१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

विदेशी पर्यटक आगमनमा सुखद् संकेत

जनवरीको आगमनमा नयाँ रेकर्डः पर्यटन बोर्ड

सन् २०२६ को पहिलो महिना (जनवरी) मा नेपाल भित्रिएका विदेशी पाहुनाको आगमन संख्याले पर्यटन क्षेत्रमा आशावादी संकेत देखाएको छ। पर्यटन बोर्डका अनुसार जनवरी महिनाको आगमन (महिनाको आधारमा) अहिलेसम्मकै बढी हो।  

यो जनवरीमा मात्र नेपालमा ९२ हजार ५ सय ७३ जना विदेशी पाहुना हवाई मार्गबाट भित्रिएको पर्यटन बोर्डको भनाई छ। कोरोना भाइरस संक्रमण सुरु हुनुअघिको वर्ष २०१९ को जनवरीमा नेपाल भित्रिएका विदेशी पाहुनाको आकारलाई अहिलेसम्मकै बढी भनेर तुलना गर्ने गरिएको छ।  

२०१९ जनवरीको आगमनको आकारमा तुलना गर्दा यो जनवरीमा झन्डै १४ प्रतिशत आगमन बढेको बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताए। २०१९ को जनवरीमा नेपालमा ८१ हजार २ सय ७३ जना विदेशी पाहुना भित्रिएका थिए।  

उनका अनुसार यो जनवरीमा भित्रिएका पाहुनाको आकार २०२५ को जनवरीको भन्दा १५ प्रतिशतले बढी हो। २०२५ को जनवरीमा नेपालमा ७९ हजार ९ सय ९१ जना विदेशी पाहुना भित्रिएका थिए। ‘सन् २०२६ को पहिलो महिनाको आगमनले विदेशी पाहुना आगमनले सकारात्मक संकेत दिएको छ। कुनै अवाञ्छित गतिविधि नहुने हो भने आगमन बढ्ने देखिन्छ,’ उनले भने, ‘सुरुवाती संकेत राम्रो देखिएको छ।’

उनका अनुसार यो महिनामा भारतीय पाहुनाको आगमनले पनि सकारात्मक संकेत देखाएको छ। सन् २०२५ मा भएको जेनजी आन्दोनलका कारण प्रभावित भएको भारतीय पाहुनाको आगमन पनि बढ्दै जाँदा वर्षको पहिलो महिनाको आगमनले सकारात्मक सुधार देखाएको उनले बताए।

‘नेपालले बढी संख्यामा विदेशी पाहुनाको आगमनमा आशा राख्ने मुलुक नै भारत र चीन हुन। तर, चिनियाँको आगमन उत्साहजनक नभएपनि भारतीयको आकारले भने गति लिएको छ,’ उनले भने।  

बोर्डका अनुसार २०१९ को तुलनामा जनवरीमा भारतीय पाहुनाको आगमनमा झन्डै ५० प्रतिशत नै वृद्धि भएको छ। २०१९ जनवरीमा नेपालमा जम्मा १७ हजार ६ सय ९० जना मात्र भारतीय पाहुना भित्रिएका थिए। त्यो आकार २०२५ मा बढेर २० हजार ४ सय ८५ पुगेको थियो। २०२५ जनवरीको तुलनामा २०२६ जनवरीमा भारतीयको आकार ३० प्रतिशतले बढेर २६ हजार ६ सय २४ जना भित्रिएका छन। ‘जेनजी आन्दोलनको प्रभाव नहुँदो हो त भारतीयको आकारले अझै उचाँइ लिने थियो। तर, अहिलेको आगमन पनि सन्तोषजनक नै हो,’ उनले भने।  

बोर्डका अनुसार नेपालमा जनवरी महिनामा भित्रिने विदेशी पर्यटक भित्रिने मुलुकमध्ये भारत पहिलो नम्बरमा छ। भारतबाट जनवरीमा २६ हजार ६ सय २४ जना पाहुना भित्रिएका छन। जनवरीमा भित्रिएका चिनियाँ आकार पनि अघिल्लो वर्ष (२०२५) को पछिल्ला महिना भन्दा केही बढेको छ। यो जनवरीमा चिनियाँको आगमन संख्या ९ हजार १ सय १ पुगेर दोश्रो नम्बरमा रहेको छ।

तेश्रोमा परेको अमेरिकाबाट ८ हजार ६ सय ४ जना पाहुना नेपाल भित्रिएका छन्। त्यस्तै चौथोमा परेको बंगलादेशी पाहुनाको संख्या ५ हजार ८ सय १४ जना पुगेको छ। पाँचौ नम्बरमा परेको अस्टे«लियाबाट जनवरीमा ४ हजार ९ सय ५७ जना पाहुना भित्रिएका छन।

बोर्डका अनुसार जनवरीमा सार्कका सदस्य मुलुकबाट भित्रिएका पाहुनाको आकार पनि २०२५ को जनवरीको तुलनामा २३ प्रतिशतले वृद्धि भएर ३६ हजार ३ सय ७५ पुगेको छ। त्यस्तै एशियाका अन्य मुलुकको आगमन पनि अघिल्लो वर्षको जनवरीको तुलनामा यो पटक भन्डै १९ प्रतिशतले २४ हजार १ सय ६१ पुगेको छ।

यूरोपियन मुलुक पाहुनाको संख्या भने अघिल्लो वर्षको जनवरीको तुलनामा १० प्रतिशतले बढेर यो जनवरीमा ११ हजार ४ सय १९ पुगेको पनि बोर्डले बताएको छ। अमेरिकी पाहुनाको आगमन संख्यामा भने अघिल्लो जनवरीको तुलनामा ३ प्रतिशतले मात्र बढेर झन्डै १० हजार पुगेको बोर्डको तथ्यांक रहेको छ।  

प्रकाशित: २० माघ २०८२ १७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App