२ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

फ्लोरा एक्स्पो चैत ५ देखि ८ गतेसम्म

२७औँ फ्लोरा एक्स्पो चैत ५ देखि ८ गतेसम्म काठमाडाै‌मा हुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल (फ्यान)ले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएकाे हाे ।

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित भृकुटिमण्डपमा आयोजना हुने एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादन गरेका गुणस्तरीय फूल तथा आलंकारिक बोटबिरुवाको प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

फ्यानका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङले एक्स्पोमा उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ, मौसमी फूल, आलंकारिक बिरुवा, फुल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) विधामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने जानकारी दिए। 

उनका अनुसार मेलामा आलंकारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबिजन, ग्रीनहाउस, कृषि औजार तथा उपकरण, प्याकेजिङ सामग्रीलगायतका ८३ वटा प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन्।

फ्यानका अनुसार हाल देशका ५२ जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय सञ्चालन भइरहेको छ। अघिल्लो आर्थिक वर्षमा २ करोड १३ लाख ६० हजार रुपैयाँको पुष्प तथा पुष्पजन्य वस्तु निर्यात भएको फ्यानले जनाएको छ। 

प्रकाशित: २ चैत्र २०८२ १८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App