२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
अर्थ

फेवा महोत्सवमा तीनलाख पाहुनाको लक्ष्य

आन्तरिक पाहुनाको आगमन बढाउने उद्देश्य सहित आइतबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा फेवा नववर्ष महोत्सव सुरु हुँदैछ। महोत्सवमा करिब तीनलाख पाहुना भित्र्याउने लक्ष्य आयोजकको छ। यो बेला विदेशी पाहुना भित्रिने सिजन चलिरहेको र आन्तरिक पाहुनाको आगमनको पनि सिजन भएकोले महोत्सव अवधिमा लेकसाइडका पर्याप्त पाहुना हुने अपेक्षा आयोजकको रहेको छ।  

आइतबारदेखि सुरु हुने महोत्सव वैशाख १ गतेसम्म चल्नेछ। लेकसाइडको खहरेदेखि सहिदचोकबिचको सडकमा आयोजना हुने महोत्सवमा यो पटक तेश्रो मुलुकका विदेशी सहित भारतीय र स्वदेशी पाहुना पर्याप्त रहेको आयोजक होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

‘तेश्रो मुलुकका विदेशीको आगमन पनि राम्रो रहेको छ। त्यसैमा भारतीय र आन्तरिक पाहुना पनि थपिएपछि लेकसाइडमा पाहुनाको भीड बढेको छ,’ सुवेदीले भने, ‘अपेक्षा गरे भन्दा बढि संख्यामा पाहुना भित्रिएका छन्।’ 

व्यावसायीले महोत्सवको यो अवधिमा कम्तिमा ३ लाख पाहुना भित्रिने अपेक्षा रहेको बताए। ‘अहिलेको भीडभाड देख्दा हाम्रो लक्ष्य पुरा हुने अपेक्षा छ,’ उनले भने।

उनका अनुसार यो बेला लेकसाइडका होटलको अकुपेन्सी करिब ८० प्रतिशत पुगेको छ। ‘तेश्रो मुलुकका पर्यटकको पनि नेपाल आउने सिजन हो। त्यसबाहेक भारतीय पाहुना पनि पर्याप्त संख्यामा भित्रिएका छन्। भारतमा यो बेला गर्मी हुने भएकोले पनि भारतीय पाहुनाको आगमन यो बेला बढि हुने गरेको छ। आन्तरिक पाहुना पनि उत्तिकै आएका छन,’ उनले भने, ‘यो बेला व्यावसाय पूर्ण रुपमा चलायमान बनेको छ।’ व्यावासायीले पोखरामा पाहुना लाई बोलाउँदै केही समय अघि पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक अभियान पनि संचालन गरेका थिए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक मणिराज लामिछानेले नेपाली नयाँवर्षमा पनि अंग्रेजी नयाँवर्षमा जस्तै पर्याप्त पाहुना भित्रिने अपेक्षा रहेको बताए। ‘अंग्रेजी नयाँवर्षमा पोखरामा पाहुना आगमन खचाखच हुन्छ। नेपाली नयाँवर्षमा पनि पाहुनाको आगमन बढाउन महोत्सव सहयोगी बनेको छ,’ उनले भने।

अहिले विद्यालयमा बिदा रहेकोले पनि आन्तरिक पाहुनालाई पोखरा भित्र्याउन सहज भएको उनले बताए। महोत्सवमा हरेक वर्ष केही न केही नयाँ गतिविधि थप गरी यसलाई भव्य बनाउने गरी विगतदेखि नै प्रयास गरिरहेको उनले बताए।  

पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा नै हुन लागेको महोत्सव अवधिमा भित्रिएका पाहुनाका लागि संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन्। महोत्सव अवधिमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता र पर्यटक दौड लगायतका कार्यक्रम गरिनेछ।  

प्रकाशित: २८ चैत्र २०८२ १७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App