सरकारले निजामती कर्मचारीको तलब बढाएको छ। जस अनुसार अब कर्मचारीको न्युनतम ४० हजार र अधिकत तलब १ लाख हुनेछ।
निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्यसचिव हो। अब मुख्यसचविको तलब १ लाख पुग्नेछ। यसैगरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ४० हजार हुनेछ।
आगामि साउन एक गतेदेखि लागु हुने गरी सरकारले तलब बढाएको हो। अहिले बढेको तलबमान अनुसार मुख्यसचिवको तलब ९८ हजार ४ सय २५ हुने छ। यसमा ग्रेड जोड्ने हो भने १ लाख रुपैयाँको हाराहारीमा पुग्ने छ।
यसैगरी कार्यालय सहयोगीको तलब ३८ हजार ४ सय १ हुनेछ। हाल कार्यालय सहयोगीको तलब २७ हजार ६११ र मुख्यसचिवको तलब ७७ हजार २११ रुपैयाँ छ।
यसैगरी अब खरिदारको तलब ४४ हजार ८१० र नायब सुब्बाको तलब ४७ हजार २३ रुपैयाँ हुनेछ। हाल खरिदारको तलब ३२ हजार ९ सय १ र नायब सुब्बाको तलब ३४ हजार ७ सय ३० रुपैयाँ रहेको छ।
यसैगरी अधिकृतको तलब ५७ हजार ८६४ र उपसचिवको तलब ६३ हजार ९ सय ७१ हुनेछ। हाल अधिकृतको तलब ४३ हजार ६८९ र उपसचिवको तलब ४८ हजार ७३७ रहेको छ।
यसैगरी अब सहसचिवको तलब ७३ हजार ७१३ र सचिवको तलब ९२ हजार २१२ हुने छ। हाल सहसचिव ५६ हजार ७८७ तथा सचिवले ७२ हजार ८२ रुपैया बुझने गरेका छन्।
‘पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि १७.३ प्रतिशत भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महशुस गरेको छु,’ आब २०८३-८४ को वजेट भाषणा गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्ले भने, ‘कर्मचारीले हाल प्राप्त गरिरहेको महङ्गी भत्तालाई निरन्तरता दिदैँ सुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु।’
कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ।
यसबाट हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेड सहित न्यूनतम् पारिश्रमिक करिब रू.४० हजार देखि रु. १ लाखमाथि कायम हुनेछ।’
आर्थिक वर्ष २०७९/८० देखि कर्मचारीहरुको तलब बढेको थिएन। त्यतिबेला निजामती कर्मचारी र शिक्षको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको थियो।
हाल कर्मचारीको न्युनतम तलब २७ हजार ६ सय १२ र अधिकतम तलब ७७ हजार २ सय ११ रुपैयाँ छ। अर्थात् कार्यालय सहयोगीको तलब २७ हजार ६ सय १२ र मुख्यसचिवको तलब ७७ हजार २ सय ११ रुपैयाँ छ।
बजेट भाषण अघि सरकारले मुख्यसचिव सुमनराज अर्यालको संयोजकत्वमा गठित कर्मचारीहरुको तलब भत्ता पुनारावोलनक गर्न पुनारावोलकन समिति गठन गरेको थियो।
उक्त समितिले निजामती कर्मचारीहरुको न्युनतम तबल ३५ हजारदेखि अधिकतम तलब १ लाख २१ हजार पुर्याउन सरकारलाई सिफारिश गरेको थियो।
निजामती सेवा ऐन २०४९ को दफा २७ मा नेपाल सरकरका मुख्यसचिवको अध्यक्षतामा निजामती कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नको लागि एक तलब भत्ता पुनरावलोकन समिति गठन गर्ने व्यवस्था गरिएको छ।
प्रकाशित: १५ जेष्ठ २०८३ २०:५६ शुक्रबार





