जेन–जी आन्दोलनमा सुदूरपश्चिम प्रदेश सरकारका १० वटा सरकारी कार्यालयमा करिब सवा २० करोड रुपैयाँबराबरको क्षति भएको छ। गत भदौ २३ र २४ गते भएको आन्दोलनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरू र प्रदेश सभा सचिवालयलगायत प्रदेश सरकार मातहतका कार्यालयहरूमा क्षति भएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जगदीश जोशीले आन्दोलनका क्रममा २० करोड २१ लाख ५४ हजार सात सय ६९ रुपैयाँबराबरको क्षति भएको बताए। उनले १० वटा कार्यालयमध्ये चारवटा कार्यालयको मात्रै क्षतिको विवरण संकलन भएको जानकारी दिए। उनका अनुसार अन्य कार्यालयको क्षति विवरण संकलन भइरहेको छ।
आन्दोलनमा क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नौ करोड ७४ लाख ५१ हजार चार सय १२ रुपैयाँ बराबरको क्षति भएकोमा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको एक करोड २५ लाख रुपैयाँबराबरको क्षति भएको छ।
यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तीन करोड ३४ लाख ६९ हजार आठ सय ७६ रुपैयाँ बराबरको क्षति भएकोमा कृषि मन्त्री निवासमा छ करोड ९३ लाख २१ हजार पाँच सय २३ रुपैयाँबराबर क्षति भएको छ।
यस्तै, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश सभा सचिवालय, प्रदेश लोक सेवा आयोग र प्रदेश नीति तथा योजना आयोगमा क्षति भएको हो। यी कार्यालयमा क्षतिको विवरण संकलन कार्य भइरहेको छ। अन्दोलनमा जिन्सी सामान, सवारी साधनलगायत महत्वपूर्ण कागजातमा क्षति पुगेको थियो।
सूचना अधिकारी जोशीका अनुसार चारवटा कार्यालय पूर्ण रूपमै क्षति भएको छ। उनले क्षति भएकै कार्यालयहरूको बाँकी रहेका कोठाहरूबाटै सेवा दिइरहेको बताए। उनले भने, ‘अहिले जेजति बाँकी रहेको छ। त्यसैमा पनि कुनै एक/दुईवटा कोठा बाँकी रहेका छन्। कुनैकुनै जस्तै मुख्यमन्त्री कार्यालयको माथिलो एउटा तला मात्रै बाँकी रह्यो। त्यसैमा पनि अलि–अलि रंगरोगन गरेर काम चलाइराख्या छौँ। दसैँको बिदापछि थप केही गर्ने भन्ने बारेमा निक्र्योल होला ।’
क्षति पुगेका सामग्री नयाँ खरिद प्रक्रियाका लागि अहिले केही पनि कुरा अगाडि नबढेको उनले बताए।
‘तत्काल केही पनि भएको छैन। दसैँ बिदा पर्यो, लगत्तै त्यसमा केही भएन। दसैँ बिदापछि सचिवज्यू बसेर केही सल्लाह गर्नुहोला,’ उनले भने, ‘अहिलेसम्म त तत्काल केही भएको छैन ।’
आन्दोलनका क्रममा प्रदेश सभा भवन र प्रदेश सभा सचिवालयमा समेत क्षति पुगेको थियो। प्रदेश सभा भवनमा क्षति पुग्दा प्रदेश सभा बैठकसमेत बस्न सकेको छैन।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले आन्दोलनमा प्रदेश सभा भवनमा समेत क्षति पुगेकाले अहिलेसम्म बैठक बस्न नसकेको बताए। उनले भवन निर्माणमा अहिले केही पनि टुंगो नलागेको बताए। नयाँ भवन निर्माण गर्ने कि यसैलाई पुन: निर्माण गर्ने भने विषयमा अझै टुंगो नलागेको उनको भनाइ छ।
‘मन्त्रिपरिषद्को बैठक र सचिवस्तरीय बैठकले तत्काल अति आवश्यकका भवन मर्मत गर्न भनेको छ। मुख्यमन्त्रीले निरीक्षण गर्दा पनि पहिला प्रदेश सभा भवन निर्माण गर्नुपर्छ भन्नुभएको छ,’ उनले भने।
उनले तिहारपछि सभामुख र सरकारबिचको समन्वयमा के गर्ने भन्ने विषयमा टुंगो लाग्ने बताए। उनले अहिलेको अवस्थामा केही पनि गर्न नसकिने बताए।
उनले भवन मर्मत गर्दा कम्तीमा पनि ६० लाख जति खर्च लाग्ने अनुमान समेत गरिएको बताए। सचिवालयमा समेत क्षति पुगेकाले आफूहरुले बाँकी रहेका कोठाबाट निरन्तर कामकाज गरिरहेको उनको भनाइ छ।
प्रकाशित: २१ आश्विन २०८२ ०९:३० मंगलबार




