२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता

फाइल तस्बिर : अर्थमन्त्री रामेश्वर खनाल

बैंक कर्मचारीमाथि निरन्तर आक्रमण बढेपछि सरकारले बैंकरहरूसँग छलफल गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको अग्रसरतामा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका उच्च सरकारी अधिकारीले सोमबार नेपाल बैंकर्स संघको कार्यकारी समितिसँग बैंक कर्मचारीहरूले निर्भयपूर्वक काम गर्ने वातावरण निर्माण गर्ने सम्बन्धमा छलफल गरेका छन्। 

छलफलमा बैंकर्स संघले कर्मचारीमाथि शृंखलाबद्ध आक्रमण भएपछि काम गर्न नसकिएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन माग गरेको जानकारी छलफलमा सहभागी प्रतिनिधिले दिएका छन्। 

बैंकरहरूका अनुसार पछिल्ला केही दिनयता कर्मचारीलाई हतोत्साहित बनाउन धम्की दिने र बैंकका शाखा कार्यालयमै पुगेर चेतावनी दिने जस्ता गतिविधिले कर्मचारीहरू त्रसित बनेका छन्।

छलफलका क्रममा अर्थ र गृह मन्त्रालयका तर्फबाट कर्मचारीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
 साथै, बैंक कर्मचारीलाई धम्की दिने र आक्रमण गर्नेहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता सरकारका तर्फबाट आएको सहभागी बैंकरले जनाएका छन्। 

बैंकका कर्मचारीमाथि आक्रमण गर्ने विभिन्न समूहसँग सुरुमा सरकारका विभिन्न निकायले छलफल गर्ने र त्यसबाट समस्या समाधान नभए पक्राउ गरेर कारबाही गर्नेसम्मको प्रतिबद्धता व्यक्त गरेका थिए। 

पछिल्लो समय दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ का तर्फबाट खुला रूपमै बैंकहरूलाई ‘सबक सिकाउने’ चेतावनी दिइँदै आएको छ। दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौलाको नेतृत्वमा बैंकका शाखामा पुगेर कर्मचारीलाई धम्क्याउने र चेतावनी दिने जस्ता कार्यहरू भइरहेका छन्।

कर्मचारीमाथि दुर्व्यवहार बढेपछि कर्मचारी युनियनले नेपाल बैंकर्स संघ र राष्ट्र बैंकसँग समेत छलफल गर्दै सुरक्षाको प्रत्याभूति नभए बैंकका सबै शाखाको साँचो राष्ट्र बैंक र अर्थ मन्त्रालयमा बुझाउने चेतावनी दिएका छन्।

यसरी संगठित रूपमा आक्रमण बढेपछि अर्थमन्त्री खनालले गृह मन्त्रालयका प्रतिनिधिसमेत राखेर छलफल अघि बढाएका हुन्।

बैंकर्स संघको कार्यकारी समिति, गृह सचिव र अर्थ सचिव समेतको उपस्थितिमा भएको उक्त छलफलमा सरकारी पक्षबाट बैंक र बैंकरमाथि आक्रमण तथा दुर्व्यवहार गर्नेलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रकाशित: २९ पुस २०८२ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App