उद्घाटन र फाइनल रियादस्थित किङ फहद स्पोटर्स सिटी स्टेडियममा हुने जनाएको हो। यो प्रतियोगिता साउदी अरेबियामा हुने सन् २०३४ को फिफा विश्वकपको पूर्वाभ्यासका रूपमा पनि हेरिएको छ।
साउदी अरेबियाले सन् २०३४ को विश्वकप आयोजना गर्ने अधिकार पाइसकेको छ। त्यसअघि खाडी मुलुक साउदी अरेबियाले २०२७ सम्म एसियन कप आयोजना गर्नेछ। ‘किङ फहद स्पोर्ट्स सिटी स्टेडियमले आगामी एसियन कपको उद्घाटन र बहुप्रतीक्षित फाइनल खेलको आयोजना गर्नेछ। आयोजक तथा तीन पटक एसियन च्याम्पियन साउदी अरेबिया सहभागी हुनेछ,’ एएफसीको विज्ञप्तिमा उल्लेख छ।
यो रंगशालाको क्षमता ७० हजारभन्दा बढी दर्शक अट्ने रहेको छ। रियादको सबैभन्दा ठूलो रंगशाला पनि हो यो। यसको छाना परम्परागत बेडुइन आवासबाट प्रेरित भएकाले यसलाई लोकप्रिय रूपमा ‘द टेन्ट’ भनेर चिनिन्छ। एएफसीका अनुसार उक्त रंगशालामा चारवटा समूहचरणका खेल, समान एक राउन्ड अफ १६, क्वार्टरफाइनल तथा अन्तिम फाइनलसमेत सञ्चालन गरिनेछ।
एसियन कपका खेलहरू जेद्दाह र अल खोबर सहरमा पनि खेलाइनेछन्। अप्रिल ११ मा रियादमा हुने एएफसीको अन्तिम ‘ड्र’ पछि खेलतालिका र किकअफ समयहरू सार्वजनिक गरिने भएको छ। सन् २०२२ को विश्वकप आयोजक कतारले दुई वर्षअघि एसियन कप आयोजना गर्दै उपाधि जितेको थियो। सन् २०२३ मा चीनमा हुने तय गरिएको प्रतियोगिता त्यहाँ कोभिडका कारण सारिएको थियो।
प्रकाशित: १९ फाल्गुन २०८२ ०८:१६ मंगलबार





