२० मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

सरकारले पठाएन उखु किसानलाई अनुदानको रकम

फाइल तस्बिर

सरकारले उखु किसानलाई अनुदान बापतको रकम नपठाउँदा एक लाखभन्दा बढी किसान मर्कामा परेका छन् । उखु किसानले अधिकांश चिनी उद्योगलाई बेचेको उखुको मूल्य प्राप्त गरिसकेको तर सरकारले प्रति क्विन्टल ७० रुपैयाँ अनुदानमा दिने भनेको रकम किसानलाई नदिँदा एक लाखभन्दा बढी किसान मर्कामा परेका हुन् ।  

चिनी उद्योगलाई बेच्ने उखुको मूल्य निर्धारण गर्दा सरकारले प्रति क्विन्टल ७० रुपैयाँ किसानको खातामा दिने निर्णय गरेको थियो । उखु किन्ने चिनी उद्योगले पैसा दिएको तर सरकारले नै पैसा दिन आनाकानी गरिरहँदा उखु किसान समस्यामा परेका हुन् ।

किसानसँग वाचा गरेर पनि सरकारले रकम उपलब्ध नगराएको किसानहरू असन्तुष्ट भएको गढीमाई नगरपालिका २ का अगुवा किसान कामेश्वर सहनीको भनाइ छ ।

यसै गरी सर्लाहीको हथियौल २ का सन्तोष सिंहले सरकारले अनुदानबापत पहिलेदेखि नै दिँदै आएको रकम नदिएर किसानलाई धोका दिएको बताउँदै किसानको बिचल्ली बनाएको बताएका छन् । किसानको चाडपर्व मनाउन तथा खेतीपाती गर्न र छोराछोरी पढाउन सहयोग गर्ने रकम सरकारले रोकेर किसानमाथि अन्याय गरेको सिंहको आरोप छ ।

उखु किसानहरू अनुदानको रकम नपाएपछि भदौ २५ गते देखि निर्णायक आन्दोलनको तयारीमा जुटेका छन् । भदौ २५ देखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाएर निर्णायक आन्दोलनको तयारीमा किसानहरू जुटेका छन् ।  

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवका अनुसार देशभर रहेका १३ वटा चिनी उद्योगबाट गत बर्ष दुई लाख १५ क्विन्टल उखु क्रशिंग भएको थियो । उक्त उखुबापत किसानहरूले ७० रुपैयाँका दरले पाउनुपर्ने अनुदानको रकम १ अर्ब ५५ करोड  रुपैयाँ रहेको छ । सरकारले किसानलाई रकम नदिँदा किसानहरू बिचल्लीमा परेको अध्यक्ष यादवको भनाइ छ ।

देशभरिका उखु किसानहरू उक्त रकमको माग गर्दै गत भदौ ७ देखि १४ गते सम्म राजधानीको माइतीघर मण्डलामा धर्ना प्रदर्शन गरेका थिए । उक्त अवधिमा किसानहरूप्रति सत्तापक्षदेखि लिएर प्रतिपक्षसम्मका नेता एवं पूर्व प्रधानमन्त्रीहरू समेत उपस्थित भई एक्यबद्धता जनाउँदै किसानहरूको मागलाई जायज ठहर गरेका थिए ।

कृषि मन्त्री रामनाथ अधिकारीले उखु किसानसँग पटक पटक वार्ता गरेर ३५ रुपैयाँको दरले ७५ करोड रकम निकासा गरेको संघका अध्यक्ष यादवले जानकारी दिए । तर किसानहरू ७० रुपैयाँको अडानमा कायमै रहेको यादवले बताएका छन् ।  

कृषि मन्त्री अधिकारीले किसानहरुसंँग १० दिनभित्र समस्या समाधान गर्न भनेका थिए तर उक्त समयभित्र किसानहरूको माग पूरा गर्ने कुनै पहल नहुँदा सर्लाहीको हरिवनमा भदौ २५ गतेदेखि निर्णायक आन्दोलनको तयारीमा उखु किसानहरू  जुटेको यादवले स्पष्ट पारे।

आउँदो दुई महिना पश्चात् उखु क्रशिंग गर्ने नयाँ सिजन सुरु हुन लाग्दासमेत अहिलेसम्म उखुको मूल्य निर्धारण नहुनु, अनुदानको रकम नपाउनु समस्याबाट ग्रसित किसानहरू अव आरपारको आन्दोलन गरेर अनुदानको रकम लिने चेतावनी दिँदै पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनाउने समेत यादवले जानकारी गराएका छन् ।  

उखुको मूल्य निर्धारण गर्न उद्योगपति, किसान प्रतिनिधि, उद्योग, कृषि, अर्थ र वाणिज्य मन्त्रालयको संयुक्त रोहवरमा चिनीको बजार मूल्य र किसानको उखु उत्पादन लागतको आधारमा मूल्य निर्धारण हुनुपर्ने उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले माग गरेका छन् ।

उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष श्यामबाबु यादवले काठमाडौंको माइतीघर मण्डलामा भएको आन्दोलन सफल हुन नसकेको बताएका छन् । सरकारले कानमा तेल हालेको, उखु किसानको समस्या नबुझेको, वर्षाको कारण आन्दोलनमा बसेका अगुवा किसानहरू बिरामी पर्न थालेको तथा कृषि मन्त्री रामनाथ अधिकारीले १० दिनको समय माग गरेपछि राजधानी केन्द्रित आन्दोलन फिर्ता लिएको महासंघका अध्यक्ष यादवले जानकारी गराएका छन् ।

प्रकाशित: १९ भाद्र २०८२ १८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App