२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ ।  

गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ४३ अर्ब ८६ करोड रुपैयाँले वृद्धि भएको छ । गत आवको चार महिनामा दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भएको थियो ।  

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै १८ प्रतिशत वृद्धि भएको जानकारी दिए । ‘गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयातमा मात्रै नभएर राजस्व संकलनमा समेत वृद्धि भएको छ’, उनले भने ।

कार्यालयका अनुसार गत आवको चार महिनामा कार्यालयले ६६ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो तर चालु आवको चार महिनामा भने ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । वीरगञ्ज नाका हुँदै चार महिनामा ५४ अर्ब १२ करोड रुपैयाँ मूल्य पर्ने पाँच थरीको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यस्तै सोही अवधिमा २५ अर्ब ५२ करोड रुपैयाँको फलाम तथा फलामबाट बनेको सामान आयात भएको छ । १९ अर्ब ५४ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा भित्रिएका छन् ।  

वीरगञ्ज नाका हुँदै चार महिनामा १८ अर्ब ३१ करोड रुपैयाँको भटमासको कच्चा तेल, १६ अर्ब चार करोडको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा तथा १५ अर्ब ४३ करोड रुपैयाँको मलखाद आयात भएको छ ।

 

प्रकाशित: १० मंसिर २०८२ २०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App