खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत पसलबाट तीन महिनाभित्र एक हजार सात सय १० क्विन्टल खाद्यान्न बिक्री गरेको छ । यो परिमाणको खाद्यान्न भदौ ३० देखि पुस २ गते (बुधबार) सम्ममा बिक्री गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाका अनुसार देशभरका सहुलियत पसलबाट जम्मा ३७ हजार सात सय १० क्विन्टल खाद्यान्न बिक्री वितरण गरेको छ ।
कम्पनीले वार्षिक रूपमा ३६ हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिएको थियो । वार्षिक लक्ष्यभन्दा एक हजार सात सय १० क्विन्टल खाद्यान्न चाडपर्व लक्षित सहुलियत पसलबाटै बिक्री भएको उनले बताए ।
कम्पनीले सहुलियत पसलमार्फत चामल, चिनी, तेल, दाललगायतका गेडागुडी बिक्री वितरण गर्दै आएको थियो । कम्पनीले सहुलियत पसल सञ्चालन अवधिभरमा ३३ हजार नौ सय २६.५२ क्विन्टल चामल, दाल र गेडागुडी बिक्री वितरण गरेको थियो ।
यस्तै कम्पनीले चिनी २४९१.२३ क्विन्टल बिक्री वितरण गरेको थियो भने तेल ६५ हजार तीन सय २९ लिटर बिक्री वितरण गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले तीन महिना (भदौ ३० देखि पुस २ गतेसम्म) मा दुई करोड ७८ लाख ५२ हजार ६ सय २० रुपैयाँ बराबरको खाद्यान्न बिक्री वितरण गरेको थियो । कम्पनीले सहुलियत पसल सञ्चालनमा १८ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ ।
सहुलियत पसल अन्तर्गत झापा, ताप्लेजुङ, मोरङ र भोजपुरबाट एक लाख ९४ हजार रुपैयाँ बराबरको खाद्यान्न बिक्री भएको छ भने संखुवासभा र सोलुखुम्बुबाट ६७ हजार रुपैयाँ बराबरको खाद्यान्न बिक्री वितरण भएको छ ।
यसैगरी खोटाङ, जनकपुर, काठमाडौं र ललितपुरबाट १७ लाख ४७ हजार रुपैयाँ बराबरको खाद्यान्न बिक्री भएकोमा कास्की र तनहुँबाट एक लाख ५३ हजार रुपैयाँ बराबरको र गोरखा र मनाङबाट तीन लाख ५२ हजार ६ सय रुपैयाँ बराबरको खाद्यान्न बिक्री वितरण भएको छ ।
यस्तै जोमसोम, रुपन्देहीबाट २४ हजार रुपैयाँ बराबरको भएकोमा दाङ, बर्दिया र रोल्पाबाट तीन लाख ४७ हजार सात सय रुपैयाँ बराबरको खाद्यान्न बिक्री वितरण भएको छ । रुकुमपूर्व र गुल्मीबाट तीन लाख ६५ हजार पाँच सय रुपैयाँ बराबरको खाद्यान्न बिक्री वितरण गरेको कम्पनीको तथ्यांकमा उल्लेख छ ।
यसैगरी दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला र मुगुबाट २० करोड ९२ लाख ८३ हजार ६ सय ६९ रुपैयाँ बराबरको खाद्यान्न बिक्री वितरण भएकोमा कैलाली, डडेल्धुरा र बाजुराबाट २४ लाख सात हजार दुई सय ५० रुपैयाँ बराबरको खाद्यान्न बिक्री वितरण भएको छ । यसैगरी बझाङबाट तीन लाख ६५ हजार ५०० रुपैयाँ बराबरको खाद्यान्न बिक्री वितरण भएको छ ।
यस्तै दार्चुला, कञ्चनपुर र अछामबाट चार लाख २९ हजार दुई सय ५० रुपैयाँ बराबरको खाद्यान्न बिक्री वितरण भएको कम्पनीले जनाएको छ ।
कम्पनीका बिक्री वितरण विभाग प्रमुख थापाका अनुसार सहुलियत पसल आगामी माघ २ गतेसम्म पूर्ण रूपमा सञ्चालन हुनेछ । बजेटको स्रोत खोजिरहेकाले स्रोत पाएमा माघपछि पनि सहुलियत पसल सञ्चालन गर्ने उनले बताए । वर्षभरि विभिन्न चाडपर्व आइरहने भएकाले सहुलियत पसललाई वर्षभरि नै सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
कम्पनीले अघिल्लो वर्ष ३७ हजार क्विन्टल खाद्यान्न बिक्री वितरण गरेको थियो । सरकारले यस वर्ष देशभर सहुलियत पसल सञ्चालनका लागि दुई करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । देशभर वर्षैभरि सहुलियत (छुट) मूल्यका पसल सञ्चालन गर्ने सरकारको नीति नै रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: ३ पुस २०८२ २१:१६ बिहीबार





