२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

नेपालको निर्यात ३ खर्ब १५ अर्ब पुग्दा के-के बिके ?

नेपालको वस्तु निर्यात गत आर्थिक वर्ष २०८२/८३ मा दोहोरो अंकले बढे पनि आयातको तुलनामा भने अपेक्षाकृत कमजोर देखिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले कुल ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ। यो परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८१ प्रतिशतले बढी हो।

सरकारले निर्यात प्रवर्द्धनका लागि नगद अनुदान, सहुलियतपूर्ण कर्जा, औद्योगिक प्रोत्साहन तथा कर छुटलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यद्यपि, निर्यातको संरचनामा सोचेजस्तो विविधीकरण हुन सकेको छैन भने अझै पनि सीमित वस्तु र सीमित बजारमै निर्भर रहनुपर्ने बाध्यता कायम छ।

गत आर्थिक वर्षमा प्रशोधित भटमासको तेल सबैभन्दा ठूलो निर्यातित वस्तु बनेको छ। यसको कुल निर्यात मूल्य १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ, जुन नेपालको कुल निर्यातको करिब ४० प्रतिशत हिस्सा हो।

यसैगरी, १२ अर्ब ६४ करोड ७८ लाख रुपैयाँको अलैंची, १० अर्ब ३८ करोड रुपैयाँको गलैंचा, ८ अर्ब ९४ करोड ३३ लाख रुपैयाँको सनफ्लावर तेल, ७ अर्ब १४ करोड रुपैयाँ बराबरका जुटजन्य सामग्री तथा ६ अर्ब ६६ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ।

विभागको तथ्यांकले नेपालको निर्यात व्यापार केही निश्चित वस्तुमा अत्यधिक केन्द्रित रहेको देखाएको छ। विशेष गरी प्रशोधित भटमासको तेल, सनफ्लावर तेल र पाम तेलजस्ता वस्तु मुख्यतः तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर पुनः निर्यात गरिने प्रकृतिका हुन्।

यस्ता वस्तुले कुल निर्यातको परिमाण बढाए तापनि स्वदेशमा हुने वास्तविक मूल्य अभिवृद्धि भने अपेक्षाकृत निकै कम रहने अर्थविद्हरूको विश्लेषण छ।

यसको विपरीत अलैंची, गलैंचा, जुटजन्य सामग्री, चिया, हस्तकला तथा अन्य कृषिजन्य उत्पादनलाई नेपालको प्रतिस्पर्धात्मक क्षमता भएका मौलिक निर्यात वस्तु मानिन्छ। यस्ता स्वदेशी वस्तुहरूको उत्पादन र निर्यात विस्तार गर्न सके विदेशी मुद्रा आर्जन दिगो रूपमा बढ्नुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत प्रत्यक्ष टेवा पुग्ने विज्ञहरू बताउँछन्।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सूचना अधिकारी कृष्णराज बजगाईंले निर्यात बढाउन उत्पादन, प्रशोधन, बजार र निर्यातलाई एउटै मूल्य शृङ्खलामा जोडेर अघि बढ्नुपर्ने बताए।

उनका अनुसार नेपालमा उच्च प्रतिस्पर्धात्मक लाभ भएका कृषि तथा औद्योगिक उत्पादनहरूको पहिचान गरी लक्षित रूपमा प्रवर्द्धन गर्न सके निर्यात व्यापारमा उल्लेखनीय वृद्धि हासिल गर्न सकिन्छ।

प्रकाशित: ७ श्रावण २०८३ १९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App