३२ असार २०८३ बिहीबार
image/svg+xml
अर्थ

करको दर फेरफेर आरोपमा अर्थमन्त्रीको स्पष्टीकरण : छपाईमा त्रुटि भयो, लुकाएका होइनौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि करका दर फेरफेर गरेको आरोप लागेपछि स्पष्टीकरण दिएका छन्।

बुधबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले केही प्राविधिक त्रुटिहरू देखिएकोले सच्याइएको जिकिर गरेका हुन्।

जेठ १५ गते प्रेषित नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ मा केही त्रुटिहरू देखिएको बताए। सांसदहरूलाई विधेयक दिँदा त्यो एक पाना सच्याइएका त्रुटिहरू समेत दिइदिन अनुरोध गर्दै पठाइएको उनको भनाइ छ।

उनले भने, ‘१५ गते प्रेषित नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नुपर्ने विधेयक २०८३ मा केही त्रुटिहरू देखियो। सांसदज्यूहरूलाई यो दिँदा त्यो एक पाना सच्याइएका त्रुटिहरू समेत दिइदिन हुन अनुरोध गर्दछु भनेर त्यो एक पाना पठाइयो। र मलाई लाग्दछ हजुरहरूको पिजन होलमा यो सँगसँगै १७ गते नै वा १८ गते कहिले यहाँहरूले पाउनुभयो, त्यो एक पाना चाहिँ सच्याइएको पेज जुन यहाँ पनि छ, हामीले लेखेर पठाएका थियौँ। ठ्याक्कै एक पानाको छ। यो कुराहरू पाँचवटा बुँदा जति यसमा सम्मिलित भएर पठाइएको हो।’

उनले अगाडि भने, ‘अब यो आफैँमा अर्थमन्त्रीकै पहलमा, अर्थ मन्त्रालयकै पहलमा हो, कुनै लुकाएर छिपाइएर अरूले पत्ता लगाएको होइन। यी त्रुटि भएछन्, ल यो चाहिँ सांसदज्यूहरूलाई दिइहाल्नुस् है छलफल सुरु हुनुभन्दा अगाडि। हुन त छलफल सुरु भएपछि पनि मैले बोल्न सक्थेँ होला। १८ गते, १९ गते, २० गते जहिले छलफल हुन्थ्यो मैले यो छपाइको क्रममा केही त्रुटिहरू भएछन्, क्याबिनेटमा पेस गरिएको प्रस्तावमा यो छैन, तर छपाइका क्रममा केही त्रुटिहरू भएछन्, माननीय सदस्यज्यूहरूलाई सुसूचित बहसका लागि, तर्कका लागि यो पनि ध्यानमा राखिदिनु हुन भनेर पनि भन्न सकिन्थ्यो।’

विधेयकको अन्तिम निर्णयकर्ता अर्थमन्त्री नै भएको कुरामा कुनै सन्देह नभए पनि राजनीतिक र नीतिगत तहमा सामूहिक छलफल गरेर एउटा सहमति (कन्सेन्सस) को रूपमा बजेट ल्याइने उनले सुनाए।

उनले थपे, ‘अर्को, यसको लगभग धेरै कुराहरू अन्तिम निर्णयकर्ता अर्थमन्त्री नै हो, त्यसमा कुनै सन्देह छैन। तर हामी सामूहिक रूपमा छलफल गरेर राजनीतिक तहमा, नीतिगत तहमा एउटा कन्सेन्ससका रूपमा, यो गोप्य रूपमा अर्थमन्त्रीले मात्रै खुरुखुरु टाइप गर्ने होइन। अघि मैले विन्ती गरिसकेँ, ठुलै समूहले यसमा छलफल गरेर निष्कर्ष निकालेर गर्ने गर्दछ। र यो सबै हुँदाहुँदै पनि यो लेखेको कुरा कुनै पनि बेला संशोधन गर्न सकिने अधिकार दफा १८ ले पनि दिएको छ।’

अर्थमन्त्री वाग्लेका अनुसार वर्षभरि केही भवितव्यहरू आउँदा दर घटाउन, बढाउन वा छुट दिन सक्ने प्रावधान दफा १८ मा रहेको र यो सार्वजनिक वित्तको नियमित अभ्यास छ। उनीमाथि प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको आरोप छ। 

प्रकाशित: २७ जेष्ठ २०८३ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App